Worldlink Communications

बिश्वासकोमत माग्ने प्रयोजनको लागि बोलाएको प्रदेश सभाको बैठक स्थगित

बैशाख ७ , पोखरा

आज गण्डकी प्रदेश सभाको बैठक विश्वासको मत माग्ने प्रयोजनका लागि डाकिएको प्रदेश सभा बैठक विषयमा प्रवेशै नगरी स्थगित गरिएको हो ।

खगराज अधिकारीले आज विश्वासको मत माग्ने तयारी गर्नुभएको थियो विपक्षी दलहरु नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बैठक बहिस्कार गरेपछि कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित गरिएको हो ।

बैठक स्थगित भएसँगै विश्वासको मत लिने मुख्यमन्त्री अधिकारीको प्रयास विफल भएको छ । सर्वोच्चले दुरगामी महत्वका निर्णय नगर्न आदेश दिएपनि त्यस विपरित विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री अधिकारीको प्रयास असफल भएको हो ।

विपक्षी दलहरुको बैठक बहिस्कार गर्ने निर्णय र विश्वासको मत प्राप्त गर्न आवश्यक मत नपुग्ने निश्चित भएपछि विश्वासको मत लिने निर्णयबाट मुख्यमन्त्री अधिकारी ब्याक हुनुभएको थियो।

सर्वोच्च अदालतको आदेश अघि नै विश्वासको मत लिएर फैसला प्रभावित पार्ने मुख्यमन्त्री खगराज अधिकारीको योजनामा  तुषारापात भएको छ । जसका कारण अधिकारी नेतृत्वको सरकार संकटमा पर्ने निश्चितजस्तै देखिएको हो।

कांग्रेस संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म बैठक बहिस्कार गर्ने निर्णय गरेको र  राप्रपाले बिना जानकारी बैठक बहिस्कार गरेको थियो ।

संसदीय दलको बैठकको निर्णय अनुसार बैठक बहिस्कार गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपाने का अनुसार सर्वोच्चले दुरगामी महत्वका निर्णय नगर्न दिएको आदेश विपरित अधिवेशन बोलाइएकाले बैठक बहिस्कार गरेको जानकारी दिनुभएको हो।

कांग्रेसले सर्वोच्चको फैसला नआएसम्म बैठक बहिस्कार गर्ने जनाएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलको बैठकले सर्वोच्चको फैसला नआएसम्म बैठक बहिस्कार गर्ने निर्णय गरेको संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो।

गण्डकी प्रदेशका मुख्यमन्त्रीका लागि खगराज अधिकारीले सभामुखको मतलाई समेत गणना गरेर दाबी पेस गरेको र सोहि आधारमा प्रदेश प्रमुखले अधिकारीलाई मुख्यमन्त्री दाबी गरेपछि कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट हाल्नु भएको थियो। सो रिट उपर सर्वोच्चले यहि बैशाख १० गते पेशी तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्: