Worldlink Communications

हरिचोक स्थित लान्द्रुक पेट्रोल पम्प एक साता भित्र हटाउन निर्देशन

चैत्र २६ , पोखरा

पोखरा महानगरपालिका वडा नं.१ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ । सो क्रममा वडा नं.१ तर्फ सडकको सेन्टर पोइन्टबाट १२.५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न स्थानीयले गरेको मागको सम्बोधनका लागि स्थलगत अवलोकन गरिएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापा, वडा प्रहरीका कार्यालय बगरका प्रमुख, वडा नं.१ का वडा अध्यक्ष साहारा प्रधान, वडा नं.२ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग लगायत वडाका जनप्रतिनिधि, आयोजनाका प्राविधिकहरू, निर्माण व्यवसायी र स्थानीय अगुवाहरू को उस्थितीमा स्थलगत अनुगमन गरिएको हो ।

नाला सिधा बनाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जमिनमा पर्ने भएकाले सोको व्यवस्थापनका लागि प्रतिष्ठानका अधिकारीहरू सँग पनि पटक पटक उच्चस्तरीय छलफल समेत भएका छन् । उपयुक्त निकास निकाल्ने प्रयत्न भने भइरहेको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो । ‘यसका लागि हामीले उहाँहरूसँग पनि पटक पटक छलफलमा बसेका छौँ, उहाँले भन्नुभयो, यसको उपयुक्त निकास यथाशीघ्र खोजिने छ ।’ हरिचोक जस्तो व्यस्त चोकमा सडक जति फराकिलो बनाउन सकियो त्यो त्यति नै सुरक्षित हुने उहाँले बताउनुभयो । नाला सिधा बनाउनु पर्ने स्थानीयको सरोकार सम्बोधनका लागि नियमानुसार निर्णय लिइने उहाँले बताउनुभयो । करिब ५० मिटर नाला निर्माणमा यो समस्या देखिएको हो ।

हरिचोकको वडा नं.१ तर्फ रहेको लान्दु्रक पेट्रोल पम्प र त्यस क्षेत्रमा रहेका टहराहरू सात दिन भित्र हटाउन कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे निर्देशन दिनुभयो । सडकको राइटअफ वे भित्रका सबै संरचनाहरू तोकिएको समय भित्र हटाउने अन्यथा नियमानुसार कारबाही गरिने उहाँको निर्देशन छ । हरिचोकको सडक छेउमा लान्दु्रक पेट्रोल पम्प वर्षौँदेखि सडकको राइटअफ वे भित्र सञ्चालित छ ।

विस्तारको काम भइरहेको पुष्पलाल मध्य पहाडी लोक मार्गको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय मावि तर्फका टहराहरू समेत यथाशीघ्र हटाउन निर्देशन गरिएको छ । सडकको राइट वे क्लियर नहुँदा सडक निर्माणको कार्य विलम्ब हुने र विभिन्न अवरोधहरू सृजना हुने भएकाले त्यस प्रकार निययविपरितका संरचनाहरू तत्काल हटाउन निर्देशन गरिएको वडा अध्यक्ष साहारा प्रधान र दिवसमान प्रधानाङ्गले बताएका छन् । यस सम्बन्धमा स्थानीयहरूसँग विभिन्न चरणमा छलफल तथा संवादहरू गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्: