सराङकोटस्थित सराङकोट धाममा श्रावण महिना विशेष कार्यक्रम हुने

असार ३२,पोखरा
सराङकोट धार्मिक एवं पर्यटन क्षेत्र विकास समितिको आयोजनामा पोखरा महानगरपालिका वडा नं.१८ सराङकोटस्थित सराङकोट धाममा श्रावण महिना विशेष कार्यक्रम हुने भएको छ ।
आशुतोष भगवान सदाशिवको अत्यन्त प्रिय महिना श्रावण भएकाले श्रावण महिनामा परेको चार वटै सोमबार विशेष कार्यक्रम गरिने धामका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिनुभयो ।
श्रावणको ५, १२, १९ र २६ गते सोमबार परेको छ । प्रत्येक सोमबार शिवपुजन, रुद्राभिषेक, भजन कीर्तन, महाआरतीसहित विभिन्न कार्यक्रम हुनेछ । साथै पञ्चमुखी गणेश, कैलाशेश्वर महादेव, भूमिकालिका र भैरवको दर्शनसमेत हुने अध्यक्ष जिसी ले जानकारी दिनुभयो।सराङकोट धाममा हुने महाआरतीमा सहभागी हुने भक्तजनलाई सराङकोट केबलकारले विशेष सहुलियत दिने घोषणा गरेको छ ।
केवलकारका महाप्रवन्धक दिनेश पौडेलका अनुसार श्रावण महिना को प्रत्येक सोमबार दिउँसो ४ बजेपछि केबलकारमा यात्रा गर्ने भक्तजनलाई प्रतिव्यक्ति दुई सय ५० रुपैयाँ मात्र शुल्क लिइनेछ । उक्त शुल्कमा आउजाउ नै गर्न पाइने ले बताउनुभयो। पौडेलका अनुसार श्रावण महिनाभर केबलकारमा यात्रा गर्नेलाई विशेष छुट प्रदान गरिने भएको छ ।
२०६२ सालदेखि निर्माण शुरू भएको धाम गत वर्ष राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेसँगै सञ्चालनमा आएको थियो । धाममा करिब ३५ करोडको लागतमा कैलाशेश्वर महादेवको मन्दिर,पञ्चमुखी गणेशको मूर्ति, १०८ गौमुखी धारा, शिवलिंगलगायतका संरचना निर्माण भएका छन् । धाम सञ्चालनमा आएसँगै पर्यटकको घुइँचो लाग्ने गरेको छ ।
स्मरणीय कुरा त के छ भने हवंशीय इतिहास समेत बोकेको सराङकोट सूर्योदय, सूर्यास्त, विभिन्न हिमाल र पोखरा भ्यालीको मनोरम दृश्यावलोकनका लागि अन्तर्राष्ट्रिय रुपमै परिचित छ ।