Top Header Ad 1

पर्यटकीय सहर पोखराको मुटुमा अर्बौंको ऋणमा बनेको फुलबारी रिसोर्ट अलपत्र, सरकारको भूमिका खोज्दै पोखरेली

पर्यटकीय सहर पोखराको मुटुमा अर्बौंको ऋणमा बनेको फुलबारी रिसोर्ट अलपत्र, सरकारको भूमिका खोज्दै पोखरेली

परिबर्तन न्युज
२१ जेष्ठ २०८३ बजे
परिबर्तन न्युज
२१ जेष्ठ २०८३

जेठ २१, पोखरा

नेपालको पर्यटन राजधानी भनेर चिनिने पोखराको मुटुमा रहेको पाँचतारे होटल फूलबारीको अवस्था आज पनि अन्योलग्रस्त छ।

Advertisement:Ad
Advertisement:Ad

एक समय अन्तर्राष्ट्रिय पर्यटकको रोजाइमा पर्ने यो होटल अहिले बन्दप्रायः अवस्थामा छ। करोडौंको संरचना निष्क्रिय छ, अर्बौंको लगानी जोखिममा छ, तर यसको भविष्यबारे न सरकार स्पष्ट देखिन्छ, न बैंक, न त सञ्चालक पक्ष इमान्दार देखिन्छन्।

प्रश्न उठ्छ आखिर फूलबारी होटलको जिम्मेवारी कसको हो ?पोखराको पर्यटन इतिहाससँग जोडिएको Hotel Phulbari Resort & Spa लामो समयदेखि आर्थिक संकट, श्रमिक विवाद, ऋण भार र कानुनी जटिलताबीच अल्झिएकोले सन् २०१७ मा श्रमिक आन्दोलनपछि होटल बन्द भएको होटलका कर्मचारीलाई ‘गोल्डेन ह्याण्डसेक’ दिएर १ सयभन्दा बढी कर्मचारी बिदा गरिएको थियो।

पछि होटल पुनः सञ्चालन गर्ने प्रयास भए पनि सफलता मिलेन देखिँदैन सन् २०२२ मा नेपाल बैंकको नेतृत्वमा रहेको बैंकिङ समूह ले ऋण असुलीका लागि होटल लिलामी प्रक्रिया अघि बढाएको भएपनि सञ्चालक पक्षले बैंकलाई तिर्नुपर्ने रकम अर्बौं रुपैयाँ पुगेकोले त्यो पनि प्राय असम्भव नै भएको समाचार सार्वजनिक भएको थियो।

धेरै समयअघिदेखि नै ऋण लगानी गर्ने बैंक, सिङ्गो नेपाल सरकार र लगानीकर्ता सबै मौन बसिरहेको अवस्था मा यो होटल गुज्रिरहेको देख्न सकिन्छ। स्थानीय पर्यटन व्यवसायीहरूका अनुसार होटलको वर्तमान अवस्था केवल निजी क्षेत्रको असफलता मात्र होइन, नेपाल को लगानी वातावरणको प्रतिबिम्ब पनि हो भन्ने आफ्नो धारणा राख्छन्।।

होटल क्षेत्रमा लगानी गरेका धेरै व्यवसायीहरू राजनीतिकअस्थिरता ,पर्यटन क्षेत्रमा आएको मन्दी, श्रमिक व्यवस्थापन, उच्च ब्याजदर, करको दबाब तथा प्रशासनिक झन्झटलाई प्रमुख चुनौतीका रूपमा औंल्याउँछन्। फूलबारी होटल पनि यिनै समस्याहरूको प्रतिनिधि उदाहरण बनेको टिप्पणी छरपष्ट सुनिँदै आएको छ।

कतिपय जानकारहरूका अनुसार अझै कडा टिप्पणी गर्दै भन्छन् राज्यले एक समय पर्यटनमा लगानी गर्न प्रोत्साहन दियो, सपना देखायो, ऋण लिन प्रेरित गर्‍यो। तर परियोजना सञ्चालनमा आए पछि कर, नियम, प्रशासनिक दबाब र विभिन्न अवरोधले लगानीकर्ता लाई नै संकटमा पार्ने वातावरण बन्यो। फलस्वरूप ठूलो लगानी गरेका व्यवसायीहरू क्रमशः आर्थिक रूपमा थलिँदै गएकोले यस्तो परिवेश आएको बताउँछन् ।

यद्यपि यस तर्कलाई एकपक्षीय निष्कर्षका रूपमा लिन सकिँदैन। ऋणको दायित्व, व्यवस्थापकीय कमजोरी तथा बजारको वास्तविक अवस्थाले पनि संकट गहिरिनुमा विशेष महत्वपूर्ण भूमिका खेलेको देखिन्छ। आज आएर निष्क्रिय सम्पत्ति बन्दैछ फूलबारी होटल जति लामो समय बन्द रहन्छ,त्यतिनै यसको मूल्य घट्दै जाने प्रष्ट देखिन्छ  जसमा भवन, उपकरण, फर्निचर, विद्युत् प्रणाली, बगैंचा, स्विमिङ पुल र अन्य संरचनाहरू क्रमशः जीर्ण बन्दै जान्छन्।

पर्यटन क्षेत्रका विज्ञहरूका अनुसार यस्ता परियोजनालाई वर्षौंसम्म अन्योलमा राख्नु बैंक, सरकार र निजी क्षेत्र तीनै पक्षका लागि घाटाको विषय हो। नयाँ लगानीकर्ताले पनि अर्बौं रुपैयाँको ऋण बोकेको र कानुनी विवादमा रहेको परियोजनामा सहजै लगानी गर्न चाहँदैनन्। त्यसैले सामान्य बजार प्रक्रियाबाट मात्र समाधान निस्कने सम्भावना कमजोर देखिन्छ। त्यसो त अब अन्तिम विकल्पको रुपमा सरकारले स्थानीय स्तरमा एउटा बलियो धारणा र विश्वासिलो वातावरण निर्माण गर्दै मध्यस्थकर्ताको भूमिकामा आउनुको विकल्प नभएको विज्ञहरू बताउँछन्।

यदि यो संस्थालाई अगाडि बढाउनु पर्दछ भन्ने सकारात्मक सोच राख्ने हो भने सरकारले बैंकको ऋण पुनर्संरचना गर्ने, राजस्व दायित्वमा व्यावहारिक सहजीकरण गर्ने र होटललाई नयाँ व्यवस्थापन वा नयाँ लगानीकर्ता मार्फत सञ्चालनमा ल्याउने वातावरण बनाउनुपर्ने सुझावहरू यत्रतत्र सर्वत्र सुनिरहेका र बढिरहेका छन्।

बैंकलाई कम्तीमा केही ऋण असुल गर्न सक्ने वातावरण मिल्नुपर्छ, सरकारलाई राजस्व प्राप्त गर्न र पोखरालाई पुनः एउटा सक्रिय पाँचतारे होटल दिलाउन सक्ने अपेक्षा गरिएको छ। जसले गर्दा फूलबारी र अन्तर्राष्ट्रिय उडानको सम्बन्ध Pokhara International Airport सञ्चालनमा आए पनि अपेक्षित अन्तर्राष्ट्रिय उडानहरू अझै नियमित हुन नसकिरहेको परिवेशमा केही नियमित उडानहरू हुनसक्ने सम्भावनालाई नकार्न नसकिने विज्ञहरू बताउँछन।

पर्यटन व्यवसायीहरूका अनुसार यदि पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान, विशेष गरी मध्यपूर्व र अन्य प्रमुख गन्तव्यतर्फका उडानहरू विस्तार भए भने पाँचतारे होटलहरूको माग स्वतः बढ्नेछ भने फूलबारी होटल जस्ता राम्रो भविष्य बोकेका अन्य होटलहरू पनि पुनर्जीवित हुने सम्भावना पनि बलियो हुने देखिन्छ।

त्यसैले फूलबारी होटल आज एउटा निजी होटलको समस्या मात्र होइन, नेपालको पर्यटन लगानी, बैंकिङ प्रणाली र सरकारी नीतिको परीक्षणस्थल बनेको छ।अर्बौं रुपैयाँको सम्पत्ति निष्क्रिय छ। बैंकले पैसा उठाउन सकेको छैन। सरकारले राजस्व पाएको छैन। पोखराले आफ्नो गौरव गुमाइरहेको छ।

प्रश्न अब पनि उही छ– फूलबारी होटललाई यसरी नै जीर्ण बन्दै हेरेर बस्ने कि राज्य, बैंक र निजी क्षेत्र मिलेर यसको पुनर्जन्मको बाटो खोल्ने ? पोखरेलीहरू पर्यटकीय सहर पोखरामा डुबिसकेको पाँच तारे होटेल र अन्य होटलहरूलाइ संकटको यस परिवेशमा सञ्जीवनी रुपको पानीका थोपाहरू सहित विश्वासका आशाहरू मुनाहरू ननिमोठिने गरी राज्यले निकास सहितको जवाफ दिने नै छ पोखरेली जनताहरू प्रतीक्षामा बसेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज