मेयर इसरत परविनलाई प्रहरीले सात घण्टापछि सुरक्षा दिँदै बाहिर निकाल्यो

जेठ २७, पोखरा
कार्यालयभित्रै थुनिएकी राजविराज नगरपालिकाकी कार्यवाहक मेयर इसरत परविनलाई प्रहरीले सात घण्टापछि सुरक्षा दिँदै बाहिर निकालेको छ।
निलम्बित मेयर भीमराज यादव नेतृत्वका आन्दोलनकारीहरूले नगरपालिकामा प्रशासनिक निर्णयलाई लिएर बढेको राजनीतिक तनावका कारण आईतबारदेखि कार्यालयमा आन्दोलन गरिरहेका छन्। यसैबीच, कार्यवाहक मेयर परविन, आजै पदभार ग्रहण गरेका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोगेन्द्र यादव र केही वडाध्यक्ष लाई आन्दोलनकारीहरूले कार्यालयभित्रै थुनेर राखेका थिए।
प्रहरीले कार्यालय समय सकिएपछि सुरक्षाको व्यवस्था मिलाउँदै साँझ पाँच बजे परविनलाई आफ्नै गाडीमा राखेर सुरक्षित रूपमा निवास पठाएको थियो। नगरपालिकाको बाहिर निलम्बित मेयर यादवका समर्थक र आन्दोलनकारीहरू विहानदेखि विरोध प्रदर्शन गरिरहेका थिए। आईतबार कार्यालयमा तालाबन्दी गरेर सुरु गरिएको रिले अनसन पनि जारी रहेको छ।
यो समस्या प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहको सरुवा र त्यसपछि नियुक्त भएका भोगेन्द्र यादवको पदस्थापनसँग जोडिएको छ। साहले आर्थिक अनुशासनमा कडाइ गर्दै प्रक्रियागत कमजोरी भएका योजनाका फाइलहरू रोक्दै आएका थिए। जसका कारण भुक्तानी प्रक्रिया ढिलाइ भएको थियो। साहकै कारण करिब १० लाख रुपैयाँ राजस्व हिनामिनाको प्रकरण पनि सार्वजनिक भएको थियो।
शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको विषयमा आन्दोलनकारीहरू रुष्ट छन्। उनीहरूले भ्रष्टाचारको ढाकछोप गर्न षडयन्त्रपूर्वक साहको सरुवा गराइएको र यादवलाई जिम्मेवारी दिइएको आरोप लगाएका छन्। कार्यवाहक मेयर परविनले आन्दोलनकारीलाई बेवास्ता गर्दै आउनुभएको बुझिन्छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यादवलाई जिम्मेवारी दिएपछि मंगलबार विहान प्रहरी सहयोगमा आन्दोलन कारीले लगाएको ताला फोडेर कार्यालयमा प्रवेश गर्नुभएपछि यादवलाई पदभार ग्रहण गराइएको थियो।
त्यसको आक्रोशमा आन्दोलनकारीहरूले कार्यालयमा तोडफोड गरेका छन् भने लेखापाल शत्रुघन दाससहित केही कर्मचारीहरूलाई कुटपिट गरेका छन्।
कार्यालयमै थुनिएका राजविराज नगरपालिकाकी कार्यवाहक नगरप्रमुख इसरत परविनसहितका जनप्रतिनिधि सात घण्टापछि बाहिर निस्केका छन्। डिएसपी माधव काफ्लेको कमाण्डमा सुरक्षा घेराबीच प्रहरीको गाडीमा परविनसहितका जनप्रतिनिधिहरु लाइ सुरक्षा घेरामा निकालिएको हो।
