असार २९, पोखरा
शुक्ला साहित्य प्रतिष्ठान, पोखरा–१६ बटुलेचौरको आयोजनामा आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसर पारेर सोमबार रचना वाचन कार्यक्रम सम्पन्न भएको छ।
कालिका बहुउद्देश्यीय भवन, पोखरा–१६ बटुलेचौरमा आयोजित कार्यक्रममा साहित्यप्रेमी, स्रष्टा तथा बुद्धिजीवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रतिष्ठानका अध्यक्ष दुर्गा देवी बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेत्रबहादुर बानियाँ रहनुभएको थियो। कार्यक्रमको उद्घाटनका क्रममा प्रमुख अतिथि बानियाँले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गर्दै भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो। उहाँले साहित्य समाजको ऐना भएको उल्लेख गर्दै नयाँ पुस्तालाई साहित्य सिर्जना र अध्ययनतर्फ आकर्षित गर्न यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा संस्थाकी उपाध्यक्ष गीता भण्डारीले स्वागत मन्तव्य व्यक्त गर्दै भानु जयन्ती नेपाली भाषा, साहित्य र संस्कृतिप्रतिको सम्मानको पर्व भएको बताउनुभयो। त्यसैगरी कुलबहादुर केसीले शुभकामना मन्तव्य राख्दै साहित्यिक गतिविधिले समाजमा सकारात्मक चेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रतिष्ठानका निवर्तमान अध्यक्ष हरिबहादुर बरूवालले भानुभक्तकृत रामायणको वाचन गर्नुभएको थियो। रामायण वाचनमार्फत उहाँले आदिकविको साहित्यिक योगदान र नेपाली भाषाको मौलिकतालाई स्मरण गराउनुभएको सहभागीहरूले बताएका छन्।
यस अवसरमा छविलाल आचार्य ,कुञ्जराज थापा, इन्दु भट्टराई तथा यदुनाथ बन्जराले रचना बाचन सगै कार्यक्रमको उद्देश्य, भानु जयन्तीको महत्व तथा साहित्यिक गतिविधिको आवश्यकतालाई जोडेर रचना वाचन गर्नुभएको थियो। वक्ताहरूले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता सिर्जनात्मक कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको थियो ।
कार्यक्रममा विभिन्न स्रष्टाहरूले कविता, गजल तथा अन्य साहित्यिक रचनाहरू वाचन गरेका थिए। भानुभक्त आचार्यको व्यक्तित्व र कृतित्वमाथि पनि चर्चा गरिएको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव सञ्जय थापाले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थित, मर्यादित र सभ्य ढंगले सञ्चालन गर्दै सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्नुभएको थियो।






प्रतिक्रिया