अल्फा बोर्डिङ स्कुलका बिधार्थीहरु द्वारा जुनियर रेडक्रसको विभिन्न पदका लागि नमुना निर्वाचन सम्पन्न



जेठ २, पोखरा
पोखरा -१६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलका बिधार्थीहरु द्वारा जुनियर रेडक्रसको विभिन्न पदका लागि नमुना निर्वाचन गरेका कार्यक्रम सम्पन्न गरेका छन्।
जेठ २ गते शुक्रबारका दिन विद्यार्थीहरूलाई निर्वाचनको सम्पूर्ण प्रक्रिया जानकारी गराउने मूलभूत उद्देश्यका साथ विद्यार्थी परिषद एवम् जुनियर रेडक्रस सर्कलका विभिन्न पदका लागि निर्वाचन सम्पन्न भएको हो।
निर्वाचनमा विद्यालयका प्राचार्य सुरेन्द्र मानसिंह भण्डारी प्रमुख आयुक्त, सह प्राचार्य कृष्ण लम्साल निर्वाचन आयुक्त, निराजन थापा निर्वाचन अधिकृत एवम् विजयबाबु अधिकारी मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएको थियो भने विद्यार्थीकै सकृयतामा नमुना सुरक्षाकर्मीको भूमिका निर्वाह गर्नुभएको थियो ।
विद्यालयका शिक्षकहरू सन्दिप वि.क. आनन्द थापा, नविन तिमिल्सिना, भारती गौतम तथा सागर अर्याल निर्वाचनका लागि आवश्यक विभिन्न आन्तरिक तर फरक किसिमको भूमिका निर्वाह गरिराख्नुभएको थियो।
विद्यार्थीहरूलाई मताधिकार, मतदान प्रक्रिया, जनप्रतिनिधि छनोट साथै निर्वाचन प्रणालीको व्यवहारिक ज्ञान दिनका लागि मतपत्र, मतपेटिका, स्वस्तिक चिन्हसहित उक्त नमूना मतदान आयोजना गरिएको विद्यालयका सह प्राचार्य कृष्ण लम्सालले जानकारी दिनुभयो ।
मतदान कार्यक्रमको पृष्ठभूमिमा बोल्दै विद्यालयका प्राचार्य सुरेन्द्र मान सिंह भण्डारीले यस किसिमका कार्यक्रमहरूले विद्यार्थीहरूलाइ व्यवहारिक ज्ञान र सीपको विकास गराउँछ जसले असल नेतृत्व चुन्न सक्छ भन्ने मान्यताका साथ अगाडि बढ्ने वातावरण सिर्जना गर्छ भन्ने विषयमा आफू विश्वस्त रहेको कुरा बताउनुभयो।
विद्यार्थी परिषदका विभिन्न पदका लागि भएको निर्वाचनमा कक्षा १० मा अध्ययनरत छात्र अभिषेक श्रेष्ठ १२७ मतसहित अध्यक्षमा, कक्षा ९ का छात्र सेरन पुन १४५ मत सहित उपाध्यक्ष र कक्षा ८ मा अध्ययनरत छात्रा सेलेस्टी गुरुङ १०७ मत सहित सचिव पदमा निर्वाचित भएका थिए ।
जुनियर रेडक्रस सर्कलका विभिन्न पदका लागि भएको निर्वाचनमा कक्षा १० मा अध्ययनरत विद्यार्थी समर पर्जा १०३ मतसहित अध्यक्ष मा, कक्षा ९ की छात्रा जोए नेफिल गुरुङ १३१ मत सहित उपाध्यक्ष मा, कक्षा ८ की छात्रा प्रकृति अधिकारी १०२ मत सहित सचिव पद मा र कक्षा आठकै छात्र प्रतिक के.सी. १४३ मत सहित कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।
कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरूले मतदाता गरेको निर्वाचनमा जम्मा ९३.७% भोट खसेको थियो भने ८.७ % मत बदर भएको थियो ।


