Worldlink Communications

नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध, काम निरन्तर गर्न पाए भोलि दिउँसो मात्र खुल्ने

असोज ८, नारायणगढ

नारायणगढ मुग्लिङ सडक खण्डको इच्छाकामना गाउँपालिकाको तुइन खोला नजिक खसेको पहिरोका कारण फेरि पनि नारायणगढ–मुग्लिन सडक बन्द भएको छ ।

केही दिन अघिदेखि बन्द रहेको यो सडक खण्ड फेरि पनि हिजो दिउँसोबाट खसेको पहिरोको कारण सडक बन्द भएको छ। पहिरो हटाउने कार्य बिहानैदेखि सुरु भए पनि सडक तत्काल खोल्न सक्ने सम्भावना नभएको डिभिजन सडक कार्यालय भरतपुर का सूचना अधिकारी कृष्ण आचार्यले बताउनुभयो।

डिभिजन सडक कार्यालय, भरतपुरका सूचना अधिकारी इन्जिनियर आचार्यका अनुसार करिब १२ देखि १४ हजार घनमिटर ढुङ्गामाटो सडकमा थुप्रिएकाले सफा गर्न समय लाग्ने जानकारी दिनुभयो ।

ठुलो पहिरो खस्ने जोखिम तत्कालको लागि टहरेको भएपनि सासाना ढुङ्गा निरन्तर झरिरहेको हुनाले पहिरो पन्छाउने काम चुनौतीपूर्ण बनेको बताउनुभयो ।

पहिरो फाल्ने काम निरन्तर गर्न सकियो भने भोलि दिउँसोसम्म बाटो सञ्चालनमा ल्याउन सकिने बताउँदै यात्रु र चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको पनि जानकारी दिनुभयो। ।

मुग्लिन बजारबाट करिब दुई किलोमिटर दूरीमा पर्ने सो स्थानमा हिजो बेलुका थप पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो ।अधिकारीहरूले यस अवस्थामा यात्रु तथा स्थानीयलाई धैर्य राख्न र सुरक्षाप्रति सतर्क रहन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्: