जेठ २७, पोखरा
गण्डकी विश्वविद्यालयको रजिस्ट्रार पदमा डा. ढाकाराम भण्डारी नियुक्त भएको छ।
विश्वविद्यालयका उपकुलपति डा. कृष्णराज अधिकारीको संयोजकत्वमा गठित रजिस्ट्रार सिफारिस समितिले डा. ढाकाराम भण्डारी, डा. श्रीकान्त खतिवडा र राजेश ठकुराठीको नाम सिफारिस गरेको थियो।
सिफारिस गरिएका उम्मेदवार मध्यबाट डा. ढाकाराम भण्डारीलाई गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले रजिस्ट्रार पदमा नियुक्त गर्नुभएको हो।
विश्वविद्यालयमा यस अघि रजिस्ट्रार पद रिक्त रहेकाले निमित्त रजिस्ट्रार मार्फत प्रशासनिक कामकाज सञ्चालन हुँदै आएको थियो।
नवनियुक्त रजिस्ट्रार डा.भण्डारी यस अघि गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशकका रूपमा कार्यरत हुनुहुन्थ्यो । प्रदेश सरकारले प्रतिष्ठान खारेज गरेपछि उहाँ उक्त जिम्मेवारीबाट स्वतः बाहिरिएर बस्नुपरेको थियो।
डा. भण्डारीको नियुक्तिसँगै विश्वविद्यालयको प्रशासनिक तथा आर्थिक व्यवस्थापन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। हाल गण्डकी विश्वविद्यालयले शैक्षिक तथा अनुसन्धानमुखी गतिविधिलाई प्राथमिकता दिँदै आफ्नो संस्थागत क्षमता विस्तार गरिरहेको छ।








प्रतिक्रिया