माघ ५ ,पोखरा
नेपाल क्योकुशिन (कान) कराते संघ कास्कीको आयोजनामा माघे सङ्क्रान्तिको अवसरमा पोखरा महानगरपालिका– ढुङ्गेसाँघु, टुटुङ्गामा सम्पन्न २५औँ माछापुच्छ्रे राष्ट्रिय फुल कन्ट्याक्ट कराते तथा ७औँ क्योकुशिन (कान) कराते प्रतियोगितामा खुला तौल समूहतर्फ पुरुषमा गण्डकी प्रदेशका मोशेस कुमाल र महिलातर्फ बाग्मती प्रदेशकी बिनिता घर्तिमगर च्याम्पियन बनेका छन्।
पुरुष खुला तौल समूहको फाइनल खेलमा मोशेस कुमालले मधेश प्रदेशका सबिन वाइबालाई पराजित गर्दै उपाधि हात पारे। सो समूहमा गण्डकी प्रदेशका अनिश बी.क. र मधेश प्रदेशका एलेक्स थापा मगर तृतीय स्थानमा रहे। महिलातर्फ खुला तौल समूहमा बाग्मती प्रदेशकी बिनिता घर्तिमगरले मधेश प्रदेशकी भवानी बुढाथोकीलाई पराजित गरिन्। गण्डकी प्रदेशकी प्रिन्स्मा नेपाली र समृद्धि तिमिल्सेनाले तृतीय स्थान हासिल गरे।
पुरुष ४० केजी तौल समूहमा गण्डकी प्रदेशका प्रतीक घले प्रथम, मधेश प्रदेशका कुन्दन साह द्वितीय तथा मधेश प्रदेशका रायन नेपाली र गण्डकी प्रदेशका सियोन थापा तृतीय भए। पुरुष ४५ केजी तर्फ मधेश प्रदेशका समीर भुजेल प्रथम, गण्डकी प्रदेशका सचिन सुनार द्वितीय तथा गण्डकी प्रदेशका कृपासन थपलिया र सयम कुमाल तृतीय स्थानमा रहे।
५० केजी तौल समूहमा गण्डकी प्रदेशका रविन गौतम प्रथम, कोशी प्रदेशका मोहम्मद अर्मान साफी द्वितीय तथा गण्डकी प्रदेशका कुशल तिवारी र मधेश प्रदेशका वाङ्जु दोर्जे मोक्तान तृतीय भए। ५५ केजी तर्फ कोशी प्रदेशका मोहम्मद अफ्ताव खान प्रथम, गण्डकी प्रदेशका लिला बहादुर बी.क. द्वितीय तथा गण्डकी प्रदेशका बसन्त बी.क. र लुम्बिनी प्रदेशका साजन नेपाली तृतीय भए।
महिला ४० केजी तौल समूहमा गण्डकी प्रदेशकी अनुष्का बी.क. प्रथम, आकाङ्क्षा नेपाली द्वितीय तथा हुमी बुढा मगर र स्वस्ती गौतम तृतीय भए। महिला ४५ केजी तर्फ गण्डकी प्रदेशकी ध्वज कुमारी नेपाली प्रथम, तृप्ती चापागाईं द्वितीय तथा सुदूरपश्चिम प्रदेशकी काजल कुमारी शाह र मधेश प्रदेशकी रेखा चौधरी तृतीय भए। महिला ५० केजी तर्फ गण्डकी प्रदेशकी करुणा गुरुङ प्रथम, एन्जल यादव द्वितीय तथा सुदूरपश्चिम प्रदेशकी अनिता स्याङ्बो लामा र गण्डकी प्रदेशकी ललिता छन्त्याल तृतीय स्थानमा रहिन्।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापाले गर्नुभएको थियो। उद्घाटन समारोहमा उहाँले पर्यटन र खेलकुद विकासका लागि प्रदेश सरकारको पूर्ण सहयोग रहने बताउँदै ऐतिहासिक तथा धार्मिक स्थलमा यस्ता साहसिक प्रतियोगिताले आन्तरिक पर्यटन प्रवर्द्धन र खेलकुद विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतियोगितामा सातै प्रदेशका करिब १५० जना खेलाडीहरूले ९ वटा तौल समूहमा ३६ पदकका लागि प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको उत्कृष्ट खेलाडी पुरुषतर्फ बाग्मती प्रदेशका सियोन थापा मगर र महिलातर्फ गण्डकी प्रदेशकी हुमी बुढा मगर घोषित भए।
यस राष्ट्रिय प्रतियोगिता नेपाल क्योकुशिन (कान) कराते संघ नेपालका ब्रान्च चिफ, फुल कन्ट्याक्ट कराते महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय खेलाडी एवं अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता श्री लक्ष्मण कुँवरज्यूको संयोजकत्वमा सम्पन्न गरिएको थियो।
कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष तथा नेपाल क्योकुशिन (कान) कराते संघका प्रमुख प्रशिक्षक श्री दीपक बहादुर गोदार, करातेका ब्रान्च चिफ तथा लालबन्दी नगर खेलकुद विकास समितिका सदस्य भीम प्रसाद काफ्ले, सिनियर खेलाडी तथा प्रशिक्षक दान बहादुर क्षत्री, पूर्व राष्ट्रिय खेलाडी तथा विशेष सहयोगी नरेश बहादुर जी.सी., करातेका केन्द्रीय डोजो प्रशिक्षक तथा नेपाल फुल कन्ट्याक्ट कराते महासंघका केन्द्रीय उपाध्यक्ष धन बहादुर तामाङलगायतलाई खेलकुद विकासमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
साथै, प्रतियोगिताको २५औँ वर्ष पूरा भएको उपलक्ष्यमा रजत जयन्ती पनि मनाइएको थियो। सो अवसरमा खेलाडीहरूबीच खुशी साटासाट गर्दै नाच–गानसहित उत्सव मनाइनुका साथै खेलप्रेमी सहयोगी व्यक्तिहरूलाई सम्मान तथा मायाको चिनो वितरण गरिएको थियो।






प्रतिक्रिया