Top Header Ad 1

लौरुक खोला लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा, ८०० घरधुरी लाभान्वित हुने

लौरुक खोला लिफ्टिङ खानेपानी आयोजना सञ्चालनमा, ८०० घरधुरी लाभान्वित हुने

परिबर्तन न्युज
९ श्रावण २०८३ बजे
परिबर्तन न्युज
९ श्रावण २०८३

साउन २५ , पोखरा

पोखरा महानगरपालिका वडा न. २४ अन्तर्गत निर्माण सम्पन्न भएको लौरुक खोला लिफ्टिङ खानेपानी तथा सरसफाई आयोजना आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

आयोजना सञ्चालनमा आएसँगै वडाभित्रका करिब ८०० घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ।लौरुक खोला लिफ्टिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष भुवनेश्वर सुवेदीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। मुख्यमन्त्री पाण्डेले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गर्नुका साथै खानेपानीको मुहानस्थलमै पुगेर पानीको भल्भ सञ्चालन गर्दै आयोजनाको औपचारिक उद्घाटन गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले स्वच्छ खानेपानी नागरिकको आधारभूत आवश्यकता भएको उल्लेख गर्दै जनतालाई सहज रूपमा खानेपानी उपलब्ध गराउने उद्देश्यले प्रदेश सरकारले विनियोजन गरेको बजेटको प्रभावकारी उपयोग भएको बताउनुभयो। उहाँले विकास निर्माणका योजनाहरू जनताको जीवनस्तर सुधारसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने धारणा राख्दै आगामी दिनमा पनि यस्ता जनमुखी योजनाहरूलाई प्राथमिकता दिइने बताउनुभयो।

कार्यक्रमका विशिष्ट अतिथि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री नन्दप्रसाद न्यौपानेले खानेपानीको पहुँच विस्तार गर्नु सरकारको प्रमुख दायित्व भएको उल्लेख गर्दै ग्रामीण तथा दुर्गम क्षेत्रमा समेत सुरक्षित खानेपानी पुर्‍याउने अभियानलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले आयोजना निर्माणमा स्थानीय समुदायको सक्रिय सहभागिता प्रशंसनीय रहेको भन्दै यसको दीगो व्यवस्थापन र संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिनुभयो।

अर्का विशिष्ट अतिथि गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले खानेपानी जस्तो आधारभूत सेवाले नागरिकको दैनिक जीवनलाई सहज बनाउने बताउँदै प्रदेश सरकारले विकासका यस्ता पूर्वाधारमुखी योजनालाई निरन्तर सहयोग गर्दै आएको धारणा व्यक्त गर्नुभयो। उहाँले आयोजनाको सफल कार्यान्वयनले अन्य क्षेत्रका लागि पनि सकारात्मक सन्देश दिएको उल्लेख गर्नुभयो।

कार्यक्रममा खानेपानी तथा सरसफाई क्षेत्रसँग सम्बद्ध विभिन्न व्यक्तित्वहरूले आयोजना निर्माण तथा सञ्चालनले स्थानीय बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका थिए।

अतिथिका तर्फबाट बोल्दै पोखरा महानगरपालिका–२४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले आयोजनाबाट वडाभित्रका करिब ८०० घरधुरी प्रत्यक्ष लाभान्वित हुने जानकारी दिनुभयो। विगतमा खानेपानी अभावका कारण सुकेका तथा अव्यवस्थित बनेका धाराहरू अब नियमित सञ्चालनमा रहने विश्वास व्यक्त गर्दै उहाँले यस आयोजनाले वडावासीको लामो समयदेखिको समस्या समाधान गरेको बताउनुभयो।

वडा नं. २४ का सचिव इन्द्रबहादुर जिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रमुख अतिथि लगायतका अतिथिहरूलाई महिला जनप्रतिनिधि सरस्वती त्रिपाठीले खादा मालाले सम्मान गर्नुभएको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका पदाधिकारी, आमा समूहका प्रतिनिधि तथा स्थानीयवासी हरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष भुवनेश्वर सुवेदीले आयोजनाको निर्माण तथा सञ्चालनमा सहयोग पुर्‍याउने सबै पक्षप्रति आभार व्यक्त गर्दै खानेपानी योजनाको संरक्षण र प्रभावकारी व्यवस्थापनमा उपभोक्ताहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो। धन्यवाद ज्ञापनसहित उहाँले कार्यक्रमको समापन गर्नुभएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज