कालिका मा वि आँपुभन्ज्याङको अध्यक्षमा मोहन थापा

भदौ १८, पोखरा
पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा मोहनबहादुर थापा सर्वसम्मत चयन भएको छ ।
निवर्तमान विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गङ्गाबहादुर पुनको अध्यक्षता, शिक्षा महाशाखाका शाखा अधिकृत रामप्रसाद तिवारीको प्रमुख आतिथ्य र वडा सदस्य दुर्गादेवी केसी थापाको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेला र वडा शिक्षा समितिबाट मनोनित भई आएका सदस्यहरूको बुधवार सम्पन्न बैठकबाट थापा सर्वसम्मत चयन अध्यक्ष हुनुभएको हो।
समितिका सदस्यहरूमा खिमबहादुर खत्री, कृष्णकुमार श्रेष्ठ, ज्योति गुरुङ, अस्मिता नेपाली र सीता विक रहनु भएको छ । सोही बैठकबाट पोखरा महानगरपालिका, शिक्षा नियमावलीको नियम २९ (ङ) बमोजिम स्थानीय बुद्धिजीवी, चन्दादातामध्येबाट लोकनाथ पौडेललाई सदस्यका रूपमा मनोनयन गरिएको छ भने समितिको सदस्य सचिवमा प्रधानाध्यापक रुपिन्द्र प्रभावी जोशी र शिक्षक प्रतिनिधिमा मानकाजी वि क चयन हुनुभएको छ ।
अध्यक्ष चयन भएपछि थापाले विद्यालयमा भएका समस्याको समाधान गरी विद्यालयको चौतर्फी उन्नतिका लागि आफू लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। विद्यालय सबैको साझा सम्पत्ति भएको भन्दै उनले विद्यालयले विद्यार्थी खोज्दै जानुपर्ने अवस्थाबाट विद्यार्थीले विद्यालय खोज्दै आउने अवस्थामा पु-याउने कार्ययोजना आफूसँग रहेको बताउनुभएको थियो।