Top Header Ad 1

एउटा बाबुको देश, संघर्ष र एक्लोपनको कथा-“खाली हुँदै गएको आँगन”

एउटा बाबुको देश, संघर्ष र एक्लोपनको कथा-“खाली हुँदै गएको आँगन”

परिबर्तन न्युज
२ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
२ जेष्ठ २०८३

जेठ २, पोखरा

रात निकै ढलिसकेको थियो, पोखराको आकाशमा हल्का वर्षा झरिरहेको थियो। घरको छतमा पानीका थोपा बजिरहेका थिए- टिप… टिप… टिप…। करिब ५१ वर्षका प्रकाश अधिकारी झ्यालछेउको कुर्सीमा चुपचाप बसिरहेका थिए। अगाडि टेबलमा औषधि, चस्मा, आधा पढिएको पुस्तक र मोबाइल थियो।

Advertisement:Ad
Advertisement:Ad

मोबाइलले अस्ट्रेलियाको समय देखाइरहेको थियो। उनी धेरै बेरदेखि मोबाइल हेरिरहेका थिए। सायद छोरा अनलाइन आउला भनेर होला।सायद छोरीले “बाबा सुत्नुभएन ?” भनेर लेख्लिन् भनेर। तर त्यो रात मोबाइल पनि मौन थियो।

भित्र कोठामा उनकी श्रीमती हरिमाया अधिकारी भोलि विद्यार्थीलाई कुन शिक्षण कसरी गर्ने भन्दै तयारी गर्दै थिइन्। उनी पनि उमेरसँगै थाक्न थालेकी थिइन्। तर जीवनले उनलाई आराम गर्ने छुट दिएको थिएन। प्रकाश अधिकारीले बिस्तारै लामो सास फेरे।

“घर त ठूलो बनाइयो… तर आवाजहरू साना र हराउँदै गए…” उनले आफैँसँग भने। बुवाको इमान, नवलपरासीको त्यो पुरानो गाउँ अझै पनि प्रकाशको मनभित्र खेत रोप्नको लागि तयार पारिएको माटोको गन्ध, धान रोप्न तयार पारिएको खेत, कान्ला खन्ने बारी अनि रातो गाजले र भुन्टे नाम गरेका हलगोरु जोतेको अनि खाजा खाँदै गोरुलाई पनि खाजा खुवाएको सम्झँदै भक्कानिए ।

अनि बिहान सबेरै खेत जाँदा बुवाको आवाज- “छिटो गर प्रकाश, घाम चर्किन्छ।” प्रकाशका बुवा रामचन्द्र शर्मा अधिकारी सिंगो देश र गाउँमा राजनीतिक मान्छे भनेर चिनिन्थे। तर उनी कहिल्यै कुर्सीको राजनीति गर्दैनथे। उनी भन्थे-“राजनीति भनेको जनताको सेवा हो, जागिर होइन।” त्यही भएर सायद उनले जीवनभर कुनै पद मागेनन्। कुनै सुविधा खोजेनन्। कहिलेकाहीँ गाउँका मानिसहरू नै अचम्म मान्थे। “यति वर्ष राजनीति गरेर पनि केही कमाउनुभएन ?” रामचन्द्र शर्मा अधिकारी मुस्कुराउँथे। “इमान बेचेर कमाएको पदभन्दा खाली हात मर्नु बेस।” ८२ वर्षको उमेर पुग्दा पनि उनको त्यो स्वाभिमान मरेको थिएन।

प्रकाशकी ७५ वर्षीया आमा-जीवनभर गृहिणी मात्रै भइन्। उनी कहिल्यै भाषणमा देखिइनन्। कहिल्यै अगाडि बसिनन्। तर रामचन्द्रको संघर्षको आधा हिस्सा उनकै काँधमा थियो। आमालाई सुगर, प्रेसर, दम, बाथले घुँडा दुख्थ्यो। तर अझै पनि बुवालाई खाना पकाएर खान खुवाउन लागेको दृश्य देख्दा प्रकाश भक्कानिन्थे। किनकि उनले आफ्नै भविष्य देख्थे।

देश बदल्ने सपनाको विषयमा प्रकाश सानैदेखि अलि फरक थिए। उनी प्रश्न गर्थे। अन्याय देख्दा चुप बस्न सक्दैनथे। बुवाले कम्युनिस्ट पार्टीको संस्थापक नै भएर राजनीति गरे। छोराले अझ ठूलो परिवर्तन खोज्यो। त्यतिबेला देश क्रान्तिको आन्दोलनमा थियो। क्रान्तिका कुरा हुन्थे। क्रान्तिमा समानताको सपना बेचिन्थ्यो। प्रकाशलाई लाग्थ्यो-“यो देश साँच्चै बदल्नुपर्छ।” त्यसपछि उनी माओवादी राजनीतिमा लागे। त्यो समय सजिलो थिएन। राति कहिले सेना आउँथ्यो। कहिले प्रहरी। “प्रकाश कहाँ छ ?” घरमा साना छोराछोरी डरले आमासँग टाँसिन्थे। हरिमाया पनि साहसिक थिइन्। आफ्ना छोराछोरी छातीमा टाँस्दै भन्थिन्, “नडराऊ, बाबा आउनुहुन्छ।” प्रकाशलाई कहिले चौकी लगिन्थ्यो। कहिले आर्मी क्याम्पमा लगिन्थ्यो। धेरै सजाय, पीडा र सोधपुछ हुन्थ्यो। कहिले रातभर राखिन्थ्यो। त कहिले १५/२० दिन राखिन्थ्यो। तर उनी बाँचे। कहिलेकाहीँ उनलाई लाग्थ्यो- “सायद म देश बदल्न होइन, आफ्नै परिवारलाई पीडा दिन जन्मिएको रहेछु।”

तराई सम्झँदै प्रकाश लेख्छन्— खेतबारी, हलगोरु र संघर्ष। घरमा करिब डेढ बिघा जमिन, दुई हल गोरु। एउटा हल प्रकाश आफैँ जोत्थे। अर्को हल गाउँकै दाइले। बिहान खेत। दिउँसो राजनीति। राति बैठक। कहिले कान्ला खन्ने। कहिले धान रोप्ने। कहिले काट्ने। हातमा फोका पर्थे। तर देश र जनताको जीवनस्तर बदल्ने सपनामा कहिल्यै फोका पर्दैनथे। क्रान्तिकै बीचमा उनले मास्टर डिग्री पढ्ने निर्णय गरी कीर्तिपुर पुगे। त्यहाँ जीवन झन् कठिन थियो। कोठाभाडा तिर्नुपर्ने, खाना खानुपर्ने, राजनीतिक चेतको कुरा गर्नुपर्ने, अन्य गतिविधि अनि मात्र पढाइ। तर उनले हार मानेनन्। मास्टर डिग्री सके। उनी सोच्थे- “अब जीवन अलि सजिलो होला।” तर जीवनले फेरि अर्को मोड ल्यायो।

कोरिया जाने दिन-परिवार ठूलो हुँदै गइरहेको थियो। आवश्यकता बढ्दै थियो। पत्रकारिता, राजनीति र आदर्शले मात्रै चुलो बल्न छोडेको समय थियो। त्यसपछि उनी EPS को माध्यमबाट कोरिया गए। विमान चढ्दा हरिमायाको आँखा रसाएको थियो। त्यसो त प्रकाश पनि आफ्नो सिद्धान्तले विदेश नजा भने पनि जानुपर्ने भएपछि भक्कानिन्थे। छोराछोरी साना थिए। राम्ररी “बुबा” भन्न सिक्दै थिए। प्रकाशले देशमाटो र छोराछोरीको टाउको छोएर भने- “म छिट्टै फर्किन्छु।” तर विदेशको समय छिट्टै बितेन। कोरियामा उनले पसिना मात्रै होइन, घरको चुलो चलाउन जीवन नै बगाए। कारखाना। ओभरटाइम। एक्लोपन। राति कहिलेकाहीँ उनी डेरामा चुपचाप रुन्थे अनि निदाउँथे। किनकि विदेशमा मात्र होइन, नेपालमा पनि पुरुषहरू खुला आँसु झार्दैनन्। तकियाले मात्रै थाहा पाउँछ।

पोखराको सपना-कोरियाबाट फर्किएपछि उनले निर्णय गरे-“अब पोखरा बस्छु।” पोखरा उनको जन्मघर पनि थियो। मनको सहर पनि। नवलपरासीको गर्मी, संघर्ष र थकानपछि उनलाई पोखराको हावा चाहिएको थियो। श्रीमती हरिमायाको शिक्षकको जागिर सरुवा गरियो। छोराछोरीलाई लिएर उनी पोखरा आए। कोरियाबाट कमाएको पैसाले एउटा घर बनाए। त्यो घर बनाउँदा उनलाई लागेको थियो-“अब जीवन अलि शान्त होला।” तर जीवन शान्त भएन। मात्र आवाजहरू फेरिए। पहिला साना बच्चाहरूको आवाज आउँथ्यो। पछि IELTS का किताब आए। अनि भिसा। त्यसपछि एयरपोर्ट।

