पोखराका होटल व्यवसायीहरू खानेपानी संस्थानसँग पानी माग्दै



बैशाख ८, पोखरा
होटल संघ पोखराले नेपालले खानेपानी संस्थान सग खानेपानी अभाव भएको जानकारी गराउँदै पोखरेलीहरूलाई सुव्यवस्थित पानीको व्यवस्थापन मिलाउन ध्यानाकर्षण गराएको छ ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा नेपाल खानेपानी संस्थान पोखरा कार्यालय पुगेको टोलीले खानेपानी जस्तो अत्यावश्यक विषयको गम्भीरतालाई बुझ्दै सहजै परिपूर्तिका गर्नका लागि संस्थान गंभीर बन्न ध्यानाकर्षण गराएको थियो ।
टोलीले कार्यालय प्रमुख सहायक प्रबन्धक इञ्जिनियर आशिष कार्कीको कार्यकक्षमा पुगी पर्यटन क्षेत्रले पानीबाट भोग्नुपरेको समस्याको बारेमा अवगत गराएको थियो ।
होटल संघका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकीय राजधानीमा पोखरा भ्रमण वर्ष २०२५ चल्दै गर्दा पानीको आपूर्ति सहज नहुँदा व्यवसायमा नै मार परेको जानकारी गराउँदै पर्यटकको बढी चहलपहल हुने लेकसाइड र ड्यामसाइड जस्ता क्षेत्रमा खानेपानी प्राप्तीमा कठिनाई हुनु दुःखद भएको भन्दै उनले यसले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश जानसक्ने भएकोले यस विषयमा गम्भीर बन्न अनुरोध गर्नुभएको थियो ।
पर्यटनको राजधानी पोखरामा रहेका होटल एवम् अन्य व्यवसायीहरु ले सुख्खायाम सँगै आवश्यकता अनुसार खानेपानीको उपयोग गर्न पाइरहेको अवस्था छैन । होटल तथा पर्यटन व्यवसायीहरुले दैनिक जसो बोरिङ्गको पानि खरिद गरी पाहुनाहरुलाई सेवा दिुन पर्ने वाध्यात्मक परिस्थिति रहेको हुँदा पर्यटनको राजधानी पोखरा र पर्यटकहरुको आवाशीय क्षेत्र लेकसाइड, ड्यामसाइडमा नियमित रुपमा खानेपानीको व्यवस्था मिलाउन जोड दिदैँ पानिको ब्यबस्था गर्न सुझाव दिनुभएको थियो।
होटल संघका निवर्तमान अध्यक्ष विकल तुलाचनले पोखरा भ्रमण वर्षमा नै पानीको समस्या हुनु दुःखद भएको बताउनुभयो । संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले लेकसाइड जस्तो संवेदनशिल क्षेत्रमा हप्ता विराएर खानेपानी आपूर्ति हुँदा निकै समस्या परेको बताउनुभएको थियो। अर्का उपाध्यक्ष गणेशराज पहारीले जाइकाको सहयोगपछि पनि पोखरामा पानी आपूर्तिमा समस्या हुनु दुःखद भएको बताउनुभयो । संघका कोषाध्यक्ष नेत्रप्रसाद पौडेल रमेशले खानेपानीसम्वन्धी संस्थानको ठोस प्रतिवद्धता जरुरी भएको भन्दै अहिले उपभोक्ताले पानीविनाको पैसा तिर्नु परेको दुःखेसो पोख्नु भएको थियो।
पोखरा खानेपानी संस्थानका प्रमुख कार्कीले सन् २०१५ तिरको पुरानो योजना अनुसार अघि बढेको प्रोजेक्ट भएका कारण जाइका ले ल्याएको पानीले पनि पोखरेलीको खानेपानी आबश्यकता पूरा गर्न नसकिएको स्वीकार गर्नुभएको थियो।पानिको चुहावट र चोरी पानीको अर्को समस्या भएको बताउनुभएको थियो। उभोक्तालाई चाहेजति पानी दिन पाए आफूहरुको पनि आम्दानी बढ्ने उनले सुनाए । संघले सहज पानी आपूर्तिका लागि सक्दो प्रयास अघि बढाउने प्रतिवद्धता जाहेर गर्नुभएको थियो।
पोखरा बासिलाइ प्रशोधित पानी पु-याउने उद्देश्यका साथ २०७४ भदौमा सम्झौता गरिएको ‘पोखरा खानेपानी सुधार आयोजना’को काम सकेर जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले नेपाल सरकारलाई हप्तान्तरण गरिसकेको छ । यो आयोजना बनाउन जापान सरकारको ४ अर्ब ८१ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ ।
आज सम्म पोखराको मुख्य पानीको श्रोत मर्दिखोला भएको र थप पानीको श्रोतको रुपमा यस आयोजनालाइ बिस्तार गरिएको हो भने यस अन्तर्गत दैनिक ४ लाख १० हजार लिटर पानीलाई शुद्धीकरण गरेर घर घरमा पठाउने योजना भए पनि पोखरामा दैनिक ८ करोड लिटर भन्दा बढी पानीको माग छ ।


