साउन २२, पोखरा
खेलाडीहरूको मनोबल अभिवृद्धि गर्दै स्नुकर खेललाई थप व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने उद्देश्यका साथ डिपलभ स्नुकर बिन्दुवासिनी बसपार्कको आयोजनामा प्रथम गण्डकी स्तरीय खुला स्नुकर रनिङ सिल्ड प्रतियोगिता–२०८३ सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन समारोह डिपलभ स्नुकरका अध्यक्ष तथा कास्की जिल्ला अध्यक्ष दिलिप कुमार शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमका प्रमुख अतिथि सामुदायिक प्रहरी सेवा केन्द्र तथा सामुदायिक प्रहरी जिल्ला समिति कास्कीका अध्यक्ष भीम पराजुली रहनुभएको थियो।
प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि पराजुलीले युवालाई लक्षित गर्दै विगत धेरै वर्ष अघिदेखि नै विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको संस्थाले स्नुकर खेललाई विशेष प्राथमिकता दिँदै खेलाडीहरूलाई व्यावसायिक बनाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभयो। यस्ता सिर्जनात्मक र सकारात्मक गतिविधिलाई आगामी दिनमा आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।
कार्यक्रममा कास्कीका संस्थापक अध्यक्ष वसन्त गौचन, प्रहरी वरिष्ठ सहायक निरीक्षक होतबहादुर रोक्का, प्रहरी सहायक हवल्दार भीम गौचन, लागूऔषध नियन्त्रण अभियानसँग आबद्ध विद्या भण्डारी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको स्वागत मन्तव्य संस्थाका महासचिव सविन जिसीले शुभकामना व्यक्त गर्दै प्रतियोगिता सफल पार्न सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्नुभएको थियो। त्यस अवसरमा लागू औषध नियन्त्रण आमा समूहका उपाध्यक्ष विद्या भण्डारी लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमको अध्यक्षीय मन्तव्य राख्दै अध्यक्ष दिलिप कुमार शाहीले स्नुकर खेलप्रति युवाको आकर्षण बढ्दै गएको बताउँदै प्रतियोगिता लाई प्रत्येक वर्ष सकेसम्म तीन पटक आयोजना गर्ने योजना रहेको जानकारी दिनुभयो। उहाँका अनुसार लगातार तीनपटक सम्म प्रथम हुने वा प्रतियोगिता जित्ने खेलाडीलाई रनिङ सिल्ड स्थायी रूपमा नै प्रदान गरिने जानकारी दिनुभयो।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई रु. ५० हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ। त्यसैगरी ६० भन्दा बढी अंक बनाउने खेलाडीलाई ‘हाइ ब्रेकर’तर्फ रु. ७ हजार ५०० र प्रमाणपत्र तथा १०० भन्दा बढी अंक बनाउने खेलाडीलाई ‘सेन्चुरी ब्रेकर’तर्फ रु. २० हजार र प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने जानकारी दिनुभयो।
प्रतियोगितामा करिब १०० जना खेलाडीको सहभागिता रहने र खेल १५ दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिता मा सहभागी प्रत्येक खेलाडीबाट रु. ३०० प्रवेश शुल्क लिइएको छ।
कार्यक्रमका शुभचिन्तक रोशन संग्रौलाले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा प्रतियोगिताका निर्णायक दिवस राना मगरले रनिङ सिल्डको बारेमा यस किसिमको अवधारणाले खेलाडीलाई थप प्रतिस्पर्धी र उत्साहित बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले एउटै खेलाडीले लगातार तीन पटक उपाधि जित्न सकेमा एकै वर्षभित्र रनिङ सिल्ड आफ्नो नाममा पार्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै यसलाई प्रतियोगिताको सकारात्मक पक्षका रूपमा व्याख्या गर्नुभयो।
स्नुकर खेलको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा युवालाई सकारात्मक गतिविधितर्फ आकर्षित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले गण्डकी प्रदेशमा स्नुकर खेलको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।






प्रतिक्रिया