कार्तिक २६, सिड्नी, अष्ट्रेलिया
नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत भाइटीका अष्ट्रेलिया को सिड्नीमा बसोबास गर्दै आएका नेपालीहरूले हर्षोल्लास र आत्मीयताका साथ मनाएका छन्।
नेपालबाट टाढा रहेर पनि आफ्नो मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थालाई निरन्तरता दिँदै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले एकापसमा टीका लगाएर भाइटीका मनाएका हुन्।
यस अवसरमा दिदीबहिनीहरूले दाजुभाइको निधारमा सप्तरङ्गी टीका लगाई माला पहिर्याउँदै दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरे। दाजुभाइहरूले पनि आफ्नो गच्छेअनुसार दक्षिणा तथा उपहार प्रदान गर्दै दिदीबहिनी प्रतिको प्रेम, सम्मान र आत्मीयता प्रकट गरे। दिदीबहिनीहरूले समेत दाजुभाइलाई विभिन्न परिकार तथा कोसेली प्रदान गरी आपसी सम्बन्धलाई अझ प्रगाढ बनाए।
हिन्दू धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, सद्भाव, विश्वास र पारिवारिक एकताको प्रतीक हो। पौराणिक कथाअनुसार यमराज र उनकी बहिनी यमुनासँग जोडिएको यस पर्वले दाजुभाइको दीर्घायु र सुखमय जीवनको कामना गर्ने परम्परालाई जीवन्त राखेको छ।
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका लगाउनु केवल धार्मिक विधि मात्र नभई जीवनभर एकअर्काको सुखदुःखमा साथ दिने, माया, ममता र सम्बन्धको महत्व बुझाउने सांस्कृतिक सन्देश पनि हो।
नेपालमा परिवारसँगै बसेर मनाइने यो पर्व विदेशमा रहेका नेपाली हरूका लागि अझ भावनात्मक बन्ने गरेको छ। जन्मभूमिबाट टाढा रहे पनि आफ्नो भाषा, संस्कृति, संस्कार र चाडपर्वलाई जोगाउँदै नयाँ पुस्तामा नेपाली परम्पराको महत्व हस्तान्तरण गर्नु प्रवासमा रहेका नेपालीहरूको महत्वपूर्ण प्रयास बनेको छ।
सिड्नीमा मनाइएको भाइटीकाले नेपालीहरू जहाँ रहे पनि आफ्नो मौलिक संस्कृति र पारिवारिक सम्बन्धप्रतिको माया कहिल्यै नटुट्ने सन्देश दिएको छ।







प्रतिक्रिया