असोज ३०,पोखरा
मुस्ताङ र जुम्लामा उत्पादित स्थानीय स्याउ अब पोखरा १६ को अमरदिपमा सहुलियत मूल्यमा पाइने भएको छ।
पोखरा महानगरपालिका वडा न.१६ र १९ को सिमानामा पर्ने अमरदीपस्थित देउराली कृषि फर्मले विजयादशमीलाई लक्षित गर्दै स्याउ मेला सुरु गरेको हो।
मेलामा गोल्डेन, रोयल र रेड डेलिसियस जातका स्याउ प्रतिकिलो १८० देखि २७० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
फर्मका सञ्चालक वासुदेव तिवारीले विगत तीन वर्षदेखि मुस्ताङ र जुम्लाका किसानबाट स्याउ सिधै खरिद गरी पोखराका उपभोक्ता सम्म पुर्याउँदै आउनुभएको छ। किसान र उपभोक्ताबीचको दूरी घटाउँदै बिचौलियाको भूमिका कम गर्ने र उपभोक्तालाई गुणस्तरीय स्याउ उपलब्ध गराउने उद्देश्यले मेला आयोजना गरिएको उहाँले बताउनुभयो।
मेलाको शुभारम्भ गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले स्थानीय उत्पादन सहुलियत मूल्यमा उपलब्ध गराउने प्रयास सकारात्मक रहेको बताउनुभयो। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका निमित्त प्रमुख युवराज गुरुङले स्थानीय स्याउको बजारी करण सँगै पर्यटन प्रवर्द्धनमा समेत जोड दिनुपर्ने बताउनुभयो।
महानगरपालिकाका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरिया र पोखरा व्यावसायिक प्रवर्द्धन केन्द्रका प्रमुख नवराज अधिकारीले पनि स्थानीय उत्पादनको बजार विस्तारमा यस्ता कार्यक्रमले सहयोग पुर्याउने धारणा राख्नुभएकय थियो।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै किसानको उपज उपभोक्ता सम्म पुर्याउने पहलले नेपाली स्याउको बजार विस्तार र उपभोक्ता लाई सहुलियतमा फलफूल उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।







प्रतिक्रिया