जेठ १४,पोखरा
पोखरा देखि मुस्ताङ र अन्नपूर्ण बेसक्याम्प सम्म भारतीय नम्बर प्लेटका सवारी र पर्यटकप्रति बढ्दो असन्तुष्टि व्यक्त गरेका छन्।
नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू पछिल्लो समय प्राकृतिक सौन्दर्यभन्दा बढी फोहोर व्यवस्थापनको समस्याले चिनिन थालेका छन्। विशेषगरी भारतीय नम्बर प्लेटका सवारी साधनमार्फत आउने केही पर्यटक समूहको व्यवहारप्रति स्थानीयवासी, पर्यटन व्यवसायी तथा वातावरण संरक्षणकर्मीहरूले गम्भीर असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
पोखराको चमेरी गुफा आसपास, मुस्ताङ जाने सडक खण्ड, अन्नपूर्ण बेसक्याम्प जाने पदमार्ग तथा विभिन्न धार्मिक–पर्यटकीय क्षेत्रमा प्लास्टिकका बोतल, डिस्पोजल प्लेट, मदिराका खाली बोतल, प्याकेटजन्य फोहोर र खाना पकाएर छोडिएका अवशेषहरू बग्रेल्ती देखिन थालेका छन्। स्थानीयका अनुसार कतिपय भारतीय नम्बर प्लेटका गाडीहरू बाटोमै रोकेर खाना पकाउने, खाने र त्यस पछि फोहोर जस्ताको त्यस्तै छोडेर हिँड्ने प्रवृत्ति बढ्दो छ।
स्थानीय पर्यटन व्यवसायीहरू भन्छन्-“पर्यटक आउनु राम्रो हो, तर पर्यटकको नाममा वातावरण नै बिगार्ने गतिविधि स्वीकार्य हुन सक्दैन।”विशेष चिन्ताको विषय के छ भने, कतिपय पर्यटक समूह हरू भारतबाटै खाद्यान्न, ग्यास सिलिन्डर, भाँडाकुँडा र दैनिक उपभोगका सामग्री बोकेर नेपाल प्रवेश गर्छन्। यसले स्थानीय होटल, रेस्टुरेन्ट तथा साना व्यवसायीले अपेक्षा गरेको आर्थिक लाभसमेत न्यून बनाइदिएको व्यवसायीहरूको गुनासो छ।
नेपालका प्राकृतिक सम्पदा उपयोग गर्ने तर स्थानीय अर्थतन्त्रमा न्यून योगदान दिने प्रवृत्तिप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ।पोखरा –मुस्ताङ सडकखण्ड तथा अन्नपूर्ण क्षेत्र विश्वकै चर्चित पर्यटन मार्ग मध्ये पर्छन्। यहाँ आउने पर्यटकले वातावरणीय जिम्मेवारी पालना गर्नु सामान्य अपेक्षा हो। तर नियमन र निगरानी कमजोर हुँदा सार्वजनिक स्थलहरू क्रमशः “ओपन पिकनिक स्पट” मा परिणत भइरहेको स्थानीयको आरोप छ।
वातावरणविद्हरूका अनुसार समस्या कुनै एक देशका सम्पूर्ण नागरिकसँग जोडेर हेर्नुभन्दा पनि “गैरजिम्मेवार पर्यटन संस्कार” सँग सम्बन्धित छ। तर भारतीय नम्बर प्लेटका सवारी साधनको संख्या अत्यधिक भएकाले गुनासो पनि त्यही समूहप्रति बढी केन्द्रित भएको देखिन्छ।
स्थानीय सरकार र सम्बन्धित निकायमाथि अहिले प्रश्न उठिरहेको छ किन विदेशी नम्बर प्लेटका सवारी साधनलाई कडा फोहोर व्यवस्थापन नियम लागू गरिँदैन ? किन पर्यटकीय क्षेत्रमा अनुगमन प्रभावकारी छैन ? किन फोहोर गर्नेहरूलाई कारबाही हुँदैन ?
पर्यटन र पर्यटक भनेको केवल फोटो खिच्ने रमाइलो गर्ने विषय मात्र होइन, त्यो स्थानीय संस्कृति, वातावरण र अर्थतन्त्रप्रतिको जिम्मेवारी पनि हो। नेपाल घुम्न आउने हरेक पर्यटक स्वागतयोग्य छन्, तर “घुम्ने नाममा फोहोर गर्ने” प्रवृत्ति रोक्न अब कडा नियम र व्यवहारिक कार्यान्वयन गर्नतर्फ स्थानीय सरकार, प्रदेश सरकार, र केन्द्रीय सरकार साथै पर्यटनसँग सम्बन्धित सम्पूर्ण निकायहरूले यो विषयमा अति संवेदनशील हुन आवश्यक देखिएको छ।








प्रतिक्रिया