तोकिएको योजनामा बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली

तोकिएको योजनामा बजेटको दुरुपयोग हुन दिदैनौ– मन्त्री जुग्जाली

परिबर्तन न्युज
१९ असार २०८० बजे
परिबर्तन न्युज
१९ असार २०८०

असार १९, पोखरा

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले योजना र बजेटको दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभएको छ ।

Advertisement:Ad

प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरेको बजेटको छलफलमा भाग लिने सांसदहरुले मन्त्रालयसँग सम्बन्धीत योजनाका विषयमा उठाएका प्रश्नको जवाफ दिदै मन्त्री जुग्जालीले योजना र बजेट दुरुपयोग हुन नदिने प्रतिवद्धता जनाउनुभयो ।

“मैले नेतृत्व गरेको मन्त्रालयले भौगोलिक रुपमा पछि परेका ठाउँका योजनालाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको छ,” उहाँले तथ्याङ्क सहित दावी गर्नुभयो “सांसदमा उठेको जस्तो कसैको व्यक्तिगत र व्यवसायिक स्वार्थ पुरा हुने पलटिङमा जाने, कमिसनमा बेचेका, बाटै नभएका ठाउँमा पुल बनाउन बजेट परेको पाइए कार्यान्वयन हुन दिदैनौ । माननीयहरुले सूचना दिनुहोस बजेटको दुरुपयोग रोक्छौ ।”

बजेट मुख्यमन्त्री र मन्त्रीको निर्वाचन केन्द्रित भएको भन्ने संसादहरुको आरोपको खण्डन गर्दै मन्त्री जुग्जालीले गोरखामा संघीय समपुरक योजना धेरै भएको र कास्कीमा विगतमा ठेक्का लागिसकेका योजनाको सिर्जना भइसकेको दायित्वका कारण बजेटको आकार बढी देखिएपनि समग्रमा सन्तुलित रहेको भन्दै तथ्याङ्क समेत प्रस्तुत गर्नुभएको थियो । नवलपुरमा बजेट कम भएको स्विकार गर्दै त्यसलाई सम्बोधन गरिने बताउनुभयो ।

“हामीले यसपाली टुक्रे योजनालाई कटौति गरेर ३० लाख रुपैयाँका थ्रेस होल्ड बनाई अठार सयबाट छ सयमा झारेका छौ,” उहाँले भन्नुभयो “हामीले योजनालाई सन्तुलित हिसाबले बजेट बिनियोजन गरेका छौ । घोषणा गरे अनुसार आगामी वर्ष ३०० किलोमिटर सडक कालोपत्र भएन र २५ वटा सडक पुल बनेन् भने यही संसदमा प्रश्न उठाउनुहोला ।” बजेटको आकार बढेको र योजनाको संख्या घटाएर योजना कार्यान्वयनमा सहजता, प्रभावकारी, पारदर्शी र गुणस्तरीय बनाउने प्रयास गरेको उहाँको भनाई थियो ।

खैरो कोट लगाएर रोष्ट्रममा उभिएका मन्त्री जुग्जालीले केही सांसदहरुले बजेटमा निलो कोट हाबी भएको भनेर लगाएको आरोपको खण्डन गर्नुभयो । “मन्त्रीले नमान्न सक्छन् भनेर सचिब, महानिर्देशक, उपसचिवबाट योजना छिराउने प्रयास गर्नुभएका माननीयहरुले एक पटक छातिमा हात खारेर सोच्नुहोला तपाईले लगाएको आरोप र गर्नुभएको टिप्पणी सत्य हो की होइन भनेर ?,” मन्त्री जुग्जालीले प्रश्नसँगै ठोकुवा गर्नुभयो “मैले नेतृत्व गरेको मन्त्रालयको योजना र बजेट निर्माणमा खैरो कोटनै हाबी छ । भ्रममा नपर्नुहोला ।”

विकास र सम्बृद्धिका लागि शुसासन कायम गर्न संघीय सरकारले गरेको प्रयासलाई धन्यवाद दिनुभएका मन्त्री जुग्जालीले बजेटको दुरुपयोग रोक्न र कार्यान्वयन पक्षलाई प्रभावकारी बनाउन सहयोगका लागि सांसदहरुलाई आग्रह गर्नुभएको थियो ।

आगामी आर्थिक वर्ष २०८०/८१ को लागि असार १ गते गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री जितप्रकाश आलेले रु. ३३ अर्ब बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो । अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटका विषयमा मन्त्रालयगत छलफलसँगै सम्बन्धीत मन्त्रीले जवाफ दिने क्रम जारी छ । गण्डकीमा करिब रु. २० अरब पूजिगत बजेट भएकोमा भौतिक मन्त्रालयको बजेट रु. ११ अरब भन्दा बढी छ ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज