भदौ १२, अन्नपूर्ण
अन्नपूर्ण गाउँपालिकाले विपद् व्यवस्थापन तथा पहिरोबाट क्षतिग्रस्त पूर्वाधार पुनःनिर्माणका लागि गरेको सहयोग आह्वानमा विभिन्न निकायले साथ दिन थालेका छन्। यसक्रममा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) अन्तर्गत घान्द्रुक संरक्षण व्यवस्थापन समितिले दुई लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ।
नयाँपुल-दाङसिङ-बिरेठाँटी क्षेत्रमा गएको भीषण पहिरोका कारण सडक पूर्ण रूपमा क्षतिग्रस्त बनेको छ। सडकको ट्र्याक नै मेटिने गरी क्षति पुगेपछि स्थानीयवासी, पर्यटक तथा सर्वसाधारणको आवतजावत प्रभावित भएको छ। उक्त सडक पुनःनिर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले सहयोगको आह्वान गर्नुभएको थियो।
सोही क्रममा अन्नपूर्ण संरक्षण व्यवस्थापन समिति (सीएमसी) का अध्यक्ष गुन्जमान गुरुङ र सचिव अरुण गुरुङले संयुक्त रूपमा विपद् व्यवस्थापन तथा पुनःनिर्माण कार्यका लागि नगद दुई लाख रुपैयाँ गाउँपालिका अध्यक्ष केसीलाई हस्तान्तरण गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बरालले जानकारी दिनुभयो।
गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङका अनुसार सोही कार्यलाई सहयोग पुर्याउन अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ACAP) ले २० लाख रुपैयाँ उपलब्ध गराएको छ।
पहिरोले सडकको स्वरूप नै बिगारेकाले पुनःनिर्माण कहाँबाट र कसरी सुरु गर्ने भन्ने विषय चुनौतीपूर्ण बनेको प्रवक्ता गुरुङले बताउनुभयो। उहाँका अनुसार सडक पुनःनिर्माणका लागि करिब ६०० थान ग्याबियन जाली आवश्यक पर्ने अनुमान गरिएको छ। प्रदेश सरकारबाट उक्त जाली उपलब्ध गराउने प्रतिबद्धता भएअनुसार हालसम्म २०० थान जाली पठाइसकिएको जानकारी प्राप्त भएको छ।
त्यस्तै, निर्माण कार्यमा नेपाली सेनाको श्रम सहयोग पनि रहनेछ। प्रारम्भिक रूपमा १०० भन्दा बढी सैनिक परिचालन गर्ने योजना रहे पनि हाल ४० देखि ५० जना सैनिक कार्यस्थलमा खटिएका छन्। निर्माणका लागि आवश्यक खाद्यान्न, ढुङ्गा, गिटी, बालुवा लगायतका सामग्री अन्नपूर्ण गाउँपालिकाले व्यवस्थापन गरिरहेको छ।
स्थानीय सरकार, ACAP, नेपाली सेना तथा अन्य सरोकारवाला निकायको सहकार्यमा पर्यटकीय महत्व बोकेको नयाँपुल–दाङसिङ–बिरेठाँटी सडकलाई यथाशीघ्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ पुनःनिर्माण कार्य अगाडि बढाइएको गाउँपालिकाले जनाएको छ।







प्रतिक्रिया