अस्पताललाई आत्मनिर्भर बनाउन कार्यक्रम बनाउँदैछौं – मन्त्री पाठक

असार १६, पोखरा
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चिततामा दिगोपना जिल्ला घोषणा गरिएको छ।
आज सोमबार जिल्ला खोप समन्वय समिति कास्कीको आयोजनामा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले उक्त घोषणा गर्नुभएको हो ।
मन्त्री पाठकले नागरिकलाई चेतनाको वृद्धि गराई रोगबाट सुरक्षित राख्न प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो।सर्ने र नसर्ने दुवै रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्धिको यात्रा सहज हुने भन्दै, प्रदेश सरकार मातहतका अस्पतालहरू स्तरोन्नति गर्ने कार्यमा लागेको जानकारी दिनुभयो।
मन्त्री पाठकले अस्पतालहरूको क्षमता वृद्धिसँगै सेवा-सुविधा तथा नागरिक स्वास्थ्य कार्यक्रमहरूलाई अघि बढाइएको उल्लेख गर्नु भयो। स्वास्थ्य जनशक्ति प्रदेशमै उत्पादन गर्न र प्रदेशमा विशिष्टीकृत अस्पताल सञ्चालनको तयारी भइरहेको जानकारी दिनुभयो।प्रदेश लाई आवश्यक मानव स्रोतसहित अन्य सेवाको व्यवस्थित सञ्चालन मा सरकार केन्द्रीत रहेको बताउनुभयो।
जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीमा मानसिक रोगीको समस्या दिनानुदिन बढ्दै गएकोले त्यसका लागि विशेष अस्पताल आवश्यक रहेको बताउनुभयो। स्वास्थ्य र आरोग्यताको क्षेत्रमा कामगर्ने महिला स्वास्थ्य स्वयंसेविका हरूका समस्या सम्बोधन गर्न मन्त्रालयबाट पहलकदमी हुनुपर्ने कुरामा जोड दिनुभयो।
समन्वय प्रमुख लिलाधर पौडेलले शुद्ध सेवा भावबाट उत्प्रेरित स्वयंसेविका, सरकारी संयन्त्र र आम कास्कीबासीको सहयोगबाट पूर्ण खोप सुनिश्चितता सम्भव भएको भन्दै आरोग्य र स्वस्थ कास्की बासी निर्माणको आधार तयार हुँदै गएको बताउनुभयो।
कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बराल, महिला स्वास्थ्य स्वयंसेविका सञ्जाल कास्कीकी अध्यक्ष भीमा पौडेल, प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका महानिर्देशक खिमबहादुर खड्का, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सहसचिव एकराज सापकोटा, नेकपा (एमाले) कास्कीका उपसचिव सन्तु सुवेदी, नेपाली कांग्रेस कास्कीका सहसचिव नवीन सिग्देल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा ६० वर्ष उमेर पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविका हरूलाई सम्मानसहित विदाइ गरिएको थियो।कार्यक्रम जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो।कार्यक्रममा स्वागत जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो भने सञ्चालन प्रादेशिक जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले गर्नुभएको थियो।