Worldlink Communications

अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साउन २, पोखरा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को तेस्रो चौमासिक अवधिमा सम्पन्न योजना, सेवा प्रवाह र विकासको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा पालिकावासीले विकास निर्माण र विविध विषयमा खुलेर गुनासो र सुझाव राख्नुभएको थियो भने पालिकाले सुनुवाइमा उठेका विषयहरुको बारेमा कही काम सुरु भइसकेको त कतै सुरु हुने तयारीमा रहेको भन्दै बाँकी आएका जनगुनासो लाई भावी नीति निर्माणको आधार बनाइने प्रस्ट पारेको छ।

विभिन्न वडाबाट आएका स्थानीयले सिमेन्ट थन्किएको, चिकित्सक को अभाव, बजेटको सहि उपयोग, पूर्वाधार निर्माण, लक्षित वर्गका योजना, सार्वजनिक जग्गाको सहि उपयोग नभएको, पारदर्शिता र मापदण्डको कमीजस्ता गुनासोहरू राख्नुभएको थियो। कार्यक्रममा उठेका सबै गुनासोलाई पालिकाले गम्भीरतासाथ लिएको र समाधान तर्फ अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले स्रोत र कानुनी सीमा भित्र रहेर काम भइरहेको बताउनुभयो। भवन निर्माणका लागि चाँडै शिलान्यास गरिने, साना व्यवसाय प्रवद्र्धनमा सुरक्षित आप्रवासन  कार्यक्रमबाट रोजगारी र सामाजिक सुरक्षामा सहयोग भईरहेको जानकारी दिनुभयो। उहाले सामुदायिक विद्यालय सुधारमा पालिका को सक्रियता बढिरहेको समेत बताउनुभयो ।

उपाध्यक्ष चन्द्रकला अधिकारीले महिला, बालबालिका, जेष्ठ नागरिक र गरिब वर्गका लागि नयाँ योजना ल्याइने बताइन्। उनले नागरिक गुनासो सुन्ने मात्र नभई गुनासाहरुको व्यवहारिक समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले ‘कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार अन्नपूर्ण समृद्धिको आधार’ भन्ने नारासहितको तेस्रो चौमासिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रतिवेदनमा ११ वटै वडाका कामहरू प्रस्तुत गरिएको थियो । जसअनुसार पालिकाले आ.व २०८१/८२ मा १ करोड ८८ लाख ७ सय ८५ रुपैयाँ राजश्व संकलन गरेको जानकारी दिनुभयो । सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा र प्राविधिक शाखाबाट आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय कामहरू सम्पन्न भएका छन्। वृद्ध नागरिकदेखि दलित बालबालिकासम्मका लागि सामाजिक सुरक्षाको व्यवस्था गरिँदा, प्राविधिक योजनामार्फत आधारभूत पूर्वाधार विकासमा पनि जोड दिइएको बताउनुभयो।

प्राविधिक शाखाको तर्फबाट २०८१/८२ मा ८ वटा योजना टेन्डर भएकोमा ७ वटा योजना सम्पन्न भएका छन् भने एउटा योजनाको म्याद थप भएको छ । यस्तै कृषि र स्वास्थ्य क्षेत्रमा चुनौतीका विच पनि महत्त्वपूर्ण उपलब्धि हासिल गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

स्थानीय डण्डपानी भण्डारीले वडा कार्यालय अगाडी लामो समय देखि थन्किएका सिमेन्टका बोराहरूको विषय उठाउँदै विकास योजनामा ढिलासुस्ती र जनप्रतिनिधिको उपस्थिति अभावप्रति असन्तुष्टि व्यक्त गरे। मुना भण्डारीले सार्वजनिक जग्गाको सदुपयोग नभएकोमा चिन्ता व्यक्त गर्दै स्थानीय सरकारले स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीयहरु मनहरी भण्डारी, जोमाया देवकोटा, ऋषिराम भण्डारी लगायतले गुनासा तथा सुझावहरु राख्नुभएको थियो।

माछापुच्छ्रे माविका व्यवस्थापन समितिका अध्यक्ष मनपति भण्डारी ले सामुदायिक विद्यालय सुधारमा पालिका, शिक्षक, अभिभावक र समुदायको भूमिकाको महत्त्वबारे धारणा राख्नुभएको थियो।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पत्रकार सागर ढकालले प्रस्तुत गरेको सेवाग्राही सन्तुष्टि सर्वेक्षणमा पालिकाको सेवा प्रवाहप्रति स्थानीय सामान्यतः सन्तुष्ट देखिएका छन्। उनले अधिकांश सेवाग्राहीले कर्मचारीको व्यवहार सकारात्मक भएको बताएपनि केही सेवामा थप सुधार आवश्यक रहेको बताउनुभएको थियो।

कार्यक्रममा टिपोटकर्ता श्रीभद्र पौडेलले सार्वजनिक सुनुवाइले सुशासन र पारदर्शिता प्रवद्र्धनमा सहयोग पु-याउने धारणा राख्दै जनप्रतिनिधिले जनभावनाअनुसार जिम्मेवार ढंगले काम गर्नुपर्ने बताउनुभयो।

स्थानीय हरु सगको प्रत्यक्ष उपस्थितिमा संवाद, सुझाव तथा प्रश्नहरू लाई प्राथमिकतामा राख्दै बुधबार सम्पन्न सार्वजनिक सुनुवाइमा कार्यक्रम मा अन्नपूर्ण गाउँपालिका–२ नं. वडा अध्यक्ष पिताम्बर भण्डारीले स्वागत र पत्रकार इन्द्रप्रसाद पौडेलले कार्यक्रम को सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्: