Top Header Ad 1

पुराना नेताको पदचाप पछ्याउँदै नयाँ पुस्ता पनि चीन भ्रमणमा रास्वपाका २० सांसद चीनमा, विकास र प्रविधिको अध्ययन गर्ने

पुराना नेताको पदचाप पछ्याउँदै नयाँ पुस्ता पनि चीन भ्रमणमा रास्वपाका २० सांसद चीनमा, विकास र प्रविधिको अध्ययन गर्ने

परिबर्तन न्युज
१ मंसिर २०८३ बजे
परिबर्तन न्युज
१ मंसिर २०८३

कात्तिक ३०, काठमाडौं

नेपालको राजनीतिमा नयाँ पुस्ता र नयाँ राजनीतिक शक्तिको उदय सँगै छिमेकी मुलुक चीनसँगको राजनीतिक सम्बन्ध विस्तारमा पनि नयाँ दलहरूको सक्रियता देखिन थालेको छ।

विगतमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत प्रमुख राजनीतिक दलका नेताहरूले जम्बो टोली लिएर चीन भ्रमण गर्दै आएका थिए। अहिले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू पनि त्यही जम्बो टोली लिएर कूटनीतिक तथा राजनीतिक अभ्यासलाई निरन्तरता दिँदै चीन भ्रमणमा निस्किएका छन्।

Advertisement:Ad

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधि मण्डल नोभेम्बर १५ देखि २६ सम्म चीन भ्रमणमा रहनेछ।टोलीमा सहमहामन्त्री हरि ढकाल, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीलगायत सांसदहरू सहभागी छन्।

भ्रमणका क्रममा चिनियाँ सहर छेन्दु, हाङझाउ, यीउ र बेइजिङ पुग्ने कार्यक्रम छ। टोलीले औद्योगिक क्षेत्र, प्रविधि कम्पनी,विश्वविद्यालय, कृषि फार्म तथा विकास आयोजनाहरूको अवलोकन गर्नेछ। साथै चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई), औद्योगिक विकास, कृषि आधुनिकीकरण, लगानी, आर्थिक सहकार्य र सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा चीनले हासिल गरेको उपलब्धिबारे अध्ययन गर्ने भ्रमण टोलीको उद्देश्य रहेको बताइएको छ।

चीन भ्रमणमा जानुअघि प्रधानमन्त्री बालेन्द्र शाहले भ्रमणलाई घुमघाममा मात्र सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न निर्देशन दिएका थिए। रास्वपा सभापति रवि लामिछानेले पनि चीनसँगको सम्बन्ध र विकासका विषयमा केन्द्रित रहन सांसदहरूलाई सुझाव दिएका छन्।

नयाँ राजनीतिक शक्तिको पुरानै अभ्यास! नेपालका राजनीतिक दलका नेताहरू विदेश भ्रमणमा जाने, विभिन्न देशका राजनीतिक दलसँग सम्बन्ध विस्तार गर्ने र विकासका अनुभव आदानप्रदान गर्ने अभ्यास नयाँ होइन। तर नयाँ राजनीतिक परिवर्तन र सुशासनको नारा दिएर उदाएको रास्वपाले पनि पुरानै राजनीतिक अभ्यासलाई कसरी परिणाममुखी बनाउँछ भन्ने प्रश्न महत्त्वपूर्ण छ।

चीनको विकास मोडेल अवलोकन गर्नु आफैँमा सकारात्मक हुन सक्छ। तर भ्रमणबाट फर्किएपछि त्यसको उपलब्धि नेपाली जनता ले व्यवहारमै अनुभूति गर्न पाउनुपर्छ।नेताहरूको विदेश भ्रमणले सम्बन्ध विस्तार मात्र होइन, नेपालमा उद्योग, रोजगारी, प्रविधि हस्तान्तरण र आर्थिक समृद्धिका ढोका खोल्न सक्नुपर्छ।

प्रतिक्रिया

लेखकको बारेमा

परिबर्तन न्युज

भर्खरै