साउन ३१ गते बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुदै

साउन २३, पोखरा
श्रीकृष्ण जन्माष्टमी साउन ३१ गतेका दिन पोखराको बाटुलेचौरमा राष्ट्रिय कृष्ण भजन प्रतियोगिता हुने भएको छ ।
शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरले श्रीकृष्ण जन्माष्टमीको दिन यहि साउन ३१ ग्ते शनिबार राष्ट्रिय कृष्ण भजन प्रतियोगिताको २६ औं श्रृङ्खला आयोजना गर्ने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
पोखरा-१६ बाटुलेचौर ऐतिहासिक मैदानमा हुने प्रतियोगिताका लागि साउन २७ गते अपराह्न ५ बजेसम्म भजन समूहको नाम दर्ता गराउन समय रहेको र भजन समुह दर्ता गर्नको लागि ३ हजार शुल्क लाग्ने प्रतिष्ठानको अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले जानकारी दिनु भयो।
‘कला सहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य’ भन्ने नाराका साथ २०४५ सालमा जन कवि केशरी धर्मराज थापाको अध्यक्षतामा स्थापना भएको यस प्रतिष्ठानले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ । यस वर्षपनि प्रतियोगितालाई निरन्तरता दिइएको अध्यक्ष गौतमले जानकारी दिनुभयो ।
प्रतियोगितामा यसअघि कृष्ण भजन मात्रै गाउन दिइदै आएको थियो भने यस वर्ष भने कृष्ण भजनसँगै महाभारतको कथा वस्तुलाइ जोडेर भजन गाउन पाईने बनाइएको उनले बताउनुभयो।
प्रतिष्राठानले भजन प्रतियोगिताबाहेक अन्य साहित्य गोष्ठी, कार्यशाला र सेमिनारहरु पनि आयोजना गर्दै आइरहेको सचिव रामप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार‘प्रतिष्ठानले साहित्यिक धरोहर एवम् राष्ट्रिय व्यक्तिहरुको जीवन वृत्तान्त ‘समकालिन स्रष्टा र सिर्जना’ विशेष परिचर्चा कार्यक्रम गर्दै आइरहेको जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाइ १ लाख, द्वितीय हुनेले ७५ हजार र तृतीय हुने समुहले ५० हजार पुरस्कार राखिएको जानकारी दिँदै सान्त्वना हुने समुहले २५ हजार र प्रत्येक सहभागी समुहले ५/५ हजारका दरले प्रोत्साहन पुरस्कार प्राप्त गर्ने प्रचार प्रसार उप समितिका संयोजक संजय थापाले जानकारी दिनुभयो ।
शुक्ला साहित्य प्रतिष्ठानले प्रतियोगिता आयोजनाका लागि १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।प्रतिष्ठानले स्थापना कालदेखि नै द्विवार्षिक रुपमा राष्ट्रिय पुरस्कारसँगै साहित्यका विविध विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरुको पहिचान गरी, बाल साहित्य पुरस्कार, मदन चन्दा स्मृति पुरस्कार र लोक कवि चेतबहादुर स्मृति पुरस्कारसहित ४ वटा पुरस्कार प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानले साहित्य विकासमा पुस्ता हस्तान्तरणलाई ध्यानमा राखेर कविता, निबन्ध, लोककथा आदि साहित्यका विधाहरुमा सिर्जन शील प्रतियोगिताहरु राख्दै नवोदित प्रतिभाहरुको खोज्ने र साहित्य मा अभिरुची जगाउने कार्य गर्नुका साथै नेपाली भाषा साहित्यको संरक्षण एवम् संवर्धन विषयमा महत्त्वपूर्ण कोशेढुंगाको रुपमा कार्यक्रम गर्दै आएको छ।