Worldlink Communications

माता अन्नपूर्णाको मुर्ति सभापति शुक्रराज शर्माद्वारा पुर्नस्थापना

कार्तिक १२, पोखरा

कास्की र पर्वत जिल्लाको सीमानामा रहेको अन्नपूर्णा मन्दिरमा शनिबार एक कार्यक्रमका विच माता अन्नपूर्णा र गोरखनाथ कुदिएको मुर्ति नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पुर्नस्थापना गर्नुभएको छ ।

२०६८ सालमा स्थापना भएको मुर्ति खण्डित भएको र खण्डित मुर्ति पुज्नको लागि योग्य नहुने र अनिष्ट हुने मान्यता अनुसार उक्त मुर्ति लाई विधिवत क्षमा पुजा गरी मोदी खोलामा विर्सजन गराएर नयाँ शिलाको मुर्ति विधिवत प्राणप्रतिष्ठा सहित स्थापना गरिएको हो ।

श्री अन्नपूर्णा माता मन्दिर तीर्थ क्षेत्र गण्डकी प्रदेशकै एक मात्र रहेको र यस क्षेत्रलाई धार्मीक पर्यटकीय स्थलको रुपमा प्रवद्र्धन गर्न सकिने भएको हुँदा मुक्तिनाथ, दामोदरकुण्ड र कैलाश मानसरोवर जाने हजारौं तीर्थ यात्रीहरुलाई सेवा पुर्याउने महान लक्ष्य राखेर आगामी दिनमा कार्यक्रम ल्याउने प्रदेश सभापति शर्माले जानकारी गराउनुभएको ।

कार्यक्रममा बोल्दै सभापति शर्माले अन्नपूर्णा माताको गरिमा अत्यन्तै महत्वपूर्ण रहेको र साक्षात शिव शक्तिलाई माता अन्नपूर्णा मार्फत भक्ति समाजमा पुर्याएर जनजनको सेवा पूर्ण गर्ने भएको हुँदा उहाको नाम अन्नपूर्णा भएको बताउनुभएको थियो।

अन्नपूर्ण देवी सनातन परम्परादेखी पूजा गर्ने देवी हुन्। उनको अर्को नाम ’अन्नदा’ हो। जीवलाई खुवाउने पहिलो आमा भएकोले अन्नपूर्णा माता भनेर शक्तिको रूपमा परिचित हुनुहुन्छ ।

अन्नपूर्णा देवी सनातन धर्ममा मान्यता प्राप्त देवी–देवताहरूमध्ये विशेष गरी पूजनीय छ। उनलाई सारा संसारको शासन गर्ने माता जगदम्बाको रूप मानिन्छ। यो जगदम्बाको अन्नपूर्ण रुपले संसार पोषित छ, भन्नुभयो ।

लक्ष्मीनारायण भुज, बहुदल ठाकुर लगायत ५ जना अन्नपूर्ण वेश क्याम्प पद मार्ग जाँदा लक्ष्मीनारायण भुजको ईच्छानुसार यस ठाउँमा अन्नपूर्णा माताको तीर्थ मन्दिर स्थापना गरिएको बहुदल ठाकुरले बताउनुभएको थियो ।

अन्नपूर्ण गाउपालिका वडानं. ५ का अध्यक्ष जीवनाथ पौडेल (शंकर), श्री अन्नपूर्णा माता मन्दिर तीर्थ क्षेत्रका अध्यक्ष नरहरी पौडेल, सचिव धन बहादुर केसी, आध्यात्मिक अनुष्ठानमा संलग्न बासुदेव पौडेल, गोविन्द केसी, मुक्तिनाथ अन्नदाता क्षेत्र समितिका अध्यक्ष प्रकाश भट्टराई, मन्दिर निर्माण संयोजक कृष्ण चापागाई लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया दिनुहोस्: