Top Header Ad 1

भूतपूर्व विद्यार्थी मञ्चद्वारा १७ निवृत्त शिक्षक सम्मानित,प्रदेश प्रमुख भट्टद्वारा अग्रज शिक्षकहरूको योगदानको प्रशंसा

भूतपूर्व विद्यार्थी मञ्चद्वारा १७ निवृत्त शिक्षक सम्मानित,प्रदेश प्रमुख भट्टद्वारा अग्रज शिक्षकहरूको योगदानको प्रशंसा

परिबर्तन न्युज
१३ श्रावण २०८३ बजे
परिबर्तन न्युज
१३ श्रावण २०८३

साउन १३, पोखरा

भूतपूर्व विन्ध्यवासिनी विद्यार्थी मञ्च, पोखरा–१६ बाटुलेचौरको आयोजनामा गुरु पूर्णिमाको अवसर पारेर विन्ध्यवासिनी माध्यमिक विद्यालयका निवृत्त शिक्षकहरूलाई सम्मान गरिएको छ।

विद्यालय स्थापना कालदेखि २०४० सालसम्म अध्यापन गरी सेवा निवृत्त भएका शिक्षकहरूलाई सम्मान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष हरिबहादुर बरुवालले गर्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख भट्टले आदरणीय गुरुजन हरूको सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा आफू गौरवान्वित भएको बताउनुभयो। “यहाँ आउँदा म आफैँ उमेरले पाकेको व्यक्तिहरूको माझमा आएको छु भन्ने लागेको थियो, तर मभन्दा पनि अग्रज तथा सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा अत्यन्त खुसी लागेको छ,” उहाँले भन्नुभयो। उहाँले यस्ता कार्यक्रमले समाजमा गुरुहरूको योगदानको उच्च मूल्याङ्कन गर्ने विश्वास व्यक्त गर्दै आयोजकलाई बधाई तथा धन्यवाद दिनुभयो।

कार्यक्रममा सुरेन्द्र रेग्मी, नरहरी भट्टराई, शालिग्राम अधिकारी, कुल बहादुर बस्नेत, बेनीबहादुर बस्नेत, छविलाल आचार्य, इन्द्रबहादुर थापा, भानुभक्त पौडेल, रेवतीविलास पौडेल, हरिलाल तिम्सिना, रुद्रनाथ पौडेल, रुद्रमणि पराजुली, कर्मा कुमारी गुरुङ, भीमप्रसाद पराजुली, कुलप्रसाद पौडेल, डा. कृष्णगोपाल पराजुली तथा एकानाथ गौतमलाई सम्मान गरिएको थियो।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश नं. १ का पूर्व प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ रहनुभएको थियो। अतिथिहरूमा मञ्चका संस्थापक अध्यक्ष नरहरी भट्टराई, पूर्व अध्यक्ष रामबहादुर बानियाँ, निवर्तमान अध्यक्ष सुभाष अधिकारीलगायतको उपस्थिति रहेको थियो।

सो अवसरमा विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले गुरु पूर्णिमाको दिन पारेर निवृत्त शिक्षक हरूको सम्मान गरिएकोमा खुसी व्यक्त गर्दै भूतपूर्व विद्यार्थीहरूको यस्तो अभियान विद्यालयका लागि गौरवको विषय भएको बताउनु भयो। उहाँले शिक्षकहरूको योगदानलाई स्मरण र सम्मान गर्ने संस्कृतिले समाजलाई थप सभ्य र जिम्मेवार बनाउने धारणा राख्नु भएको थियो। त्यस्तैगरी विभिन्न संघसंस्थाहरूको तर्फबाट श्रीसुक्ला साहित्य प्रतिष्ठानका अध्यक्ष एवं जनप्रतिनिधि दुर्गादेवी बस्नेतले शिक्षकहरुलाई सम्मान गरेर यस संस्थाले साह्रै राम्रो काम गरेको बताउनुभएको थियो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष हरिबहादुर बरुवालले गुरुहरूको सम्मान र स्वाभिमान जोगाइराख्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो। आफ्नो कार्यकालमा गुरु सम्मान कार्यक्रम आयोजना गर्न पाएकोमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि मञ्चले निरन्तर रूपमा गुरुहरूको सम्मान गर्ने विश्वास व्यक्त गर्नुभयो।

करिब १५० जना शिक्षक, समाजसेवी, बुद्धिजीवी तथा विभिन्न ब्याचका पूर्व विद्यार्थीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष सञ्जय थापाले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव भीम गायकले गर्नुभएको थियो।

गुरु पूर्णिमाको अवसरमा आयोजित उक्त कार्यक्रमले गुरु–शिष्य सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै शिक्षाक्षेत्रमा योगदान पुर्‍याएका अग्रज शिक्षकहरूप्रति सम्मान व्यक्त गर्ने सन्देश प्रवाह गरेको सहभागीहरूले बताउनुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज