Worldlink Communications

वाम दलबीच भित्रभित्रै गठबन्धनको प्रयास

जेष्ठ १८ ,काठमाडौं

स्थानीय तह निर्वाचनको परिणाम आएपछि तीन ठुला कम्युनिस्ट पार्टी वाम गठबन्धनतर्फ उन्मुख भएका छन्। प्रचारबाजी नगरीकन नेताहरूले वाम गठबन्धनको विषयमा भित्रभित्रै छलफल सुरु गरेका छन्। खासगरी एमालेले यसको अगुवाइ थालेको छ। तर माओवादी केन्द्र र एमालेबाट विभाजन भएर बनेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) ले एमालेलाई विश्वास गर्न सकिरहेका छैनन्।

विगतमा चुनावी गठबन्धन मात्र होइन, पार्टी एकता नै गरेर अघि बढेका एमाले र माओवादी केन्द्र आफ्नै कारणले विभाजित भए। अहिले स्थानीय तह निर्वाचन परिणाम आइसकेपछि सबैका कमजोरी औंल्याउँदै वाम गठबन्धन गर्नुपर्ने महसुस गरेका यी तीन दलबीच विश्वासको अभाव भने खट्किएको छ। ‘भित्रभित्रै वाम गठबन्धनको कुरा चलेको मात्र होइन, गम्भीर छलफल भएको छ तर नेताहरूबीच विश्वासको अभाव देखिएको छ’, एमालेका एक पदाधिकारीले भने।

पछिल्लो समय प्रमुख विपक्षी एमालेले पाँचदलीय गठबन्धन फुटाउने प्रयास गरिरहेको छ। संसदीय निर्वाचनअघि नै वाम गठबन्धनको प्रस्ताव अघि बढेमा एमाले सकारात्मक हुने सन्देश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसम्म पुगेको छ। ‘वाम गठबन्धन प्रस्ताव प्रत्यक्ष वा अप्रत्यक्ष दुवै रुपमा आएका छन् तर ती विश्वासयोग्य छैनन्’, नेकपा एसका अध्यक्ष नेपाल निकट स्रोतले भन्यो।

स्रोतका अनुसार एमालेबाट त्यस्तो प्रस्ताव आउनु नयाँ कुरा होइन। तर त्यो कुनै पनि अर्थमा विश्वास आर्जन गर्नेखालको छैन, बुझौँ न त के रहेछ भन्ने तहबाट प्रस्ताव आएको हो। ‘विषयवस्तुको उठान गम्भीर ढंगले भएजस्तो लाग्दैन। निर्वाचनपछि केहीकेही विषयमा छलफल अघि बढ्न सक्छ भन्ने हामीलाई पहिला नै लागेको थियो। अहिले त्यही भएको छ। यसलाई सर्वथा नौलो र आश्चर्यको विषय मान्नु हुँदैन’, नेपाल निकट स्रोतले भन्यो।

यही जेठ ११ मा एमाले अध्यक्ष केपी ओलीले सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेसँगै वामगठन्धनको प्रस्ताव पनि आएको हो। दुई नेताबीचको भेटपछि एमाले–जसपा सहकार्यको चर्चा चल्न थालेको छ। पाँचदलीय गठबन्धनको बैठकमा स्थानीय निर्वाचनमा कांग्रेसका नेता–कार्यकर्ताले अन्य घटकका उम्मेदवारर्ला सोचेजति सहयोग नगरेको विषयमा छलफल भएको थियो। सत्ता गठबन्धनको सोमबार बसेको बैठकमा निर्वाचनसम्बन्धी समीक्षा गर्दा कांग्रेसले सहयोग नगरेको विषयमा छलफल अघि बढाइएको हो।

माओवादी एक नेताका अनुसार स्थानीय निर्वाचन परिदृष्यले संसदीय निर्वाचनमा नेताहरूबीच गठबन्धन भए पनि कार्यकर्ताले तोड्नसक्ने अवस्था देखाएको छ। ‘अहिले पनि कांग्रेसभित्र दुईवटा खेमा स्पष्ट देखिन्छ। एउटा खेमाले गठबन्धनबिना नै निर्वाचनमा जानुपर्छ भनिरहेको छ। यो खेमाले स्थानीय तह निर्वाचनमा बागी उम्मेदवार उठाएको देखियो, बागीले जितेका स्थानमा कांग्रेसका केन्द्रीय नेताहरू नै विजय जुलुसमा सहभागी भएको देखियो। संघ र प्रदेशको निर्वाचनमा यो क्रम ज्यादै तीव्र हुने देखिन्छ। यसकारण पनि वाम गठबन्धनको आवश्यकता महसुस भएको हो’, माओवादी केन्द्र स्थायी समितिका एक सदस्यले भने। ती सदस्यका अनुसार वाम गठबन्धनको आवश्यकता भए पनि एमाले गम्भीर नहुँदासम्म सम्भव छै

