Worldlink Communications

नगरप्रमुख आचार्य र जापानका राजदूत किकुता बिच भेटवार्ता

असोज २२, पोखरा

नेपालका लागि जापानी राजदूत किकुता युताका र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यबिच भेटवार्ता भएको छ । प्रमुख आचार्यको कार्यकक्षमा भएको भेटवार्तामा दुईपक्षिय मित्रवत् सम्बन्ध, सहयोग तथा साझेदारी लगायतका विषयहरुमा छलफल भएको छ । छलफलका क्रममा प्रमुख आचार्यले महामहिम राजदूत किकुताको पोखरा भ्रमण दुई देशहरु जापान र नेपालबिचको चिरस्थायी मित्रताको लागि महत्वपूर्ण पक्षका रूपमा लिएको बताउनुभयो ।

“हाम्रा राष्ट्रहरू वर्षौँ देखि मित्रता र सहयोगको बन्धनमा एकाकार हुँदै आएका छन्, जुन पारस्परिक सम्मान र भलाइका लागि सँगै काम गर्ने प्रतिबद्धतामा आधारित छ, उहाँले भन्नुभयो, पोखरा लगायत समग्र नेपालको विकास यात्रामा जापान एक दृढ साझेदारका रूपमा रहँदै आएको छ ।” जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निमन्त्रणामा आफूले जापानको भ्रमण गरेको स्मरण गराउँदै प्रमुख आचार्यले त्यस बखत पोखराको फोहरमैला व्यवस्थापनका लागि गुरुयोजना निर्माण गर्ने सहकार्य गरिएको बताउनुभयो । जापानले जाइका मार्फत सम्पन्न हुने क्रममा रहेको खानेपानी आयोजना लगायत पोखरामा सञ्चालित महत्वपूर्ण विकास परियोजनाहरूमा दृढ र समर्पित साझेदारको भूमिका निर्वाह गर्दै आएको प्रमुख आचार्यले बताउनुभयो ।

“जापानको कोमागाने सहरसँग सन् २००१ देखि नै पोखराको भगिनी सम्बन्ध छ, यस सम्बन्धले दुई सहरलाई मात्र नभई दुई देशहरू बिचमा स्थायी रूप मै सांस्कृतिक आदानप्रदान, सहकार्य र जनस्तरको सम्बन्धलाई सुदृढ बनाइरहेको छ, उहाँले भन्नुभयो, जापानले निरन्तर रूपमा पोखराको सामाजिक, आर्थिक र सांस्कृतिक प्रगतिमा आफ्नो प्रतिबद्धता व्यवहारिक रूप मै देखाएको छ, यस प्रति पोखरा महानगरपालिका सदैव कृतज्ञ छ ।” पोखरालाई निकट भविष्यमा पर्यटनको राजधानी सहरका रूपमा घोषणा गर्ने तयारी गरिएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा र जापानका विभिन्न सहरहरू बिच नियमित अन्तर्राष्ट्रिय उडान भर्ने वातावरण तयार गर्न राजदूत किकुता मार्फत जापान सरकारलाई आग्रह गर्नुभयो ।

जाइका मार्फत जापान सरकारको सहयोगमा सञ्चालित परियोजनाहरू समयमा सम्पन्न गर्न र पोखराको आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार निर्माणका क्षेत्रहरूमा लगानी बढाउन समेत उहाँले आग्रह गर्नुभयो । पोखरा खानेपानी सुधार आयोजना अन्तरगत पोखरा–१५ कोलपाटनमा निर्माणाधीन ओभर हेड वाटर ट्याङ्क (खानेपानी ट्याङ्की) को समस्या समाधानका लागि समेत उहाँले आवश्यक पहल गरिदिन राजदूत किकुतालाई अनुरोध गर्नुभयो । हालसम्म निर्माणमा १४ करोड रुपैयाँ खर्च भएको ट्याङ्कीलाई काटेर पुनः प्रयोगमा ल्याउन करोडौँ रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

जवाफमा राजदूत किकुताले पानी ट्याङ्कीको समस्या पोखरा महानगरपालिकाको मात्र नभई राजदूतावास, जाइका र नेपाल सरकारको समस्या भएको बताउनुभयो । यो साझा समस्याको समाधानका लागि सबै सरोकारवालाहरू बिच छलफल तथा समन्वय गर्नुपर्ने उहाँले बताउनुभयो । जापान सरकारको कार्यान्वयन इकाइका रूपमा जाइका मार्फत सञ्चालित परियोजनाहरूको गुणस्तर र प्रतिफल पोखरेली जनताको जीवनसँग जोडिने विषय भएकाले यसमा कुनै प्रकारको कमजोरी हुन नदिने राजदूत किकुताले विश्वास दिलाउनुभयो । पोखरालाई जापानका सहरहरूसँग हवाई सेवाले जोड्ने विषयमा जापान सरकारसँग आवश्यक समन्वय गर्ने उहाँले बताउनुभयो । पोखराको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा साझेदारी गर्न जापान सरकार सदैव सकारात्मक रहेको सन्देश राजदूत किकुताले सुनाउनुभयो ।

राजदूत किकुता जापान सरकारको तर्फबाट मातृशिशु मितेरी अस्पतालका लागि स्वास्थ्य उपकरणहरू लिएर पोखरा आउनुभएको हो । बुधवार जापान सरकारको तर्फबाट बाटुलेचौर स्थित मातृशिशु मितेरी अस्पताललाई राजदूत किकुताले स्वास्थ्य उपकरणहरू उपहार स्वरूप प्रदान गर्ने कार्यक्रम छ । राजदूत किकुतासँगै दूतावासकी आर्थिक सहयोग सम्बन्धी प्रथम सचिव इशिदा मियुकी पनि पोखरा आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्: