टाइगर कप भलिबलमा नयाँ फम्र्याटः हारेका र जितेका टोलीको छुट्टाछुट्टै लिग



माघ १२ ,पोखरा
एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका खेलहरु नयाँ फम्र्याटमा खेलाइने भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा शनिबारबाट हुन लागेको उक्त प्रतियोगिताका खेल नयाँ फम्र्याटमा खेलाइन लागेको हो । प्रतियोगितामा पुरुष र महिलातर्फ ६–६ टोली सहभागी छन् । पहिला ३ खेल नकआउटमा हुनेछ । ती तीन खेलमा जित्ने टोली एउटा समूह र हार्ने टोली अर्काे समूह रहनेछन् ।
दुवै समूहमा लिग खेलाइनेछ । लिगमा प्रत्येक टोलीले दुई खेल खेल्नेछन् । जित्ने समूहबाट पहिला र दोस्रो स्थानमा रहने टोलीले क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । हारेका टोलीको समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् ।
पहिलो क्वालिफायरको विजेताले फाइलनमा यात्रा सुरश्चित गर्नेछ भने पराजित हुने टोलीले एलिमिनेटरको विजेता टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । फाइलन खेल माघ १९ गते हुनेछ । प्रतियोगिताको पहिलो खेल महिलातर्फ डिफेन्डिब च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्डबिच हुनेछ ।
उक्त खेल बिहान १० बजेबाट सुरु हुनेछ । पहिलो दिन हुने तिन वटै खेल महिलातर्फ हुने आयोजकले जनाएको छ । भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुनेछ । त्यसपछि साढे एक बजे प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुबले गर्नेछन् । पहिलो दिनको तेस्रो तथा अन्तिम खेल आयोजक टोली र त्रिभुवन आर्मी क्लबबिच प्रतिष्पर्धा हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिनु भएको थियो ।


