पोखरा महानगरपालिका वडा नम्बर ८ ले जेष्ठ नागरिकहरूलाई सम्मान गर्यो

असार २३, पोखरा
पोखरा महानगरपालिका वडा न.८ सिमलचौरले ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिक हरूलाई सम्मान गरेको छ।
करिब ७० जना भन्दा बढी आफ्नो वडामा बसोबास गर्दै आउनु भएका जेष्ठ नागरिकहरूलाई पोखरा महानगरपालिका वडा न. ८ का जनप्रतिनिधिहरु ले दोसल्ला न्यानो कपडा र प्रमाणपत्र सहित खाने कुराहरु दिएर सम्मान गरेको छ।
कार्यक्रमको अध्यक्षता गरिरहनुभएका वडा न. ८ का वडाध्यक्ष रुद्रनाथ बरालले यो सम्मान भनेको आदरणीय बुवाआमा हरूलाई हार्दिकतापूर्ण तरिकाले गरिएको सम्मान हो, माया हो यसलाई सानो ठान्नु हुने छैन हामीले तपाईहरुका लागि अझै धेरै गर्न बाँकी छ। भन्दै आगामी दिनमा पनि हजुरहरूको दैनिकी राम्रो बनाउनको लागि वडाले सबै किसिमका पहल कदमीहरु सञ्चालन गर्न कुनै कसर बाँकी राख्ने छैन भन्नुभयो। जेष्ठ नागरिकहरूको सम्मान गर्न पाउँदा आफू पनि सम्मानित भएको महसुस गरेको छु भन्दै आफू खुसीले भाव विहोर भएको बताउनुभएको थियो।
कार्यक्रममा उपस्थित बुबाआमाहरूलाई न्यानो अँगालो मार्दै खादा र सल ओडाएर प्रमाणपत्र वितरण गर्दै गर्दा वडाध्यक्ष रुद्रनाथ बरालले जेष्ठ नागरिकप्रति देखाएको अपनत्वले धेरै बुवाआमाहरुले हाम्रो मन खुसीले गदगद भइरहेको बताउनुभएको थियो। एकजना जेष्ठ नागरिकले आफू सम्मानित भइसकेपछि हाम्रो वडाध्यक्ष बाबु भनेको सबैले मन पराइएका वडाध्यक्ष हुनुहुन्छ भन्नुभएको थियो।
सम्मान हुनेहरूमा ८० वर्षभन्दा माथि ९८ वर्ष सम्मका करिब ७० जना जेष्ठ नागरिकहरूको उपस्थितिमा भएको सो सम्मान कार्यक्रम लाई जनप्रतिनिधि गोपी बरालले चिजबीजहरु भन्दा पनि वार्डले हजुरहरूलाई गरेको सम्मान नै ठूलो विषय भएको बुवाआमाहरुले बुझ्दिनुहुनेछ भन्ने अनुरोध गर्नुभएको थियो।
जेष्ठ नागरिक मञ्चका अध्यक्ष शिव प्रसाद चालिसेले जेष्ठ नागरिक हरूको पक्षमा वडाध्यक्षले धेरै राम्रा कामहरू गर्दै आउनुभएको भएपनि धेरै विषयमा जेष्ठ नागरिकहरूलाई सहयोग गर्नुहुनेछ भन्ने अनुरोधका साथ विश्वास व्यक्त गर्नुभएको थियो।
वडाध्यक्ष रुद्रनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रमलाई भव्य र सभ्य रूपले वडाका प्रशासकीय अधिकृत झङ्कनाथ पौडेलले सञ्चालन गर्नुभएको थियो।