साउन ३१,पोखरा
नव आदर्श सामुदायिक विकास समाज, लामाचौरले आफ्नो ३०औँ वार्षिक उत्सव समारोह तथा तीज महोत्सव–२०८३ को अवसरमा यही भदौ २७, २८ र २९ गते श्री इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालय को प्राङ्गणमा “लामाचौर तीज महोत्सव–२०८३” भव्य तथा सभ्य रूपमा आयोजना गर्ने भएको छ।
संस्थाका अध्यक्ष इन्जिनियर दिनेश भण्डारीका अनुसार राष्ट्रको खेलकुद विकास र विस्तारमा सहयोग पुर्याउने, भाइचाराको सम्बन्ध सुदृढ बनाउने, नवप्रतिभावान खेलाडीहरूलाई उत्कृष्ट खेल प्रदर्शनका लागि अवसर प्रदान गर्ने, युवाहरूमा रहेको अन्तर्निहित क्षमताको प्रस्फुटन गराउने, महिलाहरूको गायन तथा प्रस्तुति कलालाई प्रोत्साहन गर्ने, गीत, संगीत र नृत्यको संरक्षण तथा प्रवर्द्धन गर्ने तथा विभिन्न सामाजिक संघसंस्थाहरूलाई नयाँ मार्ग प्रशस्त गर्दै निरन्तरता दिने उद्देश्यले विगत धेरै वर्षदेखि यस्ता कार्यक्रमहरू सञ्चालन हुँदै आएको जानकारी दिनुभयो।
उहाँका अनुसार संस्थाले भविष्यमा “लामाचौर एकेडेमी” स्थापना गरी विभिन्न उमेर समूहका फुटबल खेलाडी उत्पादन गर्ने दीर्घकालीन लक्ष्यसमेत राखेको पनि बताउनुभयो ।
महोत्सवका प्रमुख आकर्षणहरूमा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिता, लामाचौर कप अन्तरमावि छात्रा भलिबल प्रतियोगिता, अन्तर महिला समूह तीज गीत प्रतियोगिता, अन्तर विद्यालय लोकनृत्य प्रतियोगिता, औद्योगिक तथा व्यापारिक प्रदर्शनी स्टलहरू तथा राष्ट्रिय कलाकारहरूद्वारा प्रस्तुत गरिने साथै स्थानीय रूपमा विभिन्न किसिमका झाँक्रीहरु र बिविध सांस्कृतिक कार्यक्रम हरू प्रस्तुत गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
खुला पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टोलीलाई नगद रु. ३ लाख १११, द्वितीय हुने टोलीलाई रु. १ लाख ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट विधाका खेलाडीलाई रु. ४० हजार सहित कप, मेडल, ट्रफी तथा अन्य पुरस्कार प्रदान गरिनेछ।
त्यसैगरी, लामाचौर कप अन्तरमावि छात्रा भलिबल प्रतियोगितामा प्रथम हुने विद्यालयलाई रु. १ लाख १११ र द्वितीय हुने विद्यालयलाई रु. ५० हजार १११ पुरस्कार प्रदान गरिनेछ। साथै सर्वोत्कृष्ट महिला खेलाडी तथा उत्कृष्ट विधाका खेलाडीलाई रु. ४० हजार सहित कप, मेडल, ट्रफी तथा अन्य पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
अन्तर महिला समूह खुला तीज गीत प्रतियोगितामा प्रथम पुरस्कार रु. ५० हजार १११, द्वितीय पुरस्कार रु. ३० हजार १११, तृतीय पुरस्कार रु. २० हजार १११ तथा सान्त्वना पुरस्कार रु. १० हजार १११ प्रदान गरिनेछ।
त्यस्तै, अन्तरविद्यालय लोकनृत्य प्रतियोगितामा प्रथम पुरस्कार रु. ४० हजार १११, द्वितीय पुरस्कार रु. २५ हजार १११, तृतीय पुरस्कार रु. १५ हजार १११, सान्त्वना पुरस्कार तीन समूहलाई जनही रु. ५ हजार १११ तथा उत्कृष्ट भेषभूषा पुरस्कार रु. ५ हजार १११ प्रदान गरिने व्यवस्था गरिएको छ।
संस्थाले कार्यक्रम सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत विभिन्न संघसंस्था, देश तथा विदेशमा रहेका सहयोगी, शुभेच्छुक तथा दाताहरूबाट प्राप्त सहयोग र भलिबल प्रतियोगिताका क्रममा बिक्री हुने टिकटबाट जुटाइने जनाएको छ। कार्यक्रम सम्पन्न भए पछि बचत हुने रकम सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा खर्च गरिने अध्यक्ष भण्डारीले जानकारी दिनुभयो।
उहाँका अनुसार बचत रकम शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा सहयोग, ज्येष्ठ नागरिकको हितका कार्यक्रम, एम्बुलेन्स सञ्चालनमा सहयोग, अपाङ्गता भएका व्यक्तिहरूको सहयोग, रक्तदान कार्यक्रम, सरसफाइ अभियान, राष्ट्रिय नारी दिवसका अवसरमा सञ्चालन हुने कार्यक्रम, मानव सेवा आश्रम सहयोग, लामाचौर क्षेत्रको सौन्दर्यी करण, विद्यालय सहयोग कार्यक्रम, शैक्षिक प्रोत्साहन कार्यक्रम तथा विभिन्न सामाजिक संघसंस्थाहरूलाई सहयोग गर्न प्रयोग गरिँदै आएको छ।
महोत्सवलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन २४ वटा विभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको पनि संस्थाले जनाएको छ। गठन गरिएका उपसमितिहरूमा अर्थ संकलन उपसमिति, खेलमैदान विकास उपसमिति, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र व्यवस्थापन उपसमिति, शिक्षा तथा स्रष्टा सम्मान उपसमिति, स्वास्थ्य तथा आकस्मिक सेवा व्यवस्थापन उपसमिति, कौशिला पुस्तकालय तथा अनुसन्धान केन्द्र व्यवस्थापन उपसमिति, कार्यालय व्यवस्थापन उपसमिति, खेलकुद व्यवस्थापन उपसमिति, सुरक्षा व्यवस्थापन उपसमिति, स्वागत तथा सत्कार व्यवस्थापन उपसमिति, सांस्कृतिक व्यवस्थापन उपसमिति, सूचना तथा प्रचारप्रसार उपसमिति, डिजिटल बोर्ड तथा ब्यानर व्यवस्थापन उपसमिति, सरसफाइ व्यवस्थापन उपसमिति, मञ्च, प्याराफिट तथा स्टल व्यवस्थापन उपसमिति, टिकट व्यवस्थापन उपसमिति, बजार व्यवस्थापन उपसमिति, युवा परिचालन उपसमिति, यातायात तथा पार्किङ व्यवस्थापन उपसमिति, खाना, खाजा तथा भान्सा व्यवस्थापन उपसमिति र प्रकाशन उपसमितिलगायतका समिति रहेका छन्।
विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि महोत्सवलाई अझ व्यवस्थित, भव्य र सफल बनाउन सम्पूर्ण उपसमितिहरू सक्रिय रूपमा परिचालित भइसकेको अध्यक्ष इन्जिनियर दिनेश भण्डारीले जानकारी दिनुभयो। उहाँले खेलकुद, संस्कृति, सामाजिक एकता तथा सामुदायिक विकासलाई एकै मञ्चमा जोड्ने यस महोत्सवमा सहभागी भई कार्यक्रमको गरिमा बढाइदिन सम्पूर्ण पोखरेली तथा शुभेच्छुकहरूलाई आग्रह गर्नुभएको छ।






प्रतिक्रिया