Worldlink Communications

पोखरा महानगरपालिका मेयर धनराज आचार्य जापान जादै

बैशाख ७,पोखरा

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य एक महत्त्वपूर्ण सम्झौता गर्न जापानका लागि प्रस्थान गर्नुभएको छ ।जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को औपचारिक निमन्त्रणामा प्रमुख आचार्य जापान जान लाग्नु भएको हो ।

पोखराबाट आजै काठमाडौँ प्रस्थान गर्नुभएका प्रमुख आचार्य भोलि नेपाल एयर लाइन्सको विमान मार्फत जापान पुग्नुहुनेछ ।जाइकाको सहयोगमा पोखरा महानगरपालिका भित्र व्यवस्थित ढल निकास तथा फोहोर पानी प्रशोधन केन्द्र स्थापनाको सम्भाव्यता अध्ययन सम्पन्न भई डिपिआर समेत तयार भइसकेकाले सो परियोजना सञ्चालनका सम्बन्धमा सम्झौता गर्न प्रमुख आचार्य जापान जान लाग्नु भएको हो।

प्रमुख आचार्यको नेतृत्वमा जापान जान लागेको सात सदस्यीय टोलीमा ३ जना इन्जिनियर सहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक रामकुमार श्रेष्ठ र खानेपानी मन्त्रालयकी सहसचिव मैना श्रेष्ठ समेत हुनुहुन्छ । पोखरा महानगरपालिकाको तर्फबाट इन्जिनियर विवेक कुमार क्षेत्री जापान गइसक्नु भएको छ । हाल उहाँ जापानमा यही परियोजनासँग सम्बन्धित २१ दिने तालिम मा सहभागी हुनुहुन्छ ।

फोहोर पानीको प्रशोधन केन्द्र सञ्चालन गर्दा वातावरणीय स्वच्छता प्रवर्द्धन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “अव हामीले आकाशबाट पर्ने पानी, भान्साबाट निस्कने पानी, बाथरुमबाट निस्कने पानी लगायत ढलमा मिसाइएका कुनै पनि चिजलाई यत्तिकै छोड्न मिल्दैन, उहाँले भन्नुभयो, यसले वातावरण प्रदूषण भइरहेको छ, भन्ने विश्वव्यापी रूपमा नै चिन्तन भइरहेका बेला पोखराका विभिन्न चार स्थानमा पोइन्टहरु निर्धारण गरी जाइकाले यसमा सहयोग गर्ने भएको हो । जानेर वा नजानेर हाम्रा ढलहरू सिधै खोलामा मिसिने गरेका छन्। ११ अरब रुपैयाँ लागतको यो परियोजना अब यो योजनाले फोहोर पानीलाई प्रशोधन गरेर मात्र खोलामा मिसाइनेछ” ।

जापान भ्रमणका क्रममा उहाँले कोल पाटनमा निर्माण गरिएको पानी ट्याङ्कीको विषय समेत टुङ्गोमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । हाल उक्त ट्याङ्की हटाउन मात्रै पनि ४३ करोड रुपैयाँ लाग्ने बताइएको छ । यसका सम्बन्धमा अव के गर्ने भन्ने विषयमा समेत त्यहाँको सम्बन्धित निकायसँग छलफल गर्ने उहाँले बताउनुभयो । दिगो विकासको लक्ष्य अनुसार सन २०३० सम्म सबै सहरमा व्यवस्थित ढल निकासको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।जाइका कै सहयोगमा सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाको काम भने अन्तिम चरणमा पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्: