साउन ९, पोखरा
पोखरा–१६ लामाचौरमा यस वर्ष पनि बहुप्रतीक्षित ‘लामाचौर तीज महोत्सव–२०८३’ आयोजना हुने भएको छ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा महोत्सवको २८औँ संस्करण आगामी भदौ २७, २८ र २९ गते इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने भएको हो।
संस्थाको ३०औँ वार्षिकोत्सव तथा हरितालिका तीज पर्वको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवबारे जानकारी दिँदै संस्थाका अध्यक्ष तथा मूल आयोजक समिति संयोजक इञ्जिनियर दिनेश भण्डारीले मौलिक संस्कृति संरक्षण,सामाजिक एकता तथा खेलकुद विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिइएको बताउनुभयो।
‘मौलिक संस्कृतिको जगेर्ना गरौँ’ भन्ने उद्घोषका साथ आयोजना हुने महोत्सवमा यस वर्ष पनि पुरुष भलिबल प्रतियोगिता, लामाचौर कप अन्तर मा .वि. छात्रा भलिबल प्रतियोगिता,अन्तर महिला समूह तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, विभिन्न सम्मान कार्यक्रम, औद्योगिक तथा व्यापारिक स्टलहरू र चर्चित कलाकारहरूको दैनिक सांस्कृतिक प्रस्तुति रहनेछ।
आयोजकका अनुसार विभिन्न प्रतियोगिताका विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। महोत्सवको प्रवर्द्धक इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय रहेको छ भने बानियाँ सपिङ सेन्टर, लामाचौर मुख्य सहयोगीका रूपमा रहेको छ। अन्य प्रायोजक तथा सहयोगी संस्थाहरू पनि जोडिने क्रममा रहेको जनाइएको छ।
पोखरा आसपासमा तीज पर्वको अवसरमा आयोजना हुने मेला तथा महोत्सव मध्ये सबैभन्दा ठूलो मानिने यस महोत्सवको प्रमुख आकर्षण लामाचौर कप भलिबल प्रतियोगिता हो। प्रतियोगिता हेर्न कास्की सहित विभिन्न जिल्लाबाट दर्शक लामाचौर पुग्ने गरेका छन्।
सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राख्दै आएको नवआदर्श सामुदायिक विकास समाजले महोत्सवबाट बचत भएको रकम आकस्मिक सेवा तथा तीज महोत्सव सञ्चालन कोषमा जम्मा गर्दै आएको छ। संस्थाले लामो समयदेखि सर्वसाधारणको सेवाका लागि एम्बुलेन्स तथा शववाहन सेवा सञ्चालन गरिरहेको छ भने आगामी दिनमा सस्थाले गर्ने सबै कार्यक्रम गर्न मिल्ने गोस्तेघाट फुटबल मैदान निर्माण कार्य लगायत विभिन्न खेलकुद पूर्वाधार विकासमा समेत योगदान पुर्याएको छ।
यस वर्षको महोत्सवबाट संस्कृति संरक्षण, स्थानीय प्रतिभाको पहिचान, खेलकुद प्रवर्द्धन तथा सामुदायिक सेवाका कार्यक्रमलाई थप सशक्त बनाउने अपेक्षा आयोजकले गरेको छ। महोत्सवमा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आयोजकले सम्पूर्ण पोखरेली तथा आसपासका सर्वसाधारणलाई आग्रह गरेको छ।






प्रतिक्रिया