विदेशिएको भविष्य- जुँगाको रेखी पनि नबस्दै आफ्नो भविष्य खोज्दै छोरा अस्ट्रेलिया गयो। प्रकाशले आफूलाई सम्झाए- “भविष्यका लागि हो।” पछि बुहारी पनि गइन्। आठ वर्ष बिते। घरमा एउटा कोठा सधैँ बन्द रहन थाल्यो। छोरी पनि एक वर्ष भयो अस्ट्रेलिया उडिन्। पोखरा एयरपोर्टमा उनले छोरीलाई अँगालो हाले। मुटु भारी थियो। तर बाबुहरू रोए भने छोराछोरी कमजोर हुन्छन् भन्थे। तर यहाँको दृश्य ठीक उल्टो थियो। बाबालाई गाह्रो हुन्छ भनेर छोरीले “बाबा, काठमाडौं नजानुहोस्” भनिन्। त्यसैले पनि उनले अझै आँसु लुकाएको भन्दै भक्कानिए ।

अहिलेको राजनीतिक नेपाली माटोको कुरा गर्दा सैद्धान्तिक रूपमा प्रकाश कुनै पार्टीमा छैनन्। तर उनी अझै परिवर्तन चाहन्छन्। उनी समाचार लेख्छन्। युट्युब चलाउँछन्। समाज हेर्छन्। सरकार फेरिन्छ, नेता फेरिन्छन्, नारा फेरिन्छन्। तर गाउँका बाबुआमाको एक्लोपन फेरिँदैन। कहिलेकाहीँ उनी नवलपरासी पुग्छन्। बुवासँग बस्छन्। त्यो बेला उनी भन्छन्-“बुवा, तपाईं भाग्यमानी हुनुहुन्छ। तपाईंका छोराहरू नेपालमै छन्। बोलाउनुभयो भने पाँच घण्टामै आइहाल्छौँ।” रामचन्द्र शर्मा अधिकारी मुस्कुराउँछन्। तर प्रकाशको मनभित्र त्यो बेला एउटा गहिरो पीडा उठ्छ- “हामीले आफ्ना बुवाआमालाई जस्तो साथ दिन सक्छौँ, हाम्रो सन्तानले हामीलाई त्यस्तो दिन सक्नेछैन।” त्यसमा कसैको दोष छैन। न छोराछोरीको। न बाबुआमाको। दोष सायद त्यो देशको हो, जहाँ सपनाले पासपोर्ट खोज्छ।

एउटा अधुरो प्रश्न-एक रात प्रकाश बिरामी परे। हरिमाया अधिकारी विद्यालयको काममा व्यस्त थिइन्। औषधि खाने बेला भइसकेको थियो। उनले टेबलतिर हेरे। पानी आफैँ लिए। औषधि आफैँ खाए। त्यो क्षण उनलाई अचानक आफ्नी आमाको सम्झना आयो-७५ वर्षको उमेरमा पनि आमाले अझै बुवालाई पानी अघि सार्छिन्। अनि उनी चुपचाप रोए । किनकि उनलाई थाहा थियो अझै त हाम्रो उमेर छ । आवश्यकता पर्नासाथ छोराछोरीको न्यानो हात आमाको हातसम्म पुग्नेछन् । तर हाम्रो बुढेसकालमा सायद हामी सग राम्रो, महँगो मोबाइल त हुनेछ, पैसा पनि हुनेछ । तर मायाले भरिएको न्यानो हात हुनेछैन भन्दै भक्कानिए ।

त्यो रातमा प्रकाशले डायरीमा लेखे-“हामीले देश बदल्न खोज्यौँ। राजनीति बदल्न खोज्यौँ। “खाली आँगन” उपल्लो पोखरा–१६ को एउटा घरको मूल ढोकाको आडैमा पुरानो ब्यानर । त्यसमा लेखिएको थियो-“प्रकाश अधिकारी, अनि पत्रकार” त्यसमुनि सानो अक्षरमा-“विन्ध्यवासिनी माध्यमिक विद्यालय प्रा.वि. शिक्षक हरिमाया अधिकारी पौडेल।” एक समय थियो, त्यो घरमा बिहानैदेखि नै आवाजले भरिन्थ्यो। छोराको मोटरसाइकलको आवाज, छोरीको कलेज जानुअघि हतार, आमाको कराउने शैली— “ढिलो भयो, छिटो गर।” अनि स्वयं प्रकाशको हाँसो, समाचारको बहस, टीभीको ठूलो आवाज-सबै थियो।

