भाद्र २, पोखरा
सेती नदीको सुसाइसँगै बगिरहेको समयलाई कसैले रोक्न सकेको छैन। समय बगिरह्यो, पुस्ता फेरिँदै गए, गाउँ फेरियो, समाज फेरियो। तर केही कुराहरू छन्, जो अझै उस्तै छन्—आमाबुवाको माया, सन्तानको प्रतीक्षा र घर फर्किने आशा।
पोखरा महानगरपालिका अर्थात् उपल्लो पोखरा वडा न. १९, २० र १६ को सेरोफेरोमा फैलिएको प्राकृतिक सुन्दरता आफैंमा एउटा जीवन्त इतिहास हो। हरिहर गुफा, कालीखोला, मानव सेवा आश्रम, अकला मन्दिर, जलेश्वर महादेव, ठुलीपोखरी, घार्मी हुँदै बाटुलेचौर र महेन्द्र गुफातर्फ जाने बाटोको बीचमा एउटा चौतारो छ—अमाली बिसाउनेको चौतारो।
पहिलो नजरमा हेर्दा त्यो एउटा सामान्य चौतारो जस्तो देखिन्छ। तर नजिक पुगेर त्यहाँ दिनहुँ जम्मा हुने वृद्ध बुवाहरूका अनुहार पढ्न थालियो भने त्यो चौतारो एउटा जीवित पुस्तकालय मन्दिरको रूपमा झल्किन्छ। त्यहाँ उमेरले सत्तरी, पचहत्तर, असी र कतिपयले त नब्बे वर्षको सीमासमेत पार गरिसकेका छन्। उनीहरूको अनुहारमा समयले कोरेका रेखाहरू छन्, आँखामा सम्झनाका असंख्य तस्बिरहरू छन्, र हृदयभित्र एउटा मौन प्रतीक्षा छ।
उहाँहरूका अधिकांश छोराछोरी विदेशमा छन्। कोही अष्ट्रेलिया, कोही अमेरिका, कोही युरोप, कोही खाडी मुलुकहरूमा। महिनाको अन्त्यमा बैंक खातामा पैसा आइपुग्छ। घरमा अभाव छैन। तर जीवन भने कहिलेकाहीँ अभावभन्दा पनि ठूलो रिक्तताले थिचिएको हुन्छ।
कुनै बेला बाबुआमा नहुँदा छोराछोरी टुहुरा हुन्थे। आज समयले कस्तो विडम्बना ल्याइदियो भने छोराछोरी भएर पनि बाबुआमाहरू टुहुरा बन्न थालेका छन्।
गाउँका घरहरूमा ताला झुन्डिएका छन्। आँगनहरू सुनसान छन्। खेतबारीमा पहिले जस्तो हलो चल्दैन। साँझपख धुवाँ निस्कने चुल्हाहरू हराउँदै गएका छन्। बस्तीमा बाँकी छन् त केवल केही वृद्ध आमाबुवा, जो बिहान आँखा खुल्नासाथ मोबाइलको घण्टी बज्ने आशा गर्छन्।
उहाँहरूलाई पैसाको कमी छैन। तर बिरामी पर्दा औषधि खुवाउने हात छैन। अस्पताल जानुपर्दा साथ दिने मान्छे छैन। राति ज्वरो आयो भने निधार छामिदिने कोही छैन। बैंकमा पैसा जम्मा छ, तर मनको खातामा भने एक्लोपनाको ऋण दिनदिनै बढिरहेको छ।
त्यसैले होला, अमाली बिसाउनेको चौतारो उनीहरूको दोस्रो घर बनेको छ।हरेक दिन बिहान वा दिउँसो उनीहरू त्यहाँ जम्मा हुन्छन्। कसैले आफ्नो युवावस्थाको कथा सुनाउँछन्। कसैले पुराना राजनीतिक आन्दोलनका सम्झना निकाल्छन्। कसैले खेतीपातीका दिन सम्झिन्छन्। कसैले नातिनातिनाको फोटो मोबाइलमा देखाउँछन्। अनि कसैले हाँस्दै भन्छन्, – “अब त कहिले आउँछन् र बच्चाहरू।” त्यहाँ हाँसो पनि छ। ठट्टा पनि छ। रमाइलो पनि छ। तर त्यो हाँसो भित्र लुकेको पीडा बुझ्न सक्ने आँखा कमै भेटिन्छन्।
