भदौ १२, कास्की
मादी गाउँपालिका-४, ताराकाङस्थित श्री ध्रुव माध्यमिक विद्यालयमा चालु शैक्षिक सत्र २०८३ मा कुल १ सय ६३ जना विद्यार्थी अध्ययनरत रहेका छन्। विद्यालयको तथ्यांक अनुसार आधारभूत तह (ईसीडीदेखि कक्षा ८ सम्म) मा १ सय ८ जना र माध्यमिक तह (कक्षा ८ देखि १२ सम्म) मा ५५ जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृहस्पति सापकोटा का अनुसार पछिल्ला वर्षहरूमा देशभरका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै जानु चिन्ताको विषय बनेको छ। विशेष गरी गाउँबाट सहरतर्फको बसाइँसराइ, वैदेशिक रोजगारीका कारण परिवारको स्थानान्तरण, निजी विद्यालयप्रतिको बढ्दो आकर्षण तथा घट्दो जन्मदरका कारण सामुदायिक विद्यालयहरू प्रभावित भएका छन्।
उहाँका अनुसार धेरै अभिभावकले अंग्रेजी माध्यम, भौतिक पूर्वाधार र अतिरिक्त क्रियाकलापको आकर्षणका कारण निजी विद्यालय रोज्ने प्रवृत्ति बढेको छ। यसले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालय मा विद्यार्थी संख्या घट्न पुगेको हो।
विद्यालयका सूचना अधिकारी प्रकाश सुवेदीले सामुदायिक विद्यालय मा विद्यार्थी आकर्षित गर्न शिक्षाको गुणस्तर सुधार, प्रविधिमैत्री शिक्षण सिकाइ, दक्ष शिक्षक व्यवस्थापन र विद्यालयप्रति समुदायको विश्वास अभिवृद्धि गर्नुपर्ने बताउनुभयो। उहाँले विद्यालयलाई केवल पठनपाठनको केन्द्र मात्र नभई सीप, संस्कार र व्यक्तित्व विकासको केन्द्रका रूपमा विकास गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
सापकोटा र सुवेदी दुवैले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न स्थानीय सरकार, अभिभावक, विद्यालय व्यवस्थापन समिति र समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताउनुभयो। विद्यालयमा गुणस्तरीय शिक्षा, नियमित अनुगमन, आधुनिक शिक्षण सामग्री, सूचना प्रविधिको प्रयोग र विद्यार्थीमैत्री वातावरण सिर्जना गर्न सके सामुदायिक विद्यालयप्रति आकर्षण बढ्ने उहाँहरूको विश्वास छ।
उहाँहरूका अनुसार सामुदायिक विद्यालयलाई बचाउन र बलियो बनाउन सरकारले नीतिगत सुधार, शिक्षक दरबन्दी व्यवस्थापन तथा पूर्वाधार विकासमा थप ध्यान दिन आवश्यक छ। सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सके निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सकिने र विद्यार्थी संख्या पुनः वृद्धि हुने अपेक्षा गरिएको छ।
श्री ध्रुव माध्यमिक विद्यालयले पनि गुणस्तरीय शिक्षा, अनुशासन, अतिरिक्त क्रियाकलाप तथा प्रविधिमा आधारित शिक्षण प्रणालीलाई प्राथमिकता दिँदै विद्यार्थी आकर्षणका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।







प्रतिक्रिया