Top Header Ad 1

‘बाबा, म अब इन्जिनियर भएँ’ भन्ने आवाज सम्झँदै आँसुमा डुबेका माधव, छोरी सृष्टिका सपना अझै अधुरा

‘बाबा, म अब इन्जिनियर भएँ’ भन्ने आवाज सम्झँदै आँसुमा डुबेका माधव, छोरी सृष्टिका सपना अझै अधुरा

भाद्र १० गतेलाई उनी आफ्नो जीवनकै कालो दिनका रूपमा सम्झन्छन्। त्यही दिनले आफूहरूलाई छोरीबाट सम्पर्कविहीन बनाएको उनको पीडादायी अभिव्यक्ति छ। त्यसयता परिवारको जीवनमा खुसीका रङहरू हराएका छन्। आँसु, सम्झना र छोरी फेरि फर्किएर आउलिन् कि भन्ने मनको व्याकुलताले उनीहरूलाई छाडेको छैन।

परिबर्तन न्युज
१ कार्तिक २०८३ बजे
परिबर्तन न्युज
१ कार्तिक २०८३

पोखरा, असोज ३१ ।

छोरीले बोलेका शब्दहरू अझै कानमा गुञ्जिरहेका छन्। सँगै देखेका सपना आँखाअगाडि घुमिरहेका छन्। हिजोसम्म घरभरि छोरीको हाँसो र भविष्यका योजनाले भरिएको संसार आज सुनसान छ। बिहान उठेर छोरीको नाममा धूपबत्ती बाल्नु, उनको आत्माको शान्तिको कामना गर्नु र सम्झनामा आँसु झार्नुबाहेक अब एउटा बुबासँग बाँकी के नै छ र?

२२ वर्षीया छोरी सृष्टि बाँस्तोला गुमाएपछि माधवको मनमा उर्लिएको पीडा शब्दमा बयान गर्न कठिन छ। दिन बित्यो, हप्ता बित्यो, महिना बित्यो, तर छोरीले बोलेका शब्द, देखेका सपना र परिवारसँग बाँडेका खुसीका पलहरू उनको मनबाट मेटिएका छैनन्। बरु समय बित्दै जाँदा छोरीको सम्झना झन् गहिरिँदै गएको छ।

Advertisement:Ad

माधवले आफ्नो फेसबुकमा छोरीको सम्झनामा लेखेका शब्दहरू केवल एक बुबाको विलाप होइनन्, ती सन्तान गुमाउँदाको असह्य पीडा, अधुरो भविष्य र परिवारले भोगिरहेको बज्रपातका मार्मिक अभिव्यक्ति हुन्।

भाद्र १० गतेलाई उनी आफ्नो जीवनकै कालो दिनका रूपमा सम्झन्छन्। त्यही दिनले आफूहरूलाई छोरीबाट सम्पर्कविहीन बनाएको उनको पीडादायी अभिव्यक्ति छ। त्यसयता परिवारको जीवनमा खुसीका रङहरू हराएका छन्। आँसु, सम्झना र छोरी फेरि फर्किएर आउलिन् कि भन्ने मनको व्याकुलताले उनीहरूलाई छाडेको छैन।

‘बाबा, म इन्जिनियर बन्छु र आफ्नै देशमा सेवा गर्छु’ भन्ने सपना सृष्टिले पढाइका क्रममा आफ्नो भविष्यबारे बुबासँग धेरै सपना बाँडेकी थिइन्। इन्जिनियर बनेर आफ्नै देशमा सेवा गर्ने उनको चाहना थियो। छोरीको त्यो सपना पूरा भएको देख्ने अभिलाषा माधवको मनमा पनि थियो।

माधवका अनुसार, छोरीले एक दिन खुसी हुँदै भनेकी थिइन्, ‘बाबा, म अब इन्जिनियर भएँ।’छोरीको मुखबाट निस्किएको त्यो वाक्य कुनै सामान्य शब्द थिएन। त्यो चार वर्षसम्मको मेहनत, रातभरि नसुती गरेको पढाइ र परिवारले सँगै देखेको भविष्यको सपना पूरा भएको खुसी थियो। तर आज त्यही वाक्य सम्झँदा माधवको मनमा खुसी होइन, पीडाको भेल उर्लिन्छ।

छोरीलाई इन्जिनियर बनेको देख्ने सपना पूरा भएको थियो, तर उनको सफलतासँगै आउने खुसी सँगै बसेर मनाउन पाउने अवसर भने परिवारले गुमायो।आफ्नो देशमा सेवा गर्ने सपना बोकेकी छोरीलाई सम्झँदै माधव प्रश्न गर्छन्—आखिर उनको जीवनमा त्यस्तो के आपत् आइलाग्यो, जसले उनलाई यति चाँडै परिवारबाट टाढा लग्यो? केही समय अझै बाँच्न पाएको भए, छोरीले आफ्ना सपना पूरा गर्न पाएको भए, परिवारले केही खुसीका पल सँगै बिताउन पाएको भए कति राम्रो हुन्थ्यो!

असोज २१ गतेको भेट, जुन सम्झनामा मात्रै सीमित भयो माधवले आफ्नो लेखमा असोज २१ गते साँझ पृथ्वीचोकमा छोरीसँग भेट हुने अपेक्षा गरेको प्रसङ्ग पनि उल्लेख गरेका छन्। छोरीसँग भेट्ने आशा, उनको अनुहार हेर्ने प्रतीक्षा र मनमा साँचेर राखेका कुरा साटासाट गर्ने चाहना थियो।

तर त्यो प्रतीक्षा पूरा हुन सकेन।छोरीलाई भेट्ने आशा बोकेको मनले अन्ततः उनको सम्झनासँगै बाँच्नुपर्ने नियति स्वीकार्नुपर्‍यो। सृष्टिलाई खोज्ने प्रयास र परिवारमा छाएको पीडाबीच त्यो भेटको प्रतीक्षा पनि आज एउटा कहिल्यै नमेटिने स्मृति बनेको छ।

माधवको लेखमा पोखराका कोहिली बस र तहल्का बसले समेत सृष्टिलाई खोजिरहेका होलान् कि भन्ने भावनात्मक अभिव्यक्ति छ। यसले छोरीको खोजी र भेटको आशामा व्याकुल बनेको उनको मनको अवस्थालाई झल्काउँछ।

२२ वर्षमै ओइलाएको फूल, ५० वर्षको उमेरमा कहिल्यै निको नहुने घाउमाधव करिब ५० वर्षको उमेरमा २२ वर्षीया छोरी गुमाउनु पर्दाको पीडालाई जीवनकै सबैभन्दा गहिरो चोटका रूपमा व्यक्त गर्छन्।

उनका लागि अब चाडपर्वको अर्थ फेरिएको छ। दशैँ आयो, तिहार आयो, तर छोरीबिनाको घरमा ती पर्वले पहिलेको जस्तो खुसी ल्याउन सक्दैनन्। छोरीको हाँसो, उनको बोली र सँगै बसेर खुसी साट्ने क्षणहरू सम्झँदा हरेक उत्सव पनि पीडाको अर्को सम्झना बन्न पुग्छ।

चार वर्षसम्म मेहनत गरेर पढेकी छोरीले इन्जिनियर बनेर परिवारको सपना पूरा गरेकी थिइन्। अब उनले जीवनमा अझ धेरै उपलब्धि हासिल गर्ने, आफ्ना सपना पूरा गर्ने र परिवारलाई खुसी दिने समय थियो। तर त्यो सम्भावनाले पूर्ण आकार लिन नपाउँदै उनको जीवनको यात्रा टुङ्गिएको पीडा माधवका शब्दमा झल्किन्छ।

उनी छोरीलाई सम्झँदै प्रश्न गर्छन्—फक्रिन लागेको फूललाई बीचैमा टिप्नुपर्ने त्यस्तो के बाध्यता थियो? कम्तीमा केही खुसीका पल त छोरीलाई पूरा गर्न दिएको भए पनि हुन्थ्यो नि!यी प्रश्नको उत्तर उनीसँग छैन। तर छोरी गुमाएपछि मनमा उठेका प्रश्न र पीडाहरूलाई शब्दमा उतारेर उनी आफ्नो मन हलुका पार्ने प्रयास गरिरहेका छन्।

अर्को जुनीमा सँगै हुने आशा छोरीको आत्माको शान्तिका लागि आफूले गर्नुपर्ने धार्मिक कार्य पूरा गर्ने प्रयास गरेको माधवले आफ्नो लेखमा उल्लेख गरेका छन्। काफ्ली गाईको पुच्छर समाएर, छोरीले अन्तिम पटक टेकेको धर्तीमा आफूले पनि पाइला टेकेर अञ्जुलीभरि पानी चढाएको, फूल चढाएको र एक मुठी धूप बालेको प्रसङ्ग उनले भावुकतापूर्वक व्यक्त गरेका छन्।

यो केवल धार्मिक कर्मकाण्डको वर्णन होइन, छोरीप्रतिको असीम माया र उनको आत्माको शान्तिका लागि बुबाले गर्न सक्ने सबै कुरा गर्न खोजेको मनको अभिव्यक्ति हो।यस जुनीमा छोरीसँग फेरि भेट नहुने यथार्थ स्वीकार्न कठिन भइरहेको बेला माधवको मन अर्को जुनीको आशामा अडिएको छ।

उनको चाहना छ यदि भगवान् हुनुहुन्छ र उहाँले आफ्नो पीडा देख्नुभएको छ भने अर्को जुनीमा परिवारलाई फेरि सँगै बनाइदिनू। नौ महिना गर्भमा राखेर जन्म दिने आमा, छोरीको मायामा व्याकुल बुबा र उनकी प्यारी बहिनीलाई फेरि सँगै बाँच्ने अवसर दिनू। यसपटक छोरीले पूरा सय वर्षको आयु लिएर जन्म लिऊन् र परिवारसँगै जीवनका सबै खुसी बाँड्न पाऊन्।

‘छोरी, अब सबै म सम्हाल्छु, बाबा ढुक्क हुनु’ भन्ने छोरीका शब्द सम्झँदा माधवको मन झन् भारी हुन्छ। छोरीले बुबालाई ढाडस दिने ती शब्दहरू आज बुबाका लागि जीवनभरि बोकेर हिँड्नुपर्ने अमूल्य सम्झना बनेका छन्।

छोरीको सम्झनामा बाँचेको एउटा परिवार सन्तानको भविष्य निर्माण गर्न अभिभावकले जीवनभरि संघर्ष गर्छन्। उनीहरूका सपनामा आफ्नो सन्तानको सफलता, खुसी र उज्ज्वल भविष्य गाँसिएको हुन्छ। तर जब त्यही सन्तानलाई असमयमै गुमाउनुपर्छ, तब जीवनका सबै उपलब्धि र खुसीहरू पनि अर्थहीनजस्तै लाग्न सक्छन्।

माधवको फेसबुक लेखले यही पीडालाई उजागर गर्छ। छोरीको अनुपस्थितिमा एउटा परिवारले भोगिरहेको रिक्तता, अधुरा सपना र फेरि भेट हुने आशाले बाँचेको मनको कथा यसमा छ।‘जसले धर्तीमा कमिलासमेत मारेन, उसैले किन त्यस्तो पीडा भोग्नुपर्‍यो?’ भन्ने उनको भावले छोरीप्रतिको माया मात्र होइन, जीवनले आफूहरूमाथि गरेको अन्यायप्रतिको गहिरो गुनासो पनि व्यक्त गर्छ।

एउटा बुबाका लागि छोरी केवल सन्तान हुँदिनन्, उनी जीवनको आशा, घरको खुसी र भविष्यको सपना पनि हुन्छिन्। सृष्टि आज माधवको साथमा छैनन्, तर उनले बोलेका शब्द, पूरा गरेका उपलब्धि र परिवारसँग बाँडेका सपनाहरू भने जीवित छन्।

माधवको मनमा एउटै कामना छ—छोरीको आत्माले शान्ति पाओस्। अर्को जुनीमा फेरि भेट होस्। यसपटक कुनै अधुरो सपना नरहोस्, कुनै भेट प्रतीक्षामै सीमित नहोस् र परिवारले छोरीसँग सय वर्षको आयु बाँड्न पाओस्।छोरी सृष्टि बाँस्तोला, तिमी जहाँ भए पनि शान्तिमा रहनू। तिम्रा अधुरा सपना र तिमीले बोलेका शब्दहरू तिम्रा बुबाआमाको मनमा सधैँ जीवित रहनेछन्।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज