फागुन १८, पोखरा
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लोकतन्त्रको उत्सवका रूपमा लिँदै सम्पूर्ण मतदाताले नेपाल र नेपालीहरुको उज्वल भविष्यका लागि निर्धक्क र निस्वार्थ रूपमा आफ्नो मत प्रयोग गर्न आह्वान गरिएको छ।
निर्वाचन केवल प्रतिनिधि छान्ने प्रक्रिया मात्र होइन, यो देशको दिशा तय गर्ने ऐतिहासिक अवसर हो। मतदाता नै राज्यसत्ताका वास्तविक मालिक हुन्। त्यसैले कसैको दबाब, प्रभाव, प्रलोभन वा डर बिना आफ्नो विश्वास, मूल्य र विवेकअनुसार मत दिनु नै सच्चा लोकतान्त्रिक अभ्यास हो।
मत हाल्ने बेला मतदाताले देश र जनताले खोजेको आशा–भरोसा पूरा गर्न सक्ने, दीर्घकालीन निकास दिन सक्ने, विकासप्रेमी र जिम्मेवार नेतृत्व तथा पार्टीको छनोट गर्नुपर्ने आवाज उठेको छ। क्षणिक स्वार्थभन्दा माथि उठेर राष्ट्रहित, स्थिरता, सुशासन र पारदर्शितालाई प्राथमिकता दिने शक्ति पहिचान गर्नु आजको आवश्यकता हो।
नेपाली आकाशमा मडारिएको अन्योल र अस्थिरताको कालो बादल चिर्न सक्षम, देशलाई कुनै पनि बहानामा आन्तरिक वा बाह्य द्वन्द्वमा नफसाउने, जनताको घरदैलोमा सहजै भेटिने, जनउत्तरदायी र जवाफदेही नेतृत्व चयन गर्नु प्रत्येक मतदाताको दायित्व हो।
लोकतन्त्र बलियो तब मात्र हुन्छ जब नागरिक सचेत र सक्रिय हुन्छन्। आफ्नो मत अधिकार मात्र होइन, भविष्यप्रतिको प्रतिबद्धता पनि हो। आजको एक मतले भोलिको पाँच वर्ष निर्धारण गर्छ। त्यसैले पछि पछुतो नपर्ने गरी, आफ्नो अन्तरात्माले स्वीकार गर्ने ठाउँमा निर्भीकतापूर्वक मतदान गरौं।
परिवर्तनको अपेक्षा छ भने परिवर्तनको निर्णय पनि आफैंले गर्नुपर्छ।निस्वार्थ, निशर्त र स्वतन्त्र रूपमा आफ्नो मत आफूले चाहेको व्यक्ति वा पार्टीलाई दिऔँ नेपाल र नेपालीको भावी पुस्ताको उज्ज्वल भविष्यका लागि-परिवर्तन न्यूज डट कम







प्रतिक्रिया