भदौ १०, रसुवा
रसुवा जिल्लामा बुधबार आएको बाढीले नेपाल विद्युत प्राधिकरण का विभिन्न विद्युत् पूर्वाधारमा क्षति पुर्याएको छ भने स्थानीय प्रशासनले नदी तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।
बाढीका कारण प्राधिकरणअन्तर्गत रसुवागढी, चिलिमे, त्रिशूली–३ ‘ए’ तथा त्रिशूली-३ ‘बी’ हबका २२० केभी सबस्टेसन प्रभावित भएका छन्।
नेपाल विद्युत प्राधिकरणका अनुसार बाढीले सबस्टेसनमा क्षति पुर्याएपछि रसुवा तथा आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ। केही क्षेत्रमा भने विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको जनाइएको छ।
बाढीका कारण विद्युत् संरचनामात्र नभई घर, सडक, पुललगायत अन्य भौतिक पूर्वाधारमा समेत क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। प्रभावित क्षेत्रको विस्तृत विवरण संकलन गर्ने कार्य जारी रहेको सम्बन्धित निकायले जनाएको छ।
बाढीपछि को अवस्थाको मूल्याङ्कन तथा विद्युत सेवा पुनः सञ्चालनका लागि प्राधिकरणका प्राविधिक टोलीहरू प्रभावित क्षेत्रमा खटिएको बताइएको छ। क्षतिको यकिन विवरण आउन बाँकी रहेकाले आर्थिक तथा भौतिक क्षतिको पूर्ण आकलन हुन समय लाग्ने देखिएको छ।







प्रतिक्रिया