असार २६, काठमाडौँ
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गराइरहेका नेपालीको शुक्रबार बिहान ११ः२० बजे निधन भएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिएका छन्।
राहदानी बनाउन आएका गणेश नेपालीले बिहीबार विभाग परिसर बाहिर आत्मदाहको प्रयास गरेका थिए। गम्भीर रूपमा जलेका उनलाई तत्काल उद्धार गरी वीर अस्पताल पुर्याइएको थियो। अस्पताल स्रोतका अनुसार उनको अनुहार, टाउको, घाँटी र छातीको अधिकांश भाग जलेको थियो भने शरीरका भित्री अंगहरूमा समेत असर पुगेको थियो। पहिलो शल्यक्रियापछि पनि स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको चिकित्सकहरूले बताएका थिए।
उनलाई थप उपचारका लागि भारत लैजाने तयारीसमेत गरिएको थियो। तर स्वास्थ्य अवस्था अत्यन्त नाजुक बनेपछि चिकित्सकहरू ले अस्थिर अवस्थामा विदेश लैजान जोखिमपूर्ण हुने सुझाव दिए पछि उक्त योजना रोकिएको बताइएको छ।
घटनापछि राहदानी विभागको सेवा प्रवाह, नागरिकले भोग्नुपरेका सास्ती तथा सरकारी कार्यालयप्रतिको जनअसन्तुष्टिबारे व्यापक बहस सुरु भएको छ। प्रारम्भिक विवरणअनुसार आत्मदाहअघि गणेश नेपाली र सुरक्षाकर्मीबीच विवाद भएको विषय पनि सार्वजनिक भएको छ।
घटनाको वास्तविक कारणबारे अनुसन्धान जारी रहे पनि एउटा युवा नागरिकलाई सरकारी कार्यालयअगाडि यस्तो चरम कदम चाल्न बाध्य बनाउने परिस्थिति के थियो भन्ने प्रश्न गम्भीर रूपमा उठेको छ।
वर्षौंदेखि सेवा प्रवाह सुधार, सुशासन र नागरिकमैत्री प्रशासनको नारा दिँदै आएको सरकारले व्यवहारमा नागरिकलाई सहज सेवा दिन नसकेको भन्दै सामाजिक सञ्जालमा समेत तीव्र आलोचना भइरहेको छ।
दुर्गम जिल्ला मुगुका एक युवाले राज्यबाट न्याय र सेवा पाउन नसकेको अनुभूति गर्दै आत्मदाहसम्मको बाटो रोज्नु लोकतान्त्रिक शासन व्यवस्थाका लागि चिन्ताको विषय भएको टिप्पणी हुन थालेको छ।
गणेश नेपालीको मृत्यु केवल एक व्यक्तिको मृत्यु मात्र नभई राज्यका निकायप्रतिको जनविश्वासमा देखिएको संकटको संकेतका रूपमा हेरिन थालेको छ। घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र सेवा प्रवाहमा सुधारको माग नागरिक समाज तथा सर्वसाधारणबाट उठ्न थालेको छ।






प्रतिक्रिया