स्थानीय तह निर्वाचनपछि जसपा अध्यक्ष यादव सत्ता गठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग असन्तुष्ट छन्। यसैक्रममा एमाले अध्यक्ष ओलीले यादवसँग भेट गरेका थिए। ओलीले भेट गरेलगत्तै एमालेका नेताहरूले तत्कालै जसपासँग सहकार्य हुने सम्भावना नभएको बताएका छन्। एमालेका नेताहरूले तत्काल माओवादी केन्द्र र नेकपा एससँग पनि सहकार्य हुने सम्भावना नभएको बताउँदै आएका छन्।तर एमाले, माओवादी र नेकपा एसका नेताहरूले स्थानीय तहमा वाम पार्टीको उपस्थितिका विषयमा पनि विश्लेषण गरिरहेका छन्। स्थानीय तहमा कांग्रेसले विभिन्न पालिकाका गरी तीन सय २९ प्रमुखरअध्यक्ष पदमा जित निकालेको छ। एमालेले दुई सय ५ पालिकामा प्रमुखरअध्यक्ष र नेकपा माओवादी केन्द्रले १ सय २१ पालिकामा प्रमुखरअध्यक्ष पद जितेको छ। नेकपा एसले एक महानगरपालिका एक उपमहानगरपालिकासहित २० प्रमुखरअध्यक्ष पदमा जित निकालेको

तीनवटा कम्युनिस्ट पार्टीको जोड्ने हो भने यो संख्या तीन सय ४६ हुन आउँछ, जुन कांग्रेसले जितेको भन्दा बढी हो। ‘संख्याको हिसाब हेर्ने हो भने अहिले पनि कांग्रेसभन्दा वामपन्थी शक्तिहरू जितमा अघि छन्। स्थानीय निर्वाचनमा सबै तहमा गठबन्धन भएको होइन, गठबन्धन भएका स्थानमध्ये पनि कम्युनिस्ट उम्मेदवारलाई जिताउन कांग्रेसबाट इमानदार प्रयास भएन। यसकारण वाम गठबन्धनको आवश्यकता हो’, माओवादी एक नेताले भने

एमालेका एक पदाधिकारीका अनुसार सबै वाम दलले आआफ्नो अवस्थालाई ध्यान दिएर वाम गठबन्धनका लागि अघि बढ्ने र औपचारिक धारणासहितको प्रस्ताव अघि सार्ने हो भने निर्णयमा पुग्न सकिन्छ। ‘धेरै कठिन विषय त होइन, तर पनि केही समय लाग्छ। स्थानीय निर्वाचनमा एमालेविरुद्ध गठबन्धन भएको थियो तर पनि एमालेले करिब ३० प्रतिशत जित निकाल्न सफल भएको छ। यसले गर्दा एमालेसहित अन्य वाम शक्ति एक ठाउँमा जुट्ने हो भने आगामी यात्रा सफल हुन्छ’, ती पदाधिकारीले भने

माओवादी केन्द्रका एक नेताका अनुसार आगामी निर्वाचनमा कांग्रेसले गठबन्धनका शीर्ष नेताहरूलाई मात्रै जिताउने गरी रणनीति अख्तियार गर्न सक्छ। ‘शीर्ष नेताहरू उठेको स्थानमा कांग्रेसले उम्मेदवार नउठाउने अन्य ठाउँमा कांग्रेसका उम्मेदवार बागी उठ्ने सम्भावना छ, जो खतरनाक हुनेछ’, माओवादीका एक नेताले भने। ती नेताका अनुसार अहिले कांग्रेसले वाम गठन्धन बन्नसक्ने खतरालाई ध्यानमा राखेर आगामी मंसिरभित्रै संघीय संसद्को निर्वाचन गर्ने प्रयास गरिरहेको छ। ‘संघीय संसद्को निर्वाचन चाँडै गरौं भन्ने कांग्रेसको प्रस्ताव छ, वाम गठबन्धन नहोस् भन्ने उसको चाहना हो’, ती नेताले भने। आजको नागरिक दैनिकमा समाचार छ।

प्रतिक्रिया दिनुहोस्: