Worldlink Communications

विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको अन्त्येष्टी

माघ ३, पोखरा

विमान दुर्घटनामा ज्यान गुमाएका पत्रकार त्रिभुवन पौडेलको अन्त्येष्टी गरिएको छ । आज शान्तिघाटमा उहाको हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो । स्वर्गिय पौडेलको पार्थिव शरिरमा उहाँको श्रीमती प्रतिभा अधिकारी पौडेलले दागवत्ती दिनुभएको थियो ।

यहि माघ १ गते आईतबार काठमाडौंबाट पोखरा आएको यती एयरलाईन्सको एटिआर जहाज पोखराको सेती खोंचमा दुर्घटना हुँदा पौडेलसहित ७२ जनाको ज्यान गएको थियो । ज्यान गुमाएका प्रायः सबैको शव फेला परिसकेको छ ।

सोहि दुर्घटनामा ज्यान गुमाउनु भएका पत्रकार पौडेलको शव मंगलबार विहान परिवारले बुझ्नु भएको थियो । शवलाई शुरुमा स्वर्गिय पौडेलको निवास पोखरा–११ फुलबारी लगेर करीब एक घण्टा राखिएको थियो । त्यहाँ आफन्त र छिमेकीले श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । त्यसपछि भने गाडीमा राखेर नेपाल पत्रकार महासंघ गण्डकी र कास्कीको कार्यालय भवन परिसरमा राखिएको थियो । त्यहाँ करीब डेढ घण्टा राखेर श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश र जिल्ला समिति कास्कीको संयुक्त आयोजनामा भएको श्रद्धाञ्जली अर्पण कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अघिकारी, प्रदेशका मन्त्रीहरु हरिबहादुर चुमान, सीताकुमारी सुन्दास, प्रदेश सांसदहरु, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्व अध्यक्ष तथा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्व अध्यक्ष गोविन्द आचार्य, महासंघका महासचिव रोसन पुरी, महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्मा, कास्की अध्यक्ष विमला भण्डारी, प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा जुगल, प्रेस सेन्टरका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी तथा सदस्यहरु, लगायत पत्रकारहरुको बाक्लो सहभागिता रहेको थियो ।

यसैबीच, नेकपा माओवादी केन्द्रले अन्त्येष्टी स्थल शान्तिघाटमा श्रद्धाञ्जली सभा आयोजना गरिएको थियो। नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको आयोजनामा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश ईञ्चार्ज हितराज पाण्डेले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्: