डार्विनमा “नेपाल फेस्टिभल २०२५” सम्पन्न हुँदै — नेपाली संस्कृति र परम्पराको उत्सव

जेठ ३१, अस्ट्रेलिया
डार्विन, जुन १४ नेपाली कला, संस्कृति र परम्पराको झल्को दिने उद्देश्यले डार्विनको वटरफ्रन्टमा आज “नेपाल फेस्टिभल २०२५” आयोजना हुँदैछ।
गैरआवासीय नेपाली संघ (NRNA) नर्दन टेरिटोरी राज्य समन्वय समितिको संयोजनमा, नर्दन टेरिटोरी सरकारको आर्थिक सहयोगमा कार्यक्रम हुदै गरेको हाम्रा अस्ट्रेलिया सम्बाददाता श्रद्धा अधिकारीले जानकारी दिनुभयो।
हाम्रा समदताका अनुसार फेस्टिभल संयोजक भवानी पौडेलले सो कार्यक्रममा नेपाली भाषा, रीतिरिवाज, पहिरन, खानपान, हस्तकला तथा सांगीतिक प्रस्तुति समावेश गरिनेछ। “नेपाल हाउस” नाम दिइएको विशेष प्रदर्शनी केन्द्र फेस्टिभलको मुख्य आकर्षण हुनेछ, जसमा नेपाली मौलिकता झल्काउने सामग्रीहरू राखिनेछन्।
NRNA-NT समन्वयकर्ता सन्जिव ढकालले “नेपाल हाउस” मा नेपालका विभिन्न सांस्कृतिक पक्षहरू उजागर गर्ने प्रयास गरिएको बताउनुभयो।
NRNA अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले भने, “नेपाल फेस्टिभल केवल मनोरञ्जनको कार्यक्रम मात्र नभएर नयाँ पुस्तालाई आफ्ना जरा र संस्कृतिसँग जोड्ने महत्वपूर्ण अवसर हो।”
डार्विन र अष्ट्रेलियाभर नेपाली समुदायको संख्या बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमहरूले समुदायको पहिचान जोगाउन मद्दत पुर्याउने विश्वास गरिएको छ। आयोजकहरूका अनुसार फेस्टिबल मा १० हजारभन्दा बढी दर्शकको सहभागिता हुने अनुमान गरिएको छ।
कार्यक्रम दिउँसो २ बजे सुरु भई राति १० बजे आतिशबाजीका साथ समापन हुनेछ। राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति पनि फेस्टिभलको विशेष हिस्सा हुनेछ।