तर अहिले ? त्यो घरमा घडीको टिकटिक मात्रै सुनिन्थ्यो। ५१ वर्षका प्रकाश अधिकारी बिहान उठ्दा सबैभन्दा पहिले औषधि खोज्थे। कहिलेकाहीँ औषधि पानी नजिकै हुन्थ्यो, कहिलेकाहीँ टेबलमै छुट्थ्यो। हात काँप्थ्यो। आँखा धमिलो हुन्थ्यो। तर साथ दिने हात थिएन। उनकी श्रीमती हरिमाया बिहान स्कुल जान हतारिन्थिन्। उनी पनि थाक्थिन्, जीवनसँग लडिरहेकी थिइन्। तर कर्तव्यले उनलाई घरभन्दा बाहिर बढी बाँधेको थियो। छोरा आठ वर्षअघि अस्ट्रेलिया गएको थियो। पहिला ऊ एक्लै गयो। पछि बुहारी पनि। अब त उनीहरूको एउटा छुट्टै संसार बनिसकेको थियो। छोरी पनि एक वर्षअघि श्रीमान्सँग अस्ट्रेलिया उडिन्। एयरपोर्टमा छोरीले अँगालो हालेर भनेकी थिई- “बाबा, केही वर्ष दुःख गरौँला, पछि सबै राम्रो हुन्छ।” त्यो “पछि” कहिले आउने हो, कसैले बताएन।

प्रकाश अधिकारी पत्रकार थिए। समाजका पीडा लेख्थे। नेताको भाषण, जनताको आँसु, देशको राजनीति-सबै बुझ्थे। तर आफ्नो पीडा लेख्ने शब्द कहिल्यै भेटेनन्। राति कहिलेकाहीँ उनी मोबाइल हेर्थे। अस्ट्रेलियाबाट भिडियो कल आउँथ्यो। “बाबा, स्वास्थ्य कस्तो छ ?” “ठीक छ छोरो…” उनी सधैँ यही भन्थे। किनकि उनले कहिल्यै भन्न सकेनन्- “मलाई बेलामा औषधि दिने मान्छे छैन।” “मलाई डर लाग्छ।” “म रुन चाहन्छु।” बाहिर देश बदलिएको कुरा धेरै सुनिन्थ्यो।

काठमाडौंमा नयाँ मेयर बनेभन्दा खुसी बनेका प्रकाश आज देशमा नयाँ सरकार बनेको छ। युवाले आशा देखेको सरकार बनेकोमा खुसी छन्। मेयर बनेपछि सहर सफा भयो भने अहिले सरकार नै बनिसकेकोले अब स्वदेशमै सबैले गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार पाउनुपर्छ। त्यो पनि किस्तीमा होइन, व्यवहारमै दिन सक्नुपर्छ भन्छन् प्रकाश। अहिले बदलियो कुरा, फेरियो भाषण। तर प्रकाश अधिकारी सोच्थे- “देश बदलियो रे- तर वृद्ध बाबुआमाको खाली घर बदलियो त ?” विदेशिएका सन्तानका बाबुआमाका लागि कुनै मन्त्रालय छैन। एक्लै बिरामी भएर बस्नेहरूका लागि कुनै कार्यक्रम छैन। भावनात्मक एक्लोपन मापन गर्ने कुनै सरकारी तथ्यांक छैन।

देशले रेमिट्यान्स गन्यो, तर बाबुआमाको आँसु गनेन। एक दिन राति उनी धेरै बिरामी भए। ज्वरो आयो। हरिमाया स्कुलको काम सकेर ढिलो आइपुगिन्। घर अँध्यारो थियो। प्रकाश अधिकारी सोफामै निदाएका थिए। औषधिको डिब्बा खुल्लै थियो। पानीको गिलास आधा भरिएको। हरिमायाले उनको निधार छोइन्। तातो थियो। त्यो क्षण उनी पहिलो पटक रोइन्। किनकि उनले बुझिन्वि-देशले पैसा पठाउन सक्छ, तर छोराछोरीले मायालु हात पठाउन सक्दैनन्। त्यो रात प्रकाश अधिकारीको डायरीमा लेखिएको थियो- “हामी गरीब होइनौँ। घरमा भोक पनि छैन। तर सन्तान टाढा हुँदा वृद्धावस्थाको सबैभन्दा ठूलो गरिबी भनेको ‘साथ’ रहेछ।” व्यवस्था बदल्न खोज्यौँ। तर एउटा कुरा बदल्न सकेनौँ-आफ्नै घरको खाली हुँदै गएको आँगन” किन खाली भयो भनेर कहिल्यै सोचेनौँ। अहिलेको परिवर्तनले के फेरि प्रकाश र प्रकाशजस्ता हजारौँ प्रकाशको घर भरिएला त ? मातृत्व फर्किएला त ? देशले काँचुली फेर्ला त ? अनुत्तरित प्रश्नहरूको यात्रामा लामो जिन्दगी… ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज