Top Header Ad 1

नेपाली मूलका प्रहरी बिकास भारतीलाई राष्ट्रिय बहादुरी पुरस्कार, प्रधानमन्त्री अल्बानिजीद्वारा प्रशंसा

नेपाली मूलका प्रहरी बिकास भारतीलाई राष्ट्रिय बहादुरी पुरस्कार, प्रधानमन्त्री अल्बानिजीद्वारा प्रशंसा

परिबर्तन न्युज
२२ कार्तिक २०८३ बजे
परिबर्तन न्युज
२२ कार्तिक २०८३

कार्तिक २१, सिड्नी, अस्ट्रेलिया।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले सिड्नीमा आयोजित नेपाल फेस्टिभल २०२६ को उद्घाटन गर्दै नेपाली समुदायको सांस्कृतिक पहिचान, विविधता र अस्ट्रेलियाली समाजमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आयोजनामा शनिबार सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालङ पार्कमा आयोजित महोत्सवमा प्रधानमन्त्री अल्बानिजी सहभागी भएका हुन्।

Advertisement:Ad

कार्यक्रममा उनले नेपाल विभिन्न जातजाति, भाषा, संस्कृति र चाडपर्वले धनी देश भएको उल्लेख गर्दै अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमा नेपाली समुदाय महत्वपूर्ण हिस्सा बनेको बताएका थिए।

नेपाली मूलका प्रहरी बिकास भारतीको बहादुरीको चर्चा

यसैबीच, अस्ट्रेलियाको प्रहरी सेवामा कार्यरत नेपाली मूलका प्रहरी अधिकारी बिकास भारतीले राष्ट्रिय बहादुरी पुरस्कार प्राप्त गरेपछि नेपाली समुदायमा खुसी छाएको छ।

न्यु साउथ वेल्स प्रहरीअन्तर्गत बर्वुड पुलिस एरिया कमान्डमा कार्यरत सिनियर कन्स्टेबल भारतीलाई सन् २०२६ को National Bravery Award प्रदान गरिएको हो।

सन् २०२५ अक्टोबर ५ मा सिड्नीको क्रोएडन पार्कमा भएको गोली प्रहारको घटनामा उनी पहिलोपटक घटनास्थल पुग्ने प्रहरीमध्ये एक थिए। आफूमाथि समेत गोली प्रहार भइरहेको अवस्थामा उनले कनिष्ठ सहकर्मीलाई सुरक्षित स्थानमा पठाउनुका साथै घाइते सर्वसाधारणको उद्धारमा सहयोग गरेका थिए।

उनको यही साहस र कर्तव्यनिष्ठाको कदर गर्दै अक्टोबर २८ मा क्यानबेरामा आयोजित समारोहमा पुरस्कार प्रदान गरिएको थियो।

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजीले अक्टोबर २९ मा संघीय संसद्मा सम्बोधन गर्दै भारतीको साहस र सेवाभावको विशेष प्रशंसा गरेका थिए।

नेपालमा आएको बाढीबारे प्रधानमन्त्री बालेन्द्र शाहसँग संवाद

नेपालमा आएको बाढी तथा त्यसबाट उत्पन्न विपद्का विषयमा आफूले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग कुराकानी गरेको प्रसंग पनि अल्बानिजीले उल्लेख गरेका थिए।

नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध, विपद्का समयमा देखिएको सहयोग तथा दुई देशबीचको सहकार्यलाई उनले महत्वपूर्ण रूपमा प्रस्तुत गरेका थिए।

नेपाल फेस्टिभल २०२६ मा नेपाली कला, संस्कृति, भेषभूषा, खानपान, संगीत तथा परम्परागत प्रस्तुतिहरू समावेश गरिएको छ। तिहारको अवसरमा आयोजित महोत्सवमा नेपालबाट आएका कलाकार प्रकाश सपुत, रचना रिमाललगायतको सांगीतिक प्रस्तुति पनि मुख्य आकर्षणका रूपमा रहेको छ।

नेपाली संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय समुदायमाझ चिनाउने तथा अस्ट्रेलियामा रहेका नेपाली पुस्ताबीच आफ्नो भाषा, संस्कृति र परम्परासँगको सम्बन्ध बलियो बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज