Worldlink Communications

दिउँसै पोखरामा रात पर्यो गण्डकी प्रदेशका सम्पूर्ण मन्त्रालय र सिंगो जिल्ला प्रशासन कार्यालय धुवामा जल्दा सुरक्षा बल हेरेको हेरै

भदौ २४, पोखरा

भ्रष्टाचारबिरुद्द आन्दोलनमा होमिएको जेनजीले पोखरास्थित गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयसहित सबै मन्त्रालयहरुमा तोडफोड तथा आगजनी गरेका छन् ।

जेनजी प्रदर्शनकारीहरुले पोखरास्थित सबै सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन् ।उनीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय भित्रै पसेर आगजनी गर्नुका साथै तोडफोड गरेका थिए । त्यस्तै, गण्डकी प्रदेशका अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय, सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालयमा आगजनी गरेका हुन् ।

प्रदर्शनकारीले गण्डकी प्रदेश सभामा पनि आगजनी र तोडफोड गरेका थिए । ठूलो संख्यामा पुगेका जेनजी प्रदर्शनकारीले प्रदेश सभा कार्यालय परिसर प्रवेश गरेर आगजनीसँगै तोडफोड गरेका थिए भने प्रदर्शनकारीले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सरकारी निवास पनि तोडफोड तथा आगजनी गरेका हुन।

जेनजी प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा आगजनी तथा तोडफोड गर्नुका साथै उनीहरुले महानगरपालिका परिसर भित्रै प्रवेश गरेर तोडफोड क्रममा उनीहरुले महानगरपालिका का प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत जयराम आचार्यलगायत चढ्ने गाडी त्यहाँ रहेका सबै मोटरसाईकलहरुमा आगजनी गरेका थिए।

प्रदर्शनकारीले पोखरा महानगरका अधिकांश वडा कार्यालयमा आगजनी गरेका छन् । सरकारी कार्यालय र सरकारी पदाधिकारी बस्ने घर तथा निवासमासमेत उनीहरुले आक्रमण तथा आगजनी गरेका छन् । उनीहरुले पोखरा महानगरपालिका–१, ३, ५, ८, ९, १०, ११, १२, १३ १६,१९,२५ लगायतका वडा कार्यालयमा आगजनी गरेका थिए ।

प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय कास्की र बगर प्रहरी कार्यालय , छुरीपाटन प्रहरी चौकी,लेखनाथस्थित ईलाका प्रशासन कार्यालयमासमेत आगजनी गरेका थिए । उनीहरुले उच्च अदालत पोखरा र जिल्ला अदालत कास्कीमा पनि आगजनी गरेका थिए। उनीहरुले अख्तियार दूरुपयोग तथा अनुसन्धान कार्यालयमासमेत तोडफोड र आगजनी गरेका थिए ।प्रदर्शनकारीले विभिन्न प्रहरी विट तथा ट्राफिक विटमा पनि आगजनी गरेका थिए । प्रहरी तथा ट्राफिक कम भएका विटहरुमा उनीहरुले आक्रमण गरेर आगजनी तथा तोडफोड गरेका थिए।

प्रदर्शनकारीले सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापा चढेको गाडी जलाएका छन् भने उनको न्यूरोड स्थित घरमा तोडफोड गरेका छन् भने ४ होटल तथा रिसोर्टमा समेत तोडफोड तथा आगजनी गरेका थिए । मन्त्री थापाले सञ्चालन गरेको लेकसाईडमा रहेको अंशुवरा होटल, गण्डकी प्रदेश सभा सदस्य गणेशमान गुरुङले सञ्चालन गरेको होटल गुडविल, गण्डकी प्रदेश सभा सदस्य पम्फा पहारीको परिवारले सञ्चालन गरेको होटल एडम र माओवादी निकट जितु गुरुङले सञ्चालन गरेको बरपिपल रिसोर्टमा आगजनी गरेका थिए ।प्रदर्शनकारीले पोखरास्थित नेकपा एमाले कास्की जिल्ला पार्टी कार्यालय र गण्डकी प्रदेश कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए।प्रदर्शनकारीले पोखरा महानगर पालिकाका प्रमुख (मेयर) धनराज आचार्यको घर, मेयर आचार्य र उनका भाई शिवराज आचार्य लगायतले सञ्चालन गरेको पोखरा ईभेन्ट सेन्टरमा पनि आगजनी तथा तोडफोड गरेका थिए।

आन्दोलनकारीहरूले पोखरा सिर्जनाचोकस्थित एनसेलको कार्यालय जिल्ला समन्वय समिति कास्की , शिक्षा समन्वय समिति कास्की लगायतका विभिन्न कार्यालयहरूमा तोडफोड गर्नुका साथै आगजनी गरेका थिए।

प्रदर्शनकारीले पोखरा पृथ्वीचोकमा रहेको लखन थापा मगरको शालिक हटाएर पृथ्वीनारायण शाहको शालिक ठड्याएका छन् । कार्यालयहरू नजिकै भएको कारणले गर्दा पनि र भीषण आगजनीका कारण धुवाँको मुस्लोले पोखरा देउसी रात परेको जस्तो देखिन्थ्यो । पोखरा महानगरपालिकामा केही समय राज्यको उपस्थिति रहेपनि त्यसपछिको समय भने राज्यको उपस्थिति सुन्ने प्राय भएकोले गर्दा पनि कास्की जिल्ला जिल्लामा आन्दोलनकारी हरूले सबै कार्यालयहरू तोडफोड तथा आग्जनी गर्न सहज भएको आन्दोलनमा सहभागीहरुले बताएका थिए। त्यति हुँदाहुँदै पनि समाचार तयार पार्दासम्म मानवीय क्षति भएको अहिलेसम्म थाहा हुन आएको छैन।

प्रतिक्रिया दिनुहोस्: