भाद्र १४, पोखरा
प्रेस क्लब गण्डकीको चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट एकराज गिरीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
क्लबका अध्यक्ष एकराज गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाले संस्थाको आगामी कार्यकाल का लागि सात सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
कार्यक्रममा क्लबका उपाध्यक्ष राजाराम पौडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उद्घाटन सत्रमा प्रमुख अतिथि बरालले ब्यानरमा हस्ताक्षर गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै उहाँले प्रेस क्लब गण्डकीको उत्तरोत्तर प्रगतिको कामना गर्दै नयाँ नेतृत्वले नवीन सोच र कार्यशैलीका साथ संस्थालाई अझ सशक्त र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो।
बरालले प्रेस क्लब गण्डकी पोखराको पत्रकारिता क्षेत्रका लागि एउटा महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको उल्लेख गर्दै पत्रकारहरूको हकहित, क्षमता अभिवृद्धि र पेशागत विकासमा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो।
साधारणसभामा क्लबका सचिव गौरव त्रिपाठीले सचिवको प्रतिवेदन तथा कोषाध्यक्ष राजु गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत प्रतिवेदनहरूलाई भेलाले सर्वसम्मत रूपमा अनुमोदन गरेको थियो।
साधारणसभाको पहिलो सत्र सम्पन्न भएपछि दोस्रो सत्रमा निर्वाचन प्रक्रिया अघि बढाइएको थियो। प्रमुख अतिथिको सल्लाहअनुसार राजु गिरी र गौरव त्रिपाठी सम्मिलित निर्वाचन मण्डल गठन गरिएको थियो। उक्त निर्वाचन मण्डलले एकराज गिरीको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरेको हो।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्षमा एकराज गिरी, उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा प्रकाशचन्द्र अधिकारी, कोषाध्यक्षमा रोजी श्रेष्ठ, सहसचिवमा तारा पौडेल तथा सदस्यहरूमा संजय थापा र बसन्त गिरी चयन हुनुभएको छ।
नवनिर्वाचित पदाधिकारीहरूले प्रेस क्लब गण्डकीलाई पत्रकारहरू को साझा चौतारीका रूपमा अझ सक्रिय, व्यवस्थित र प्रभावकारी बनाउँदै पत्रकारिताको विकास तथा पेशागत हितका लागि निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।







प्रतिक्रिया