फागुन ७, पोखरा
७६औ राष्ट्रिय प्रजातन्त्र दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै पोखरा–१९ लामाचौरमा आयोजित वृहत रक्तदान कार्यक्रम बाट ७७ युनिट रगत संकलन गरिएको छ।
अग्रणी सामाजिक संस्था नव आदर्श सामुदायिक विकास समाज ले आयोजना गरेको कार्यक्रमले उत्साहजनक सहभागिता पाएको हो।
कार्यक्रमको उदघाटन पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे र वडा नं. १६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाले संयुक्त रूपमा रक्तदाता नविन भण्डारी र बुद्धीबहादुर खत्री क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गर्दै गरेका कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।
२६ औँ संस्करणको उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले “स्वस्थ व्यक्तिले स्वेच्छाले दिएको रगतले बिरामीलाई नयाँ जीवन दिन सक्छ” भन्दै रक्तदानलाई सबैभन्दा ठूलो सामाजिक दायित्वको रूपमा चित्रित गरे। अध्यक्ष तिमिल्सिनाले पनि रक्तदानभन्दा ठूलो पुण्य कार्य अरू नहुने उल्लेख गर्दै संस्थाको निरन्तर सक्रियताको प्रशंसा गर्नुभएको थियो।
प्रादेशिक रक्त सञ्चार केन्द्र पोखरा का महेन्द्र केसीले प्रत्येक तीन–तीन महिनामा रक्तदान गर्दा शरीर स्वस्थ रहने जानकारी दिँदै नियमित रक्तदानप्रति सचेत गराउनु भएको थियो।
कार्यक्रममा समाजका पूर्व अध्यक्ष नविन भण्डारीलाई २५ औँ पटकसम्म नियमित रक्तदान गरेको योगदानका लागि विशेष सम्मान गरिएको थियो। सोही अवसरमा आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको सहसचिव राजकुमार पौडेलले जानकारी दिनुभयो।
समाजका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य द्वितीय उपाध्यक्ष हरिबहादुर थापाले आफ्नो धारणा राख्नुभएको थियो भने कार्यक्रम समाजका सचिव शोभा बाँनियाले सञ्चालन गर्नुभएको थियो।
रक्तदान कार्यक्रममा एलसी ब्रदर्श युनाइटेड, युवा रेडक्रस सर्कल गण्डकी मावि, जुनियर रेडक्रस सर्कल इन्द्रराज्यलक्ष्मी मावि तथा अनुग्रहको सत्सङ्ग लामाचौरको सहकार्य रहेको थियो।
प्रजातन्त्र दिवसको अवसरमा गरिएको यो रक्तदान अभियानले ‘उत्सव मात्र होइन, उपयोगी योगदान पनि हो’ भन्ने सन्देश दिएको आयोजकको भनाइ छ।






प्रतिक्रिया