Worldlink Communications

शुक्ला साहित्य प्रतिष्ठानको २६औ भजन प्रतियोगितामा प्रथम बडरबोट आमा समुह

साउन ३१, पोखरा

शुक्ला साहित्य प्रतिष्ठानको २६औ राष्ट्रिय कृष्ण भजन प्रतियोगिता मा बडरबोट आमा समूहले प्रथम पुरस्कार जितेको छ।

प्रतियोगितामा प्रथम पुरस्कार बडरबोट आमा भजन समुहले १ लाख, द्वितीय पुरस्कार महेश्वर भजन समुहले ७५ हजार, तृतीय पुरस्कार मातृकेश्वर भजन समूहले ५० हजार पाएको छ भने सान्त्वना पुरस्कार भद्रकालि भजन समूह र धर्मस्थली भजन समूहले पाएको छ । सहभागी १६ भजन समुहले ५/५ हजार प्रोत्साहन पुरस्कार प्राप्त गर्नुभएको निर्णायक मण्डलका जिबन दाहालले नतिजा बाचन गर्नुभएको थियो भने राज अधिकारी ले प्रतियोगिता भाग लिएका टिमहरूको  बारेमा चर्चापरिचर्चा गर्नु भएको थियो।

शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरको आयोजनामा श्रीकृष्ण जन्माष्टमीको अवसरमा आज राष्ट्रिय श्रीकृष्ण भजन प्रतियोगिताको २६ औं प्रतियोगिताको गण्डकी प्रदेश, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्नुभएको थियो।पोखरा–१६ बाटुलेचौर ऐतिहासिक मैदानमा भइरहेको राष्ट्रिय भजन प्रतियोगितामा १६ टिमले प्रतिष्पर्धा गरेका थिए।

भजन प्रतियोगितामा महेश्वर खनाल भजन समुह तनहुँ, भद्रकाली खैंजडी भजन समुह धादिङ, हरिहर भजन कीर्तन समुह स्याङ्जा सहित कास्कीका बडरबोट आमा समूह लगायत विभिन्न भजन टोली र विद्यालयको भजन समुहमा प्रतियोगितामा भाग लिएका थिए। यसअघि कृष्ण भजन मात्रै गाउन दिइदै आएको भएपनि यस वर्ष भने कृष्ण भजनसँगै महाभारतलाई पनि कथा वस्तु बनाएर भजन गाउन दिईएको थियो ।

प्रतियोगितामा दर्शक सहभागीता बेलुका नतिजा प्रकाशित गर्ने समय सम्म पनि बाक्लो थियो। प्रतियोगिता स्थललाई रंगीचंगी बनाएर दुलहीझैं सिंगारिएको थियो भने बाटुलेचौर क्षेत्रका आमा समुह, टोल विकास संस्था र विभिन्न जातिय तथा धार्मिक संस्था आ आफ्नो पहिचान झल्कने पोसाक लगाएर  भजनमा  सहभागि भएका थिए।

कार्यक्रमको उद्घाटन गर्दै सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले श्रीकृष्ण भजन प्रतियोगिताले सामाजिक सद्भाव कायम राख्दै कला, साहित्य र संस्कृतिमा टेवा पु-याउने बताउनुभएको थियो। उहाले प्रतियोगिताका लागि सामाजिक विकास मन्त्रालयले सहयोग गर्ने पनि प्रतिबद्दता ब्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै शुक्ला साहित्य प्रतिष्ठान पोखरा–१६ बाटुलेचौरकी अध्यक्ष दुर्गादेवी बस्नेत गौतमले आफ्नो संस्थाले संस्कृति, कला र साहित्यमा योगदान दिएको  बताउदै आगामी दिनमा पनि यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिने  बताउनुभयो ।

संस्थाका मानार्थ सदस्य रामबहादुर बानियाले संस्थाले शुरुवाती कालदेखि नै साहित्य र संस्कृतिको क्षेत्रमा संस्थाले अतुलनीय योगदान दिदै आएको उल्लेख गरे ।उद्घाटन कार्यक्रममा संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्ति र संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

‘कला सहित्य र संस्कृतिको जगेर्ना हाम्रो गन्तव्य’ भन्ने नाराका साथ २०४५ सालमा जन कवि केशरी धर्मराज थापाको अध्यक्षतामा स्थापना भएको यस प्रतिष्ठानले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन कृष्ण भजन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्: