Worldlink Communications

पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत फुटबल, कबड्डी, खोखोका खेल सुरु

मंसिर १३ पोखरा

पोखरामा जारी पाँचौ युनिप्स खेल महोत्सव अन्तर्गत बुधबार (आज) फुटबल, कबड्डी, खोखोका खेल सुरु भएका छन् ।

संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा तेश्रो दिन छात्र मावीतर्फ फुटबल, छात्रा मावीतह खोखो र आधारभुत तह कक्षा १–५ अन्तर्गत छात्र/छात्रा कबड्डीका खेलहरु सुरु भएका हुन् ।

प्रतियोगितामा मावी छात्रतर्फ भएको फुटबलमा वेलनन एकेडेमी, स्माइल स्मल हेभन बोर्डिङ स्कुल, होली एन्जल र एकता अन्तिम चारमा प्रवेश गरेका छन् । प्रतियोगितामा फुटबलतर्फ १० टिमको सहभागिता रहेको थियो ।

वेलननले शिलसिला लाई ६–० र पिनाकललाई टाइव्रेकरमा ३–१ गोलले पराजित गर्दै सेमीफाइनल यात्रा शुरक्षित गरेको हो । त्यस्तै एकताले टाइव्रेकरमा कालिकालाई ४–३ र होली एन्जलले माउन्ट हेभनलाई ६–० ले र गेफलाई ३–१ गोलले पराजित गरि सेमीफाइनलमा प्रवेश गरेको छ । फुटबलको सेमीफाइनल खेल भोली सञ्चालन हुने आयोजकले जनाएको छ ।

त्यस्तै मावी छात्रतर्फ भएको खोखो प्रतियोगितामा कालिका इङलिश सेकेण्डरी प्रथम, एकता दोश्रो, वेलनन तेश्रो र शिलसिला चौथो भएको छ । कालिकाले फाइनलमा एकतालाई १३–७ अंकले पराजित गर्न सफल भएको हो ।

आधारभुत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डी अन्तर्गत आज पहिलो चरणका खेलहरु सम्पन्न भएको पाँचौ युनिप्स खेलकुद महोत्सव उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिएका छन् । कबड्डी छात्रतर्फ ६ र छात्रा तर्फ ५ गरि कुल १२ खेलहरु सम्पन्न भएका छन् । कवड्डीतर्फ कुल २४ टिमको सहभागिता रहेको छ ।

खेल महोत्सव अन्तर्गत बिहिबार मावी स्तरिय (कक्षा ९–१०) छात्र फुटबलको सेमीफाइनलका खेल र आधारभुत तह (कक्षा १–५) छात्र/छात्रा कवड्डीका खेलहरु जारी रहने युनिप्सका अध्यक्ष शान्त बहादुर गुरुङले जानकारी दिएका छन् । महोत्सवको औपचारिक उद्घाटन भोली १४ गते बिहिबार पोखरा रंगशालामा हुनेछ । जस अन्तर्गत एथलेटिक्सका खेल संगै मार्चपास समेत हुने अध्यक्ष गुरुङले बताए ।

प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका छन् । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिव सुवेदीले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्: