भाद्र १६ , पोखरा
पोखरा महानगरपालिका वडा नं. २० कार्यालयले यस वर्षको वडा स्तरीय तीज गीत प्रतियोगिता तथा दर खुवाउने कार्यक्रम स्थगित गरेको जनाएको छ।
वडा कार्यालयले मंगलबार सूचना जारी गर्दै महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा संस्कृति संरक्षण गर्ने उद्देश्यले भदौ २४ गते सञ्चालन गर्ने तय भएको तीज गीत प्रतियोगिता एवं दर खुवाउने कार्यक्रम हाललाई नगर्ने निर्णय गरिएको जानकारी दिएको हो।
यसअघि वडा कार्यालयले भदौ १० गते सूचना प्रकाशित गर्दै कार्यक्रम सञ्चालन हुने जनाएको थियो। तर, भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको तथा देश शोकमग्न बनेको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रम सञ्चालन गर्न उपयुक्त नदेखिएको वडा कार्यालयले जनाएको छ।
वडा अध्यक्ष गंगा बहादुर क्षेत्रीद्वारा हस्ताक्षरित सूचनामा उक्त मितिमा तय गरिएको कार्यक्रम सञ्चालन नहुने जानकारी गराउँदै सम्पूर्ण वडा बासी तथा सरोकारवालाहरूलाई सहयोग र समझदारीका लागि अनुरोध गरिएको छ।
बाढीका कारण देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको र उद्धार तथा राहत कार्य जारी रहेकाले सामाजिक संवेदनशीलतालाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको वडा कार्यालयको भनाइ छ।







प्रतिक्रिया