साउन २७, काठमाडौँ
राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि काठमाडौं महानगरपालिकाले गहिरो दुःख व्यक्त गरेको छ।
महानगरपालिकाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा गणेश नेपालीको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको जनाएको छ। महानगरले घटनालाई गम्भीर रूपमा लिँदै सत्यतथ्य छानबिनका लागि नेपाल सरकारद्वारा गठन गरिने छानबिन समितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ।
विज्ञप्तिअनुसार छानबिनबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधारात्मक तथा जिम्मेवारीपूर्ण कदम चालिनेछ। यस्तै, यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन तथा असल प्रशासन र सेवा प्रवाह लाई थप प्रभावकारी बनाउन महानगर प्रतिबद्ध रहेको उल्लेख गरिएको छ।
महानगरपालिकाले नेपाल सरकारसँग समन्वय र सहकार्य गरी समस्या पहिचान, कारण विश्लेषण तथा समाधानमुखी कार्ययोजना निर्माणमा सक्रिय भूमिका खेल्ने जनाएको छ।
यसैबीच, महानगर कार्यपालिकाको बैठकबाट दिवंगत गणेश नेपाली का परिवारलाई मानवीय सहयोग उपलब्ध गराउने, रोजगारीको व्यवस्था मिलाउने तथा उनका सन्तानलाई निःशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धमा आवश्यक निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा जारी विज्ञप्तिमा गणेश नेपालीको घटनाबाट उत्पन्न पीडाप्रति संवेदनशील रहँदै परिवारलाई आवश्यक सहयोग गर्न महानगर प्रतिबद्ध रहेको जनाइएको छ।






प्रतिक्रिया