चियाको कपसँगै उनीहरू आफ्ना दुःख बाँड्छन्। बिस्कुटसँगै सम्झनाहरू चपाउँछन्। केही समयका लागि एक्लोपनालाई भुल्छन्। अनि साँझ पर्दै जाँदा फेरि आ–आफ्नो घरतिर लाग्छन्। घर, जहाँ कोही प्रतीक्षा गरिरहेको हुँदैन। जहाँ केवल भित्ताहरू, पुराना तस्बिर हरू र सम्झनाहरू मात्र साथी बनेर बसेका हुन्छन्।आजको नेपाल यस्तै कथाहरूको देश बन्दै गएको छ।
विदेशिएका सन्तानहरूको सफलतामा देश गर्व गर्छ। रेमिट्यान्सले अर्थतन्त्र धानिएको छ। आधुनिक घरहरू बनेका छन्। गाउँमा सिमेन्टका महलहरू ठडिएका छन्। तर ती घरहरूभित्रको सुनसान लाई कुनै तथ्यांकले मापन गर्दैन। कुनै आर्थिक प्रतिवेदनले आमाबुवा को एक्लोपनाको मूल्यांकन गर्दैन।
अमाली बिसाउनेको चौतारो केवल एउटा चौतारो होइन। यो बदलिँदो नेपाली समाजको ऐना हो। यहाँ बसेका वृद्ध बुवाहरू केवल व्यक्ति हरू होइनन्, उनीहरू एउटा युगका प्रतिनिधि हुन्।उनीहरूले आफ्नो जीवनको उर्वर समय सन्तानका लागि खर्चिए। आफूले दुःख सहेर छोराछोरीलाई पढाए, हुर्काए, योग्य बनाए। आज ती सन्तान संसार का विभिन्न कुनामा सफल जीवन बाँचिरहेका छन्। तर उनीहरूका आमाबुवा भने चौतारोमा बसेर एउटा फोनको घण्टी, एउटा भेटघाट, एउटा अँगालो र एउटा “बुबा, तपाईं कस्तो हुनुहुन्छ ?” भन्ने प्रश्नको प्रतीक्षामा छन्।
सायद यही नै हाम्रो समयको सबैभन्दा ठूलो विडम्बना हो। पैसा कमाउने दौडमा हामीले सम्बन्धहरूलाई धेरै पछाडि छोड्दै गएका छौँ। सुखको खोजीमा निस्कँदा सुख बाँड्ने मानिसहरूबाट टाढिँदै गएका छौँ।
सेती नदी आज पनि उस्तै गरी बगिरहेको छ। अकला मन्दिरका घण्टीहरू आज पनि उस्तै बजिरहेका छन्। जलेश्वर महादेवको आशीर्वाद आज पनि उस्तै छ। तर अमाली बिसाउनेको चौतारोमा बसेका ती वृद्ध आँखाहरूमा भने एउटा प्रश्न अझै जीवित छ– ।
“हामीले जीवनभर जोगाएको घरमा फेरि कहिले सन्तानहरूको हाँसो गुञ्जिने होला ?” सायद यही प्रश्नको उत्तर खोज्दै उनीहरू हरेक दिन चौतारोमा आउँछन्, आफ्ना साथीहरूसँग केही घण्टा बिताउँछन्, जीवनका बाँकी दिनहरूलाई मुस्कानले सजाउने प्रयास गर्छन्, अनि साँझ घर फर्किन्छन्।
त्यो चौतारोमा बस्ने बुवाहरूको कथा केवल उनीहरूको कथा होइन। यो आजको नेपालको कथा हो। यो हजारौँ गाउँहरूको कथा हो। यो रेमिट्यान्सले धानेको तर भावनाले थाकेको समाजको कथा हो। र यो कथा तबसम्म जीवित रहनेछ, जबसम्म कुनै आमाबुवाको आँखा ले आफ्नो सन्तानको बाटो हेरिरहन्छ।






प्रतिक्रिया