Worldlink Communications

नेपाल र नेपालीका प्यारा दुई फूलहरु क.पुष्पलाल र बीपी

साउन ६ पोखरा

राणा, शाह, पञ्च, बहुदल हुँदै गणतन्त्रसम्मको शासन व्यवस्थालाई समीक्षा गर्दा देशले सम्झनैपर्ने दुई शिखर नेताहरुमा पुष्पलाल र बीपी कोइरालालाई नसम्झिदा इतिहास र माटोले धिक्कार्ने छ । हुन त सम्झनलायक अन्य नेता हुन्– मनमोहन अधिकारी ,मदन भण्डारी ,गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र सुशील कोइराला पनि छन् नै।

हालका राजनीतिक खेलाडीमध्ये कोसँग आशावादी हुनुहुन्छ भन्ने अर्को जिज्ञासामा धेरैले प्रधानमन्त्री केपी ओलीसँग अलि बढी नै अपेक्षा गरेको पाइन्छ तर दुई तिहाई बहुमतको सरकार बन्दा पनि राजकीय सत्ता र पार्टी भित्रको सत्ताको छिनाझपटी हुनु राम्रो कुरा हैन।आखिर राजनीतिकर्मीमाथि यतिबिघ्न अविश्वास र वितृष्णा आएको कुरालाई राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक ख्याल् गर्नुपर्दछ।

किन सम्झने पुष्पलाल र बिपीलाई ? ६ दशकअघि कांग्रेस सभापति बीपी कोइरालाको नेतृत्वमा दुई तिहाई बहुमतको पहिलो जननिर्वाचित सरकार बनेको थियो । त्यसपछि दुई तिहाईको सरकार भएको अहिले नै हो । १२ वर्षअघि आफैंले स्थापना गरेको दललाई दुई तिहाईमा पुर्‍याएर बीपी मुलुकको कार्यकारी प्रमुख भएका थिए । पुष्पलालले सात दशकअघि स्थापना गरेको कम्युनिस्ट पार्टीबाट ओली शक्तिशाली प्रधानमन्त्री बनेको २.५ बर्ष हुँदै छ ।

त्योबेला बीपी मन्त्रिपरिषद्को पहिलो बैठकले प्रधानमन्त्रीको तलब २५ सयबाट १५ सय र मन्त्रीको तलब १५ सयबाट १ हजार बनाएर काम सुरु गरेको थियो । १ सय ९ सदस्यीय प्रतिनिधिसभामा १९ सिट जितेको राष्ट्रिय गोर्खा परिषद्का नेता भरतशमशेरलाई बीपीको जोड–बलले प्रमुख प्रतिपक्षी दलको नेता बनाइयो । हैसियत नपुगेको त्यसमा पनि प्रतिगामी राणाहरूकै दललाई प्रतिपक्षी बनाउनु हुँदैन भनेर त्यतिबेला चर्को विरोध नभएको पनि होइन । विपक्षीको अभावमा संसदीय व्यवस्था फस्टाउन सक्दैन भन्ने मान्यता स्थापित गर्न उनले आफ्नै सहकर्मीको विरोधका बाबजुद यो निर्णय लिएका थिए । त्यति मात्र होइन, चार सिटमा सीमित कम्युनिस्ट पार्टीका सदस्यलाई समेत उच्च प्राथमिकता दिनै पर्ने थियो । बिर्ता र राजा रजौटाको उन्मूलन, क्रान्तिकारी भूमिसुधार, वनको राष्ट्रियकरण, समाजवादी सिद्धान्तबमोजिम धनीलाई बढी कर लगाउने र गरिबका लागि लोकल्याणकारी योजना लागू गर्ने कामको सुरुवात गरे । नेपालको भूराजनीतिलाई बुझेर भारत र चीनसँग सन्तुलित परराष्ट्रनीति अवलम्बन गरे ।

समय बलवान छ । चार सिटमा सीमित वामपन्थीले अपार सफलता हासिल गरेको छ भने संसदीय सिटमा केही फरक भए पनि कांग्रेसले त्यतिबेलाको कम्युनिष्ट पार्टीलाई उचित स्थान दिनै पर्ने थियो।

कोइराला परिवारका सदस्य तथा वामपन्थी नेता कमल कोइरालाको आलेखको आधारमा १८ महिनाको छोटो शासनकालमा भएका काम हेर्ने हो भने पनि बीपी राजनेता नै थिए। जननेता मदन भण्डारीको प्रकाशित अन्तर्वार्तामै समेत बीपी नै मदनले आफ्नो मन पर्ने नेता भन्नुभएको छ । जसरी चमेलीको फूल एक रातमै झर्छ । तर ,पनि त्यसको वासना मानिसले सधैं सम्झिन्छन् । त्यसको ठीकविपरित पलासको फूल ठूलो हुन्छ । लामो समयसम्म रहन्छ तर वासना नहुने भएकाले कसैले सम्झिँदैन ।

राष्ट्रियता र देशभक्ति भावका दृष्टिले पहिलो पुस्ताको तुलनामा अहिलेको नेतृत्व निकै गम्भीर हुनु पर्दछ, नेतृत्व आफैं सिद्धान्त, नैतिकता र देशभक्तिबाट विचलित भयो भने कुनै मुलुकले प्रगति गर्न सक्दैन ।

२००७ सालको क्रान्तिले एक सय चारवर्षे राणाशाहीको अन्त्य गर्‍यो । २०१७ साल पुस १ मा राजा महेन्द्रले सैन्य बलबाट प्रजातन्त्रमाथि ‘कु’ गरी ३० वर्षसम्म पञ्चायती शासन चलाए । २०४६ सालको जनआन्दोलनबाट बहुदलीय व्यवस्था स्थापना भयो । अनि, २०६१ माघ १९ मा तत्कालीन राजा ज्ञानेन्द्रले सुरु गरेको निरंकुश शासन व्यवस्थाविरुद्ध २०६२/०६३ को जनआन्दोलनमा लाखौं जनता सडकमा ओर्लिए । फलस्वरूप संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते २ सय ३८ वर्ष लामो राजतन्त्रको अन्त्य मात्र भएन, मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रतर्फको यात्रा तय गर्‍यो ।

यसबीच २००५ सालयता, छ दशकको अवधिमा ४६ पटक सरकारको नेतृत्वमा फेरबदल भयो, २२ जना प्रधानमन्त्री बने । मुलुकको कार्यकारी प्रमुख हुनेमा आधाभन्दा बढी अर्थात् छ–छ जना कांग्रेस र कम्युनिस्टकै नेता छन् । सिद्धान्तअनुकूलको जीवनशैली, राष्ट्रियताबारेको अडान, तात्कालिक लाभभन्दा पनि देश र जनताको हितका पक्षमा लिएका निर्णयले बीपी सबैले सम्झिने राजनेतामा स्थापित भए ।

कम्युनिस्ट बीपी, कांग्रेस पुष्पलाल

राणाहरूको भाजनमा परेर १४ वर्ष वनवासमा रहँदा बीपी आफैं कम्युनिस्ट थिए । भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा जेल पर्दासमेत उनमा कम्युनिस्ट प्रभाव थियो । पछि जयप्रकाश नारायणको संगतले समाजवादी बने । पिताजी कृष्णप्रसादको प्रेरणाबाट राजनीतिमा लागेका बीपीले २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना गरे । त्यही राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीचको एकीकरणपछि भएको सशस्त्र क्रान्तिले १०४ वर्षे राणा शाहीको अन्त्य गर्‍यो ।

त्यो क्रान्तिमा पुष्पलाल ,एकदेव आले चित्रबहादुर गुरुङ ,मनमोहन अधिकारी आदि सशक्त रूपमा भाग लिएका थिए। मनमोहन अधिकारीले घोषित रूपमा त्यो क्रान्ति सङ्गै गरौं भनेर बीपीलाई धेरै अनुरोध गरे।कम्युनिस्ट पार्टी सित सीमाभन्दा बढी अनुदार काङ्ग्रेसका बीपी र राजाले त्यो कुरा मानेनन् किन कि,छिमेकी भारत समेत त्यो आन्दोलनमा कम्युनिस्ट पार्टीको सहभागिता मन पराउदैन्थ्यो। त्यतिमात्र हैन,त्यो क्रान्तिका निम्ति स्वयंसेवक को जिम्मा कम्युनिस्ट पार्टीलाई देउ भन्दा बीपी मानेनन् ।क्रान्ति भयो,दिल्ली सम्झौतालाई धोका सम्झी काङ्ग्रेसका एकदेव आले ,चित्रबहादुर गुरुङ्ग आदि ठूल्ठूला नेताले पनि काङ्ग्रेस बाट साचो अर्थमा क्रान्ति फत्ते नहुने निर्क्यौल गरी काङ्ग्रेसबाट बिद्रोह गरे।

उता दाजु सहिद गंगालालको प्रेरणाबाट राजनीतिमा लागेका पुष्पलाल राष्ट्रिय कांग्रेसकै झन्डामा राणाविरोधी आन्दोलनमा होमिएर जेल परे । बीपी र डा. डिल्लीरमण रेग्मीबीचको कचिङ्गलबाट आजित उनले कांग्रेस छोडेर २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरे । मृत्युदण्ड दिनुभन्दा एक दिनअघि परिवारका सदस्यसँग गंगालाललाई भेट्न उनी भद्रगोल जेल पुगेका थिए । त्यही गंगालालले भनेका थिए, ‘भाइ (माइला) प्रजातन्त्रको दियोलाई कमजोर हुन नदिनू ।’ गंगालाल भन्ने गर्थे, ‘रुसमा कोही भोका नाङ्गा छैनन्, हामीले पनि त्यस्तै व्यवस्था ल्याउनुपर्छ ।’ दाजुको त्यही वचनले पुष्पलाललाई गरिब, दुःखीको हितमा काम गर्ने कम्युनिस्ट पार्टी स्थापना गर्न प्रेरणा मिल्यो ।

बीपी र पुष्पलाल दुवैको राजनीतिक प्रशिक्षण राणा शाहीको अत्याचार उत्कर्षमा रहँदा भएको हो । कोइराला र श्रेष्ठ परिवारको संस्कारमा पनि धेरै कुराको समानता पाइन्छ । ज्येष्ठ सदस्यको उपस्थितिमा भारतीय स्वतन्त्रता आन्दोलन, भारतीय पत्रपत्रिकामा प्रकाशित समाचार र विचारबारे दुवै परिवारमा दैनिक छलफल हुन्थ्यो । कोइराला परिवारका सदस्य एक बिहानै जम्मा भएर अनेकौं विषयमा छलफल गर्थे । जसमा घर कसरी चलेको छ, केटाकेटीको पढाइ कस्तो छ आदि विषय हुन्थे ।

त्यस्तै श्रेष्ठ परिवारमा भने बेलुका यस्तो छलफल चल्थ्यो । पुष्पलालकी बहिनी पुष्पलताकानुसार बेलुका बुवा भक्तलालको कोठामा परिवारका सबै सदस्य भेला हुने ,सुरुमा घर कसरी चलेको छ, केटाकेटीको पढाइ कस्तो छ जस्ता विषयमा कुरा हुन्थ्यो । त्यसपछि देश विदेशका घटनाक्रममा कुरा हुन्थ्यो । दुवै परिवारका सदस्यहरूबीच आपसमा कुरा गर्दाचाहिँ राजनीतिक विषयले प्रायः प्रवेश पाउँदैनथ्यो ।

समानता अनेक, विमति एक

बीपी उमेरमा पुष्पलालभन्दा १० वर्ष जेठा । भिन्न राजनीतिक दर्शनको नेतृत्व गरे पनि यी दुईबीच कैयौं समानता छन् । बिपी पहिले कम्युनिस्ट ,पुष्पलाल पहिले काङ्ग्रेस नजिक थिए। बीपी कांग्रेसका संस्थापक तथा सिद्धान्तकार, पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव र सिद्धान्तकार । दुवै परिवारका माइला छोरा । दुवैका बाबु क्रमशः भक्तलाल र कृष्ण प्रसाद कोइराला राणाकालमा खरिदार । सारा जीवन निष्ठा र आदर्शको राजनीतिका निम्ति खर्चेका बीपीलाई लामो समयसम्म अराष्ट्रिय तत्त्व र भारतीय दलालको आरोप लाग्यो । खासगरी यस्तो आरोप लगाउनेमा पञ्च र कम्युनिस्ट पार्टीबाट खेप्नु पर्‍यो । तत्कालीन नेकपा ले नै कहिले राजासँग घाँटी जोडिएको त कहिले मित्रराष्ट्र भारतका लागि काम गर्ने नेताका रूपमा बीपीलाई हेर्ने गर्थ्यो। तर, धेरै पछि मात्र बुझियो वास्तवमा बीपी न राजावादी थिए न त भारतपरस्त ।

उता पुष्पलालको सन्दर्भमा पनि त्यस्तै संयोग परेको छ । २०१७ सालको ‘कु’ पछि संसदीय व्यवस्था पुनःस्थापनाको पक्षमा उभिएका पुष्पलाललाई सहयात्री कम्युनिस्टहरूले नै ‘गद्दार’ को संज्ञा दिए । त्यही घटनाबाट आहत भएर राजनीति छोडेका काठमाडौंका प्रथम निर्वाचित मेयर जनकमान श्रेष्ठकानुसार राजासँग चोचो–मोचो मिलाउनेहरूले नै पुष्पलाललाई गद्धार भनेका थिए । केशरजंग रायमाझीसहित धेरै नेता दरबार पसे । तर, राजाले बारम्बार बोलाउँदा पुष्पलाल भेट्नसमेत गएनन् । साचो यथार्थता यही हो,पुष्पलालले राजासँग कहिल्यै जी-हजुर गरेनन् ।

महान सहिद पुष्पलालका दाजु गंगालालका साथी गम्भीरमान मार्फत ‘भेट्न आउनू’ भन्ने सन्देश राजाले भारत प्रवासमै रहँदा पुष्पलाललाई पठाएका थिए । तर, पुष्पलालले जवाफ फर्काइदिए-” मैले भेट्नुपर्ने कुनै कारण छैन । हदै भए प्रधानमन्त्री खा भन्लान् । मलाई राजाले दिएको प्रधानन्त्री चाहिँदैन ।” पुष्पलालका कान्छा भाइ विजयलालका अनुसार राजाले दिन सक्ने सबैभन्दा ठूलो पद त्यही प्रधानमन्त्री थियो । दाजु पुष्पलालले -“सिद्धान्त बेचेर मलाई कुनै लाभ लिनु छैन भन्ने सन्देश दिएर भेट्न मान्नुभएन ।”

अर्कोतिर थापाथलीमा तरुण दलको सम्मेलनलाई सम्बोधन गरिरहँदा सैन्य कब्जामा परेका प्रधानमन्त्री बीपीलाई पनि राजा महेन्द्रले पञ्चायत स्वीकार गरे जीवनभर सत्ताको केन्द्रमा राखिरहने प्रलोभन देखाए । राजाले बेलायती राजदूतमार्फत सुन्दरीजल बन्दीगृहमै खबर पठाएका थिए, ‘नाम मात्र पञ्चायत राखे हुन्छ । त्यसबाहेक बीपीले बनाएको संविधान मान्न म तयार छु ।’ तर बीपीले सिद्धान्तमा सम्झौता गरेनन् ।

राजनीतिक सिद्धान्तमा कट्टर भए पनि बीपी र पुष्पलाल दुवैले एकअर्का प्रति सधैं श्रद्धा भाव राखिरहे । पञ्चायतको अन्त्यका लागि कांग्रेस कम्युनिस्ट एकतामा सधैं पुष्पलालले जोड दिए । तर, सोसलिस्ट इन्टरनेसनलका नेता बीपीले कम्युनिस्टमाथि विश्वास गर्न सकिँदैन भनेर जीवनभर सहकार्य गर्न मानेनन् ,यस अर्थमा बीपी कम्युनिस्ट पार्टी प्रति निकै अनुदार र असहिष्णु थिए। उनको निधनपछि मात्र कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा वामपन्थीसँग कांग्रेसको सहकार्य भयो । वामपन्थी पक्षबाट यसको नेतृत्व पुष्पलालकी श्रीमती सहाना प्रधानले गरिन् । अनि मात्र २०४६ को जनआन्दोलनले पञ्चायतको पतन भयो ।

पुष्पलालकै सैद्धान्तिक जगमा टेकेर मदन भण्डारीले जनताको बहुदलीय जनवादमार्फत कम्युनिस्ट पार्टीलाई चुनावी प्रतिस्पर्धामा उतारे र तत्कालीन नेकपा एमाले ‘ब्यालेट’ बाटै सत्तामा पुग्यो । मनमोहन अधिकारी देशको पहिलो कम्युनिस्ट प्रधानमन्त्री भए भने माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल, बाबुराम भट्टराई र केपी ओली गरी छ जना मुलुकको कार्यकारी प्रमुख बने ।

अर्कोतिर जीवनभर कम्युनिस्टमा भर नगर्ने बीपीकै कान्छा भाइ गिरिजाप्रसादले नेतृत्व गरेको आन्दोलनले कम्युनिस्ट पार्टीहरूसँगको सशक्त र शक्तिशाली सहकार्यमा २ सय ३८ वर्ष लामो राजतन्त्र अन्त्य गरी मुलुकमा गणतन्त्र बहाली गराए । बीपी र पुष्पलाल दुवै नेताले निष्ठा, आदर्श र सिद्धान्तका लागि जीवनप्रयन्त त्याग गरे तर राजनीतिक उपलब्धिको प्रतिफल देख्न पाएनन् । बीपीले झन्डै १० वर्ष जेल र त्यति नै समय भारत प्रवासमा बिताए । बीपी त सत्तामा पनि पुगे । केही समय गृहमन्त्री र प्रधानमन्त्री भए ।

तर, २०१५ सालको चुनावमा नेपाली काङ्ग्रेस,राजा र राणा हरुको भयङ्कर ठूलो गठजोड साम,दाम र दण्डभेदमा गणेशमान सिंहसँग पराजित हुनुपर्‍यो पुष्पलालले जब कि,कम्युनिस्ट पार्टीका तर्फबाट पहिल्यै काठमाडौ नगरपालिका को मेयर जितेका थिए जनकलाल श्रेष्ठले ।पुष्पलालले राजनीतिक लाभका पदमा रहने अवसर कहिल्यै पाएनन् । धेरै समय जेल–नेल सजाय नभोगे पनि लामो समय उनले प्रवासमा अभाव र कष्टपूर्ण जीवनयापन गरे । राजनीतिक अधिकार प्राप्तिका लागि संघर्ष गर्दा गर्दै २०३५ साउन ७ मा पुष्पलाल र २०३९ साउन ६ मा बीपीको निधन भयो ।नेपाली क्रान्तिका महान नेताहरु दिबङ्गत पुष्पलाल र बीपी कोइरालाको आदर्शलाई कम्युनिस्ट र काङ्ग्रेसले समग्रमा अनुसरण गर्नुपर्छ,बोक्नु पर्छ,सिद्धान्तलाई ब्यवहारसित जोड्नु पर्छ।

इतिहासका दुई फूलहरु क.पुष्पलाल र बीपी कोइरालाप्रति क्रमश :४५ औं र ४१ औं स्मृतिमा भावपूर्ण श्रद्धाञ्जली ।

(लेखक: नेकपा एमाले कास्की जिल्ला सचिवालय सदस्य एवं निर्वाचन बिभाग प्रमुख झपट रानाभाट हